२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निषेधाज्ञाले रोकियो निजी आवास पुनर्निर्माण

प्राधिकरणको समय पुसमा सकिँदै
कतैकतै भने छिटफुट काम हुँदै
विमल खतिवडा

काठमाडौँ — निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणको काम रोकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय सकिन ७ महिना बाँकी छँदा मुख्य कामका रूपमा रहेको निजी आवास निर्माणको काम प्रभावित बनेको छ । चालु आर्थिक वर्षभित्रै निर्माणको काम सक्ने लक्ष्य लिइए पनि निषेधाज्ञाले सोचेअनुसार काम अघि बढाउन नसकिएको प्राधिकरणले जनाएको छ ।

निषेधाज्ञाले रोकियो निजी आवास पुनर्निर्माण

चालु आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सक्ने योजना थियो । ‘तर अहिले निषेधाज्ञामा धेरै काम हुन सकेको छैन,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘त्यसमा पनि निजी आवास निर्माणको काम बढी प्रभावित बनेको छ ।’ व्यक्तिले घर बनाउँदा कामदार ल्याउने–लैजाने गर्नुपर्दा कोभिडले त्यो सम्भव नभएपछि काम अघि बढ्न नसकेको हो ।

‘यो पटक गत वर्षको तुलनामा कोभिड संक्रमित हुने बढी भए, जसले गर्दा सबैमा डर भयो,’ उनले भने, ‘डर बढी भएकै कारण निजी आवासको काम अघि बढ्न सकेन ।’ विद्यालय, स्वास्थ्यचौकी, सार्वजनिक भवन, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा पुनर्निर्माणको काम भने निर्माण व्यवसायीले थोरै कामदार राखेर सावधानी अपनाउँदै जारी राखेको उनको भनाइ छ । निजी आवास निर्माण पनि छिटफुट रूपमा कतैकतै भइरहेको घिमिरे बताउँछन् ।

सबै क्षेत्रको काम तोकिएकै समयमा सम्पन्न गर्ने गरी प्राधिकरण अघि बढेको उनको भनाइ छ । ‘बाँंकी काम सम्बन्धित मन्त्रालयलाई हस्तान्तरण गरिनेछ,’ उनले भने । प्राधिकरणले आफ्नो कार्यकालभित्र अवस्था सामान्य भएको खण्डमा काम सक्ने उनको दाबी छ । ‘यस्तै अवस्था रहिरहे मात्र गाह्रो हुनेछ,’ घिमिरेले भने, ‘नभए निजी आवासको मूलभूत काम सक्न समस्या हुन्न ।’ यता प्राधिकरणले वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्न भन्दै समयसीमा तोकेको थियो । रकम बुझ्ने समयमा निषेधाज्ञा भएपछि लाभग्राहीले तेस्रो किस्ता बुझ्न पाएनन् । ‘निषेधाज्ञाले गर्दा किस्ता लिन पाइएन भनेर दिनदिनै लाभग्राहीको फोन आउँछ,’ घिमिरेले भने, ‘जसले गर्दा भूकम्प प्रभावितलाई समस्या भएको छ ।’ सबैको माग तेस्रो किस्ता लिने समय थप्नुपर्ने रहेकाले यसबारे प्राधिकरण निर्णय गर्ने उनले जानकारी दिए ।

‘आर्थिक वर्ष सकिने बेला भयो, स्रोतको सीमितता हुन्छ, जुन अर्को वर्ष सार्न मिल्दैन,’ उनले भने, ‘त्यसमाथि प्राधिकरणको म्याद आगामी पुस १० मा सकिँदै छ, निषेधाज्ञाले गर्दा राम्रोसँग काम अघि बढ्न सकेको छैन । गत वर्ष पनि कोभिडले गर्दा नै काम प्रभावित बन्यो । र, केही ढिलाइ भयो ।’ प्राधिकरणका अनुसार कुल लाभग्राहीको संख्या ८ लाख ५८ हजार २ सय ८२ छ । यसमा ८ लाख १३ हजार ८ सय ९६ ले मात्र अनुदान सम्झौता गरेका छन् । यसमा ४४ हजार ३ सय ८६ जनाले अझै अनुदान सम्झौता गरेका छैनन् ।

अनुदान सम्झौता नगर्नेमध्ये उपत्यकामा धेरै छन् । अहिलेसम्म पहिलो किस्ता लिने ८ लाख १६ हजार ३५, दोस्रो किस्ता लिने ७ लाख १८ हजार ८ सय ५ र तेस्रो किस्ता लिन ६ लाख ५३ हजार ९ सय २७ जना छन् । अहिलेसम्म निजी आवास निर्माणको काम ७३ प्रतिशत सकिएको छ । २० प्रतिशत सम्पन्न हुने क्रममा रहेको सहप्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रबलीकरण सूचीमा पर्ने लाभग्राहीको संख्या ६५ हजार १ सय ६२ छ । भूकम्प गएको ६ वर्ष पुग्दा अझै पुनर्निर्माणको काम सकिएको छैन । प्राधिकरणका अनुसार भूकम्प अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । सरकारले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा १ हजार ३ सय ७ विद्यालयका १४ हजार १ सय ५५ कक्षाकोठा, १ सय ५ स्वास्थ्य संस्था, १ सय ९५ सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा, ३६ सरकारी भवन र ३९ स्थानमा एकीकृत बस्ती निर्माण गर्न उक्त बजेट विनियोजन भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?