१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दोहा र दिल्ली उडान अनिश्‍चित

यात्रुले ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने मापदण्ड तय भएपछि उडान अवरुद्ध हुन सक्ने

काठमाडौँ — यो साताबाट हवाई उडान खुला गरिएका मुलुकबाट नेपाल आउन यात्रुले अनिवार्य ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने मापदण्ड तय भएपछि दोहा तथा दिल्लीबाट काठमाडौं आउने उडान अवरुद्ध हुने देखिएको छ ।

दोहा र दिल्ली उडान अनिश्‍चित

फोटोसहितको पीसीआर रिपोर्टको नियमका कारण आगामी सोमबार नेपाल वायुसेवाको दोहा र बुधबारको दिल्ली उडान अवरुद्ध हुन सक्नेबारे मन्त्रालयलाई अवगत भएर पनि यसबारे कुनै संशोधन आएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले यो साताबाट कतार, भारत, चीन र टर्कीमा साताको एउटा उडान सेवा सञ्चालन हुने गरी यात्रु आवागमनमा विशेष मापदण्ड सार्वजनिक गरेको थियो । ‘बाहिरी विश्व परिस्थितिसँग जानकार नरहेको र नभएको अवस्थामा यात्रु आवागमनको मापदण्ड सार्वजनिक गरिएकाले यात्रुले कतारबाट उडान भर्न नसक्ने देखिन्छ,’ दोहास्थित नेपाली राजदूत नारदनाथ भारद्वाजले कान्तिपुरसँग फोनमा भने, ‘बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट भन्ने प्रबन्ध आफैंमा नौलो देखिन्छ, कतारका हकमा यहाँको केन्द्रीय ल्याबले मात्रै पीसीआर परीक्षण रिपोर्ट दिने र यसमा फोटो टाँस्ने प्रबन्ध नभएकाले हाम्रो आवश्यकताका लागि तिमीहरुको पद्धति बदलिदेऊ भन्न नसकिने स्थिति छ ।’ कतारमा रहेको नेपाली समुदाय र अन्य यात्रुले समेत ‘फोटो र बारकोडसहितको पीसीआर रिपोर्ट’ बारेमा कठिनाइ सुनाएपछि आफूले परराष्ट्र मन्त्रालयमा यस्तो प्रबन्ध हटाउन अनुरोध गरेर पत्र पठाइसकेको राजदूत भारद्वाजले बताए ।

एक महिनाअघिसम्म दिल्लीबाट आउने यात्रुका हकमा पनि ‘बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट’ को मापदण्ड तोकिएपछि दिल्ली दूतावासको आग्रहमा यो नियम हटाइएको थियो । ‘अहिले आएको मापदण्डमा फेरि पनि दिल्लीबाट काठमाडौं जाने हवाई यात्रुका हकमा फोटोसहितको पीसीआर रिपोर्टको नियम तोकिएको रहेछ,’ दिल्लीस्थित नियोगका उपप्रमुख रामप्रसाद सुवेदीले भने, ‘भारतमा समेत केही मात्रै ल्याबले फोटोसहितको पीसीआर रिपोर्ट दिने गरेका छन्, धेरैमा यो व्यवस्था छैन । यसकारण यो अपरिपक्व प्रबन्ध हटाउनका लागि अनुरोध गरिनेछ ।’

गत साता मन्त्रिपरिषद्ले निर्णय गरेको नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्डको पहिलो बुँदामा ‘पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोड (क्यूआर कोड) सहितको पीसीआर रिपोर्ट (नेगेटिभ) साथमा ल्याउनुपर्ने’ भनिएको छ । सरकारले खुला गरे पनि चीनको उडान निश्चित भएको छैन । टर्किस एयरलाइन्सले पनि आगामी साताबाट उडान सुरु गर्दै छ ।

प्रकाशित : जेष्ठ २१, २०७८ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?