अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादन मोडालिटीमा द्विविधा

योग्य उद्योगलाई मात्रै उत्पादन अनुमति दिने वा सबैका लागि खुला गर्ने विषयमा अन्योल
विजय तिमल्सिना

काठमाडौँ — आन्तरिक रुपमै व्यावसायिक उत्पादन थाल्ने गरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को अगुवाइमा तयार भएको अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने बिषयमा द्विविधा उत्पन्न भएको छ ।

अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादन मोडालिटीमा द्विविधा

व्यावसायिक रुपमा निजी क्षेत्रलाई अक्सिजन सिलिन्डर उत्पादन गर्न कसरी दिने भन्ने मोडालिटीमा नास्टको नेतृत्वबीच मत बाझिएपछि व्यावसायिक उत्पादनमा लैजान ढिलाइ भइरहेको बताइएको छ ।

नास्टले एक साताअघि नै दुई चरणमा अक्सिजन सिलिन्डरको सफल परीक्षण गरेपछि केही उद्योगी र व्यावसायिक घरानाले व्यावसायिक उत्पादनका लागि नास्टलाई प्रस्ताव गरिसकेका छन् । तर, सिलिन्डरको अनुसन्धान र परीक्षणबापत निश्चित रोयल्टी लिएर योग्य उद्योगलाई मात्रै उत्पादन अनुमति दिने वा सबैका लागि खुला गर्ने भन्ने विषयमा द्विविधा भएपछि सिलिन्डरको व्यावसायिक उत्पादनमा ढिलाइ भएको हो । व्यावसायिक उत्पादनको मोडालिटीमा छलफल भइरहेको र केही दिनमै यसको टुंगो लाग्ने नास्टका प्रवक्ता एवम् वरिष्ठ प्राविधिक अधिकृत सुरेशकुमार ढुंगेलले जानकारी दिए । ‘केही साताअघि अक्सिजनको सिलिन्डर चरम अभाव हुँदा दैनिक १ सय सिलिन्डर भए पनि देशभित्रै उत्पादन गर्न सकियोस् भनेर परीक्षण सुरु गरेका थियौं,’ उनले भने, ‘अहिले परिस्थिति त्यस्तो नभएकाले पनि यसलाई व्यवस्थित ढंगले अघि बढाउने योजनामा छौं ।’ नास्टले गरेको परीक्षण सफल भइसकेकाले अब देशभित्रै अक्सिजन सिलिन्डर उत्पादनका लागि समस्या नरहेको उनले बताए ।

नास्ट आफैंले सिलिन्डर उत्पादन गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई व्यावसायिक रूपमा उत्पादन गर्न दिने विषयमा नास्ट तयार भए पनि कुन मोडालिटीमा दिने भन्ने विषय टुंगिन बाँकी रहेको स्रोतले जनायो । ‘हालसम्म नास्टले तयार पारेको र परीक्षण गरेको कुनै पनि वस्तु निजी क्षेत्रलाई उत्पादन गर्ने जिम्मा दिइएको छैन,’ नास्ट स्रोतले भन्यो, ‘हालसम्म यसबारे कुनै कार्यविधि र मापदण्ड नभएकाले समस्या भएको हो ।’

नास्टको अगुवाइमा अक्सिजन सिलिन्डरका तीन वटा प्रोटोटाइप तयार पारी दुई चरणमा परीक्षण गरिएको थियो । दुई चरणको परीक्षणका क्रममा तयार पारिएको सिलिन्डरले आवश्यकभन्दा तीन गुणा बढी चाप धान्न सक्ने प्रमाणित भएको थियो । नास्टले आफ्नो कार्यालय परिसरमा परीक्षण ल्याब तयार गरी अक्सिजन सिलिन्डरको प्रोटोटाइप परीक्षण गरेको हो ।

अक्सिजन सिलिन्डरले १ सय ५० केजी प्रतिवर्ग सेन्टिमिटर चाप (प्रेसर) खेप्नुपर्ने मापदण्ड छ । नास्टले गरेको परीक्षणका क्रममा नेपालमा तयार पारिएको अक्सिजन सिलिन्डरको प्रोटोटाइपले दोस्रो चरणको परीक्षणका क्रममा ५ सय १५ केजी प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धानेको थियो ।

नास्टले सुरुमा एलपीजी ग्यास सिलिन्डरमा अक्सिजन राख्न सकिने विकल्पमा अध्ययन गरेको थियो । तर प्राविधिक हिसाबले सम्भव नभएपछि अक्सिजन सिलिन्डरको छुट्टै प्रोटोटाइप तयार पारिएको थियो । एलपीजी ग्यासको सिलिन्डरले १५ केजी प्रतिसीएम स्क्वयार मात्रै प्रेसर खप्न सक्ने भएकाले प्राविधिक रूपमा यो सम्भव नभएपछि प्रोटोटाइप तयार पारिएको हो ।

नेपालमा आयात भइरहेको सिलिन्डरकै स्वरूपमा नास्टले ६ एमएम बाक्लो फलाम प्रयोग गरेर सिलिन्डरको प्रोटोटाइप तयार पारेको हो । ग्यास सिलिन्डर निर्माण गर्ने नास्टका वैज्ञानिक र प्राविधिकसहित निजी क्षेत्रका उद्योगी पनि संलग्न छन् । सुरुमा ग्यास सिलिन्डरको प्रेसर मापनका लागि नेपालमा रहेका ग्यास उद्योगमा भएको ल्याब प्रयोग गर्ने भनिए पनि प्राविधिक रूपमा असम्भव भएपछि नास्टले आफ्नै ल्याब तयार पारेको हो ।

नास्टले यसअघि पीपीएको गुणस्तर मापन गर्ने ल्याबसहित सुरक्षित तरिकाले स्वाब संकलन गर्न मोबाइल स्वाब संकलन भ्यान तयार पारेर विभिन्न निकायलाई उपलब्ध गराइसकेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?