सेयरको कृत्रिम माग सिर्जना गर्ने व्यवस्था रोकिँदै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयरको कृत्रिम माग सिर्जना गर्ने व्यवस्था रोकिँदै

सेयर खरिदमा एओएन रोक्न निर्देशन  प्राविधिक पाटो मिलाएर एक/दुई दिनमा रोक्ने नेप्सेको तयारी
यज्ञ बञ्जाडे

काठमाडौँ — दोस्रो बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न नपाउने व्यवस्था हुन लागेको छ । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (एओएन) भनिने उक्त सुविधा रोक्न धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिइसकेको छ । नेप्सेले एओएन सुविधा रोकेपछि बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न नपाउने भएकाले चलखेल नियन्त्रण हुने जानकारहरू बताउँछन् ।

‘एओएन रोक्न बिहीबार नेप्सेलाई पत्र पठाएका छौं,’ स्रोतले भन्यो, ‘सिस्टममा प्राविधिक कुरा मिलाएपछि नेप्सेले उक्त निर्देशन लागू गर्छ ।’ बोर्डबाट निर्देशन आएपछि उक्त व्यवस्था कार्यान्वयनका लागि सिस्टममा केकस्तो परिमार्जन गर्नुपर्छ भनेर नेप्सेले सफ्टवेयर निर्माण गर्ने कम्पनी वाइकोलाई आग्रह गरिसकेको छ । धेरै परिमार्जन गर्नुपर्ने रहेनछ भने आइतबारदेखि, नभए केही दिनमा एओएन बन्द गर्ने नेप्सेको तयारी छ ।

सेयर खरिदबिक्रीका क्रममा हाल लगानीकर्ताले एओएन भन्ने विकल्प पाउँछन् । यो आफूले खरिद वा बिक्री गर्न चाहेको कित्ता बराबर सेयर भए मात्र किनबेच गर्ने भन्ने हो । उदाहरणका लागि लगानीकर्ताले एक हजार कित्ता सेयर खरिद वा बिक्रीका लागि अर्डर गर्दा ‘अल अर नन’ र ‘नन’ मध्ये एउटा विकल्प छान्न सक्छ । मानौं, लगानीकर्ताले अल अर नन भन्ने विकल्प छनोट गर्‍यो । यसको अर्थ उसले अर्डर गरेको सेयर एकमुष्ट रूपमा मात्र खरिद वा बिक्री गर्न चाहेको भन्ने हो । हाल लगानीकर्ताले सेयर खरिद र बिक्री दुवै अवस्थामा यो सुविधा पाउँछन् । अहिले बोर्डले नेप्सेलाई सेयर खरिदको हकमा अल अर नन भन्ने विकल्प हटाउन निर्देशन दिएको हो । आफूले चाहेको सेयर एकमुष्ट रूपमा किन्ने वा ससानो कित्तामा भन्ने अधिकार लगानीकर्ताको हो । यही कारण नेप्सेले लगानीकर्तालाई यो सुविधा दिएको थियो ।

‘केही लगानीकर्ता र ब्रोकरको मिलेमतोमा बजारमा सेयरको कृत्रिम माग देखाउने प्रवृत्ति बढ्यो । यसो गर्दा सम्बन्धित कम्पनीको सेयरको माग बढी देखाएर मूल्य बढाउने काम भयो,’ स्रोतले भन्यो, ‘सेयर खरिदको हकमा एओएन विकल्प नदिएर सेयरको कृत्रिम माग सिर्जना गर्ने प्रवृत्ति नियन्त्रण गर्न खोजेका हौं ।’ यो व्यवस्था लागू भएपछि लगानीकर्ताले ‘सेयर खरिद गर्दा आफूले चाहेको सेयर एकमुष्ट रूपमा मात्र खरिद गर्छु । ससानो संख्यामा खरिद गर्दिनँ’ भन्न पाउँदैनन् ।

हाल सेयर बिक्रीका लागि अर्डर गर्दा आफ्नो डिम्याट खातामा भएको संख्याभन्दा धेरै राख्न पाइँदैन । सामान्यतया सेयर खरिदका लागि लगानीकर्ताले आफूसँग बैंक खातामा रहेको रकमभन्दा धेरैको सेयर माग गर्न नपाइने हो । सेयर खरिदमा ब्रोकरले लगानीकर्तालाई कारोबार सीमा प्रदान गर्नुपर्छ । यहीँनिर ब्रोकर र लगानीकर्ताबीच मिलेमतोमा एओएन सुविधाको दुरुपयोग हुँदै आएको थियो । यसअनुसार ब्रोकरले लगानीकर्तालाई ‘लिमिट फ्रि’ वा ‘अनलिमिटेड’ सुविधा दिँदै आएका छन् । यही सुविधा उपयोग गरी लगानीकर्ताले ठूलो परिमाणमा सेयर खरिदका लागि अर्डर गर्ने प्रवृत्ति मौलाएको स्रोतले बताएको छ ।

‘प्रायः ती अर्डर सेयर किन्न होइनन्, बजारमा माग सिर्जना गर्नकै लागि राखिएका हुन्छन् । यसकारण यस्ता अर्डर बराबर बिक्री नै आउँदैन,’ स्रोतले भन्यो, ‘कहिलेकाहीं माग गरिएअनुसार बक्री अर्डर आइहाले कारोबार नगरी रद्द गर्ने प्रवृत्ति बढ्दै गएको देखियो ।’ ब्रोकरको यस्तो बदमासी फेला पारेर नेप्सेले केही ब्रोकरलाई पत्रमार्फत स्पष्टीकरणसमेत सोधेको छ । केहीलाई त्यसो नगर्ने निर्देशन पनि दिइसकेको छ । ‘लगानीकर्तालाई किन अललिमिटेड कारोबार सुविधा दिइयो ? लगानीकर्ताले राखेको अर्डर वास्तविक हो वा पहिले अर्डर राखेर सेयर म्याच हुन लाग्दा किन रद्द गरियो भन्ने विषयमा ब्रोकर नम्बर ३९ र २० लाई नेप्सेले पत्र काटेको छ,’ स्रोतले भन्यो, ‘एओएन सुविधा दुरुपयोग गरेर बजारमा निश्चित कम्पनीको मूल्य बढाएको भेटियो ।’

ब्रोकरहरूले भने नेप्सेको कारोबार सिस्टमले लगानीकर्तालाई अनलिमिटेड कारोबारको अप्सन दिएको र आफूहरूले सोहीअनुसार कारोबार सीमा प्रदान गर्दै आएको बताएका छन् । नेपाली सेयर बजारमा २०७५ अघि यस्तो सुविधा थिएन । नेप्सेले अनलाइन सिस्टम बनाएपछि उक्त सुविधा पनि थपिएकै हो । पछिल्लो समयमा यो विषयमा विकृति बढ्दै गएपछि बोर्डले रोक्न निर्देशन दिएको हो । यसअघि भारतमा सेयर खरिद र बिक्री दुवैमा यो व्यवस्था थियो । विकृति बढेकाले नियन्त्रणका लागि भन्दै गत वर्ष (पहिलो लहरको कोभिडपछि) सो व्यवस्था हटाइएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

युरो २०२० : क्रोएसियासँग सचेत इंग्ल्यान्ड

रोयटर्स

लन्डन — इंग्ल्यान्डले युरो २०२० मा शनिबार क्रोएसियाको सामना गर्दा एउटा तथ्य निश्चित छ, खेलअगाडि इंग्लिस खेलाडीले कम्तीमा घुँडा टेकेर प्रदर्शन गर्नेछन् । तर प्रशिक्षक गारेथ साउथगेटले के कस्तो रणनीति अपनाउने हो, खुलस्त छैन । उल्टै प्रश्न धेरै छन् । अहिलेसम्म निश्चितजस्तै देखिएको तथ्य हो, ह्यारी केनले टिमको नेतृत्व गर्नेछन् । जोन स्टोन्सले रक्षापंक्तिको मुख्य जिम्मेवारी सम्हाल्ने छन् ।

ह्यारी मगायर घाइते छन् । यो साउथगेटका लागि ठूलो टाउको दुखाइ हो । यस्तोमा स्टोन्सलाई साझेदारी दिन के एस्टन भिल्लाका सेन्टर हाफ ट्रोन मिन्ग्स ठीक छन् त ? छैनन् भने प्रशिक्षकले फरक टिम संरचना बनाउनुपर्नेछ । जोर्डन हेन्डरसन पनि भर्खर चोटमुक्त भएर टिममा फर्केका छन् । मध्यपंक्तिमा डेक्लन राइसलाई मुख्य जिम्मेवारी दिन सकिनेछ अनि उनको पार्टनर क्लेभिन फिलिप्स हुन सक्नेछन् ।

इंग्लिस टिमलाई लिएर सबैभन्दा रोमाञ्चक पक्ष हो, क्रिएटिभ मिडफिल्डमा । टिममा फिल फोडेन, मेसन माउन्ट र ज्याक ग्रलिसका रूपमा युवा प्रतिभाशाली खेलाडीको समूह छ । टिममा अनुभवी मार्कस रसफोर्ड र रहिम स्टर्लिङ पनि छन् । तर दुवैले पछिल्लो समय राम्रो गर्न सकिरहेका छैनन् । यस्तोमा साउथगेट भन्छन्, ‘हाम्रो टिम संरचना जस्तो पनि हुन सक्नेछ । तर एउटा तथ्य निश्चित छ, हामीले त्यस्ता खेलाडीलाई मौका दिनेछौं, जसले जित दिलाउन सक्नेछ ।’

इंग्ल्यान्डका लागि क्रोएसिया बलियो विपक्षी टिम नै हो । किनभने टिम र प्रशिक्षक दुवैले एउटा तथ्य भुलेका छैनन् । सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसियाले नै इंग्ल्यान्डलाई हराएको हो । प्लेमेकर लुका मोडरिच अहिले ३५ वर्षका भए । उनी विपक्षी टिमका लागि समस्या उत्पन्न गराउन अझै पनि सक्षम छन् । त्यसैले चेल्सीका मिडफिल्डर माटेओ कोभासिच भन्छन्, ‘लुका फरक विशेष खेलाडी हुन् । उनी विश्व फुटबलको उत्कृष्ट मध्यपंक्तिका खेलाडी हुन् ।’

मोडरिचले आफ्नो देश र क्लबका लागि सबथोक दिएका छन् । उनलाई थाहा छ, यो उमेरमा सोचेरमात्र हुन्न, मैदानमा खेल्नु पनि पर्छ । क्रोएसियाले मस्कोमा जुन प्रख्यात जित निकालेको थियो, फेरि त्यस्तै जित दोहोर्‍याउन अहिले गाह्रो हुनसक्छ, किनभने समय र परिस्थिति फरक छ । त्यसैले मोडरिच आफै भन्छन्, ‘विश्वकप सकिएको तीन वर्ष भइसक्यो, अहिले हामी फरक प्रतियोगिता खेलिरहेका छौं । तर प्रतियोगिताका खेल जित्न सकियो भने त्यसपछिको यात्रा सजिलो हुने गर्छ ।’

अस्ट्रियाविरुद्ध उत्तरी मेसेडोनिया

बुखारेस्ट– अस्ट्रियाली टिम जर्मन बुन्डेसलिगा खेल्ने प्रतिभाशाली खेलाडीले भरिएको छ, तर युरो २०२० को आफ्नो पहिलो खेलमा उत्तरी मेसेडोनियाको सामना गर्दा एक प्रकारको दबाबमा हुनेछ । खासमा अस्ट्रिया युरोमै आफ्नो पहिलो जितको खोजीमा हुनेछ । समूह ‘सी’ को यस खेलमा अस्ट्रिया नै जितको बलियो दाबेदार रहेको छ । तर इतिहासले भन्छ, सन् २००८ र २०१६ मा दुईपल्ट युरो खेल्दा उसले दुई बराबरी र चार हार आत्मसात् गरेको छ ।

बुन्डेसलिगाको पछिल्लो सिजन उपविजेता रहेको आरबी लाइप्जिगका मिडफिल्डर कोनार्ड लेमेर भन्छन्, ‘हाम्रो टिम स्तरीय छ, त्यसैले बलियो पनि छ । हाम्रो लक्ष्य भनेको यो समूहबाट अगाडि बढ्नु नै हो ।’ छनोट चरणमा अस्ट्रियाले मेसेडोनियालाई दुवैपल्ट हराएको थियो । दुवै अवसरमा जित प्रभावशाली रह्यो । मेसेडोनिया पहिलोपल्ट प्रतियोगिता खेलिरहेको छ । डेब्युू खेलमा जित निकालेर यसलाई सम्झनलायक बनाउन चाहन्छ टोली । सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको मेसेडोनिया पहिलोपल्ट कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ । यसले यहाँसम्मको यात्राका लागि नेसन्स लिगको प्लेअफ खेलेको थियो । त्यसमा जर्जियालाई पन्छाएको हो । मध्यपंक्तिका खेलाडी एनिस बार्डी भन्छन्, ‘हामी सबैले आफ्नो पहिलो खेलको व्यग्र प्रतीक्षा गरिरहेका छौं ।

नेदरल्यान्ड्सविरुद्ध युक्रेन

एम्स्ट्रडम– सन् २०१६ को युरो र २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको नेदरल्यान्ड्स फेरि एकपल्ट ठूलो प्रतियोगितामा फर्केको छ । टोलीका लागि युरो २०२० आफ्नो प्रतिष्ठा कायम राख्ने प्रतियोगिता हुनेछ । तर यसक्रममा डच टिमका लागि सबैभन्दा ठूलो घाटा रहेको छ, सेन्टर ब्याकका स्टार खेलाडी भिर्जिल भान डाइकको उपस्थिति नहुनु । उनी घुँडाको चोटमुक्त हुनेक्रममा छन् । तर नेदरल्यान्ड्स टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी छैन । डचको पहिलो खेलको प्रतिद्वन्द्वी युक्रेन लगातार तेस्रोपल्ट युरो खेलिरहेको छ । सन् २०१६ को संस्करणमा युक्रेन कुनै गोल गर्न असफल रहेको थियो । यसपल्ट युक्रेनबाट राम्रो प्रदर्शन अपेक्षा गर्नसक्ने कारण हो, छनोट चरणमा टोलीको दमदार प्रदर्शन ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×