फास्ट ट्य्राकमा सुरुङ निर्माण सर्वेक्षण सुरु
काठमाडौँ — काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्भेको काम थालेका छन् । कम्पनीका प्राविधिक टोली सर्वेक्षणका लागि एक सातादेखि सुरुङ निर्माणस्थलमा खटिएको नेपाली सेनाले जनाएको छ ।
दुई वटा निर्माण कम्पनीका सात जनाको प्राविधिक टोली आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फिल्डमा खटिएको छ । गत वैशाख ३१ मा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत सेनाले दुई वटा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजमा पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीसँग ठेक्का सम्झौता भएको हो । दुवै प्याकेजमा तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यसमा डिजाइजनका लागि ६ महिनाको समय दिइएको छ ।
‘ठेक्का लिने कम्पनीले निर्माण गर्ने ठाउँ थाहा पाउनुपर्यो,’ उनले भने, ‘त्यसैले अनौपचारिक रूपमा सर्भे गर्न प्राविधिक टोली फिल्डमा गएको हो ।’ मोभिलाइजेसन रकम भने निर्माण कम्पनीलाई दिइसकिएको छैन । ‘त्यसका लागि कम्पनीले बैंक ग्यारेन्टी ल्याउनुपर्छ,’ उनले भने, ‘रकम दिएपछि निर्माण सुरु हुनेछ ।’ पहिलो प्याकेजमा चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्म ३ दशमलव ३५५ किमि सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ ।
दोस्रो प्याकेजमा पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । दूरी भने ३ दशमलव शून्य ३ किमि छ । दोस्रो प्याकेजमा पूर्वयोग्यता परीक्षण (पीक्यू) प्रक्रियामा एउटा मात्र कम्पनी छानिएको भन्दै लेखा समितिमा उजुरी परेको थियो, जसको टुंगो अझै लागेको छैन । विवाद नटुंगिँदै सेनाले ठेक्का प्रक्रिया अघि बढाएको हो । २०८०/८१ भित्र आयोजना सक्नुपर्ने भए पनि सबैभन्दा जटिल पुल र सुरुङ निर्माणको काम अझै सुरु हुन सकेको छैन । ‘तीन वर्षभित्र सुरुङ निर्माणमा केन्द्रित भई दुवै प्याकेजमा समान रूपमा काम अघि बढे तोकिएकै समयमा निर्माण सक्ने लक्ष्य हासिल गर्न बाटो खुल्नेछ,’ प्रवक्ता पौडेलले भने । निर्माण कम्पनीले अरू विज्ञ टोलीलाई छिटो ल्याई काम अघि बढाउन लागेको जनाएको उनले बताए । ‘अहिले बोर होल ड्रिलिङ मेसिन नै लगेर सर्भेको काम थालिएको छ,’ उनले भने, ‘टोलीले सुरुङ निर्माण गर्ने ठाउँको माटो पनि परीक्षण गर्नेछ ।’ सबैतिरबाट काम ढिलो भयो भन्ने टिप्पणी भइरहेका समयमा सेनाले भने समयमै काम सक्ने दाबी गरिरहेको छ । ‘ठेक्का सम्झौता हुनासाथ कार्यादेश भइहाल्छ,’ उनले भने, ‘डिजाइन गर्ने टोली पनि चाँडै चीनबाट आउने तयारी छ ।’
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निर्माणमा १८ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । १४ वटा बेलिब्रिजमध्ये ८ वटा सञ्चालनमा आइसकेका छन् । अहिले पनि स्वास्थ्य सावधानी अपनाएर काम जारी राखिएको पौडेलले बताए । ‘निर्माणमा खटिने कामदार निर्माणस्थलबाहिर गएका छैनन्,’ उनले भने, ‘फिल्डमै बसेर काम गरिरहेकाले समस्या छैन ।’ अहिले सडकको लेभलिङ, ग्रेडिङ, बेलिब्रिज जडान, पहुँचमार्ग र कल्भर्ट निर्माणको काम भइरहेको छ ।
आइतबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि फास्ट ट्र्याक निर्माण तोकिएकै समयमा सम्पन्न हुने दाबी गरे । सरकारले आवश्यक बजेट अभाव नगरिदिए, कोभिड–१९ को थप संकट आइनपरे र सरकारका विभिन्न मन्त्रालय तथा क्षेत्रबाट सहयोग भइरहे तोकिएकै समयमा काम गरिने उनको भनाइ छ । इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङ निर्माण गर्न लागिएको हो । यसअनुसार सर्भे र डिजाइनको काम बिडर आफैंले गर्नेछन् ।