शिखरको स्वास्थ्य बीमाले कोभिडको जोखिम सुरक्षण गर्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिखरको स्वास्थ्य बीमाले कोभिडको जोखिम सुरक्षण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाले कोभिड–१९ को जोखिम पनि सुरक्षण हुने भएपछि लगानीकर्ताको आकर्षण बढेको कम्पनीले दाबी गरेको  छ । गत वर्षदेखि सुरु भएको यो स्किमबाट हालसम्म कोभिड १९ का धेरै संक्रमितले राहत भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

यो स्वास्थ्य बीमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड १९–बाट बिरामी भएका बीमितले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले ब्यहोरिदिने बताइएको छ ।

‘यो स्किम खरिद गर्ने बीमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवाअन्तर्गतको दाबीभुक्तानीसमेत पाइसकेका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिखरको स्वास्थ्य बीमाको स्किमले कोभिडको मात्र नभई १ हजारभन्दा बढी रोगको जोखिमलाई समेत कभरेज गरिदिने गरेको छ ।’

नेपालमा स्वास्थ्य बीमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको विज्ञप्तिमा उल्लेख छ । ‘सामान्य रकम प्रिमियम तिर्दा नै महंगो उपचार पाउन संभव हुने यो स्किम शिखरले ९ वर्षअघिदेखि सुरुवात गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।

यो स्किममा व्यक्तिगत बीमाअन्तर्गत न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्मको सुविधा पाइन्छ । ५० हजारदेखि २० लाखसम्म पारिवारिक बीमा र सामूहिक तथा संस्थागत बीमा गर्दा ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ । कम्पनीका अनुसार तीनमहिने नाबालकदेखि ७० वर्षसम्मका सर्वसाधारणले शिखर स्वास्थ्य बीमामा गर्न पाउँछन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्

साउनदेखि असोजमा जनगणना प्रस्ताव

गणेश राई

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले आगामी साउदेखि असोजभित्र राष्ट्रिय जनगणना लिने मिति प्रस्ताव गरेको छ । त्यसका साथै जनगणना कार्यमा खटिने कर्मचारी (गणक, सुपरिवेक्षक र कर्मचारी)लाई कोरोना भाइरसविरुद्धको खोप अग्रिम लगाएर खटाउने भनेको छ ।

विभागले गत चैतमै सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरेको छ । उक्त जिल्ला जनगणना कार्यालय असारसम्म कायम रहने निर्णय गरेको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जनाएका छन् । पूर्वनिर्धारित तालिकाअनुसार यही ०७८ जेठ २५ गतेबाट असार ८ गतेभित्र १२औं राष्ट्रिय जनगणना हुनुपर्थ्यो । कोरोना भाइरसको दोस्रो लहरले फैलिएपछि जनगणना कार्य स्थगित छ ।

स्थगित भएसँगै गते वैशाख १६ गतेयताका सबै तालिका रोकिएका छन् । विभागले प्रस्ताव गरेअनुसार निर्धारित तालिकाको महिनामात्र फरक गतेहरू यथावत रहने जनाएको छ । स्थगित तालिकाअनुसार वैशाख १६ मा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेबाट घरपरिवार सूचीकरण, जेठ १७ गतेबाट गणक तालिम, जेठ २५ गतेबाट गणना कार्य थाल्ने रहेको थियो । उसले सुपरिवेक्षक र गणकका आवेदन लिई ८ हजार सुपरिवेक्षक करार नियुक्ति गरिसकेको छ । आवेदन लिइएकामध्ये ३९ हजार गणक छनोट कार्य बाँकी छ । विभागले यिनै स्थगित कार्यलाई सुचारु राख्न निर्णयसहित सरकारसमक्ष प्रस्ताव गरेको हो । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा जनगणना गर्ने कार्यक्रम उल्लेख छ ।

‘महामारीको प्रकोप केही कम भएर सहज परिस्थिति बनेमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जनगणना कार्य अघि बढाउने छौं,’ निर्देशक लामिछानेले भने, ‘यदि असोज महिनाभित्र जनगणनामा हुन नसकेमा फागुनदेखि अर्को असारभित्र गर्न सकिनेसमेत विकल्प हुनेछ । त्यसअघि हिमाली जिल्लामा हिउँ पर्ने कारणले जनगणना सम्भव छैन ।’ लकडाउन जारी रहेकाले प्रस्ताव टुंगोमा पुग्न पन्ध्र दिन जति लाग्ने उनले जनाए ।

चालू आर्थिक वर्षमा जनगणनाका निम्ति १ अर्ब ७४ लाख रुपैयाँ रहेको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित सम्पन्न हुने जनगणनामा सोधिने प्रश्नावली छपाइ गरिसकेको छ । जनगणनामा खटाइने सुपरिवेक्षक, गणक र कर्मचारीका निम्ति प्रश्नावली, झोला, छाता, क्यापटोपी, टर्च, मार्कर, डटपेन लगायत सामग्री तयार गरी सम्बन्धित जनगणना कार्यालयमा पुर्‍याइएका छन् । काठमाडौं उपत्यकाका ७ वटा महानगर तथा नगरपालिकामा ट्याबलेट प्रविधिबाट जनगणना कार्य हुनेछ ।

आशन्न जनगणना गणतन्त्र नेपालको पहिलो जनगणना हुने जनाइएको छ । जनगणना ‘मोडिफाइड डी जुरे’ विधिअनुसार कुनै व्यक्ति अक्सर (६ महिनाभन्दा बढी) जहाँ बसोबास गर्छ त्यहीबाट गणना गरिनेछ । साथै घर नभएका (सडक बालबालिका, मगन्ते, फिरन्ते, जोगी, सन्यासी जस्ता) व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ छ त्यहीबाट गणना गरिन्छ । प्रत्येक पालिकाको वडा तहसम्मको घरपरिवार, घरजग्गाको स्वामित्व, घरको किसिम, टेलिफोन, मोबाइल, टेलिभिजन, बैक खाता, पशु चौपाय, उद्यम, आर्थिक, शैक्षिक, स्वास्थ्य लगायतका तथ्यांक लिइनेछन् ।

नेपालमा वि.सं. १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक दस–दस वर्ष हुँदै आएको भनिए पनि पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो । जसलाई ‘जनगणना २००९/११’ भनेर उल्लेख गरिएको छ । त्यतिखेर २००९ जेठ १५ गतेलाई जनगणना दिवस मानेर महोत्तरीबाहेक पूर्वका जिल्लाहरू र २०११ साल जेठ १५ गतेको सूर्योदयलाई कायम गरी पश्चिमका बाँकी जिल्लामा जनगणना गरिएको थियो । जनगणना २०६८ को तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख रहेको छ । त्यसैगरी १ सय २५ जातजाति, १ सय २३ भाषा, १० वटा धर्म मान्ने समुदाय रहेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×