एनसेलको बढेको शुल्क १९ देशमा लागू

काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक एनसेलले १९ देशमा कल गर्दा लाग्ने शुल्क परिमार्जन गर्दै लागू गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत यो शुल्क गत शुक्रबारदेखि लागू भएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको बढेको शुल्क १९ देशमा लागू

परिमार्जित शुल्क पुरानोभन्दा ६ गुणासम्म महँगो छ । प्राधिकरणले जेठ ९ देखि डेढ दर्जन देशमा एनसेलबाट कल गर्दा लाग्ने शुल्क बढाउन स्वीकृति दिएको थियो ।

प्राधिकरणले एनसेललाई इटली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, थाइल्यान्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड्स, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रसका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति दिएको हो । ‘प्राधिकणबाट प्राप्त स्वीकृतिसँगै यी देशका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरू सेवा प्रदायकले प्राधिकरणको स्वीकृतिबमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नयाँ अन्तर्राष्ट्रिय कल शुल्कअनुसार १९ वटा देशमा प्रतिमिनेट कल शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको एनसेलले जनाएको छ । माल्दिभ्समा लाग्ने शुल्क भने करबाहेक प्रतिमिनेट ३० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । यसअघि यी देशमा कल गर्दा देशअनुसार प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसादेखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो । सम्बन्धित देशका साझेदारले सन् २०१६ देखि आफ्नो शुल्क बढाएका कारण ५ वर्षमा एनसेललाई अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सान पर्दै आएको एनसेलले विज्ञप्तिमा जनाएको छ । विगत ५ वर्षमा अन्तर्राष्ट्रिय कलबाट हुने आयमा साढे २७ करोडभन्दा बढी नोक्सान भोगेको एनसेलको दाबी छ ।


प्रकाशित : जेष्ठ २६, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?