नेपाल वायुसेवा निगमका अध्यक्षद्वारा राजीनामा

काठमाडौँ — नेपाल वायुसेवा निगमको संचालक समितिका अध्यक्षबाट पूर्वसचिव सुशील घिमिरेले राजीनामा दिएका छन् । उनले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई राजीनामा बुझाएको कान्तिपुरसँग बताए ।

नेपाल वायुसेवा निगमका अध्यक्षद्वारा राजीनामा

उनलाई ०७७ वैशाख २ गते पर्यटनमन्त्री योगेश भट्टराईले मासिक डेढ लाख रुपैयाँ सेवासुविधासहित कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए । घिमिरेअघि निगमको संचालक समिति अध्यक्षमा पर्यटन सचिव अध्यक्ष रहने व्यवस्था थियो । घिमिरेललाई ल्याइने भएपछि यो नियम संशोधन गरिएको थियो ।

घिमिरे कार्यकारी अध्यक्ष भएको ७ महिनापछि तल्कालीन पर्यटनमन्त्री भट्टराईले निगमको संचालक समितिमा सदस्य रहेका डिमप्रसाद पौडेललाई निगमको महाप्रबन्धक नियुक्त गरेका थिए । पौडेल महाप्रबन्धक नियुक्त भएपछि घिमिरे संचालक समितिको अध्यक्षमात्रै रहँदै आएका थिए ।

‘म रिटार्यड मान्छे । पहिले पनि खोजेर निगम गएको थिइनँ,’ राजीनामा बुझाएको भोलिपल्ट शुक्रबार साँझ घिमिरेले भने, ‘अब म आराम गरेर बस्छु । तत्काल कहींकतै जादिनँ ।’ उनले आफूले योगेश भट्टराई छँदै र उनी हटेपछि पर्यटनमा मन्त्री भई आएका भानुभक्त ढकाललाई निगमबाट निस्किन खोजेको तर, वातावरण नमिलेको बताए । ‘अहिले मलाई निगमबाट निस्किनँ एकदम सही समय लागेकाले नयाँ मन्त्रीलाई राजीनामा दिएको छु । उहाँलाई यसअघि कहिल्यै भेटेको थिइनँ । हिजै चिनजान भयो ।’

कार्तिकमा महाप्रबन्धकमा ल्याइएका एमाले पृष्ठभूमिका पेसाले बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) पौडेलको अझै तीन वर्ष कार्यकाल बाँकी नै छ । गएको असारमा निगमको संचालक समिति सदस्य भएका महाप्रबन्धक पौडेललाई सरकारले नियुक्त गरिएको ७ महिनापछि जेठ १३ गतेको मन्त्रिपरिषद् बैठकबाट मासिक २ लाख ८५ हजार कररहित सेवा तोकेको थियो । करसहितको उनको तलब मासिक सेवा सुविधा ४ लाख हाराहारी रहेको निगको संचालक समितिले जनाएको छ ।

कोरोना महामारीमा पर्यटनको सहमतिमा अर्थ मन्त्रालयले तोकेको यो तलब स्केल निगमका भूतपूर्व कार्यकारी अध्यक्ष तथा प्रबन्ध निर्देशकहरुको तुलनामा हालसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका एक सहसचिवले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?