१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यातायात मजदुरलाई गुजाराकै चिन्ता

११ लाख मजदुर रोजगारविहीन
विमल खतिवडा

काठमाडौँ — उदयपुरको रौतामाई गाउँपालिका–७ स्थित मुर्कुचीका लोकनाथ काफ्लेलाई अहिले दैनिक गुजाराकै चिन्ता छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ स्थित नैकापमा कोठाभाडा लिएर बसिरहेका उनी ढल्कु–लगनखेल रुटमा मिनी बस चलाउँछन् ।

यातायात मजदुरलाई गुजाराकै चिन्ता

चालक र सहचालकको काम आफैं सम्हाल्छन् । तर अहिले निषेधाज्ञाले गाडी नचलेपछि उनको दैनिकी तनावमा बितिरहेको छ । आम्दानीको स्रोत बन्द छ । चार जनाको उनको परिवार गाडीबाट आउने आम्दानीले पालिएको थियो । गाडीको मासिक किस्ता ३० हजार रुपैयाँ बुझाउनैपर्छ । कोठाभाडा त झन् तिर्नै पाएका छैनन् । ‘सुरुमा सहचालकका रूपमा काम गरें, दुःखजिलो गरेर ऋणमै भए पनि गाडी लिने हिम्मत कसें,’ उनी भन्छन्, ‘एक्लैले गाडी चलाउनेदेखि पैसा उठाउने काम आफैं गर्दै आएको थिएँ । तर कोभिड संक्रमण बढेपछि जीविका चलाउनै हम्मे परेको छ ।’

‘आम्दानीको स्रोत केही छैन, दैनिक कमाउने र खाने नै हो,’ उनले भने, ‘अहिलेसम्म कोठाभाडा तिर्न राखेको पैसाले जसोतसो पालिएका छौं ।’ अघिल्लो लकडाउनकै दुई महिनाको भाडा अझै तिर्न नसकिएको उनले बताए । गाडी घर नजिकै थन्क्याएर बसेको उनले सुनाए । समस्या काफ्लेको मात्र होइन, सबै यातायात मजदुरको हालत उनकै जस्तो छ । सहचालकदेखि चालकसम्म, स्वरोजगारदेखि व्यवसायी बनेका सबै अहिले बेरोजगार छन् । यस्तै समस्या खेप्नेमध्ये एक हुन्, धनगढी–काठमाडौं रात्रि बस चलाउने निर्मल मिश्र ।

उनले १६ वर्षसम्म अर्काको गाडीमा चालकका रूपमा काम गरे । ऋण गरेर गाडी किनेको एक वर्ष बल्ल कट्दै छ । अघिल्लो वर्षको लकडाउन सुरु हुनु एक साताअघि नयाँ गाडी लिएका उनले राम्रोसँग चलाउन नपाउँदै थन्क्याएर राख्नुपर्‍यो । ४० सिट क्षमताको एसी बस लामो समय राख्दा पुरानो भइसक्यो । ‘सबै गरेर गाडीको मूल्य करिब ९० लाख रुपैयाँ पर्‍यो,’ उनले भने, ‘जसमा बैंकको ऋण मात्र ५० लाख रुपैयाँ छ ।’ बैंकको मासिक किस्ता १ लाख २७ हजार रुपैयाँ बुझाउनुपर्छ । अहिले गाडी धनगढीमै ग्यारेजमा थन्क्याएर राखेका छन् । दुई जना मिलेर गाडी किनेका उनले वैशाखको किस्ता तिर्न नसकेको सुनाए । निषेधाज्ञा लम्बिँदै गए उठीबास लाग्ने निश्चित रहेको उनले गुनासो गरे । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका खड्ग गिरी स्वरोजगार व्यवसायी हुन् । उनी २०६५ सालबाट गाडी व्यवसायमा लागे । लकडाउन र निषेधाज्ञाले थोरै लगानी गरी आफैं श्रम गरिरहेका व्यवसायी बढी पीडित भएको उनले बताए ।

‘हामी ठूला व्यवसायी होइनौं,’ उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किसकेपछि ससानो पुँजीले अरूले चलाइसकेका सेकेन्ड ह्यान्ड गाडी किनेर जीविका चलाउँदै आएका छौं । तर अहिले निषेधाज्ञाले गर्दा मार खेप्न बाध्य छौं ।’ यातायात स्वरोजगार समन्वय समितिका सचिवसमेत रहेका गिरीको माइक्रो छ । उनी पहिला होटलमा मजदुरी गर्थे । त्यहाँ काम गरेर कमाएको पैसा गाडीमा लगानी गरेको उनले बताए । ‘२०६५ सालदेखि सेकेन्ड ह्यान्ड माइक्रो किनेर चलाउँंदै आएको छु,’ उनले भने, ‘जोरपाटी–रत्नपार्क रुटमा चलाउँथें, अहिले ठप्प हुँदा दैनिक गुजारामा समस्या छ ।’

२५ लाख रुपैयाँको गाडी किन्दा होटलमा काम गरेर कमाएको ८ लाख रुपैयाँ लगानी गरे । अपुग रकम सहकारीमार्फत लगानी गराए उनले अझै साढे दुई लाख रुपैयाँ तिर्न बाँकी छ । ‘अहिले गाडी चल्न छाडेपछि किस्ता तिर्न कठिन परेको छ,’ उनले भने । यसरी स्वरोजगार बनेका व्यवसायी उपत्यकामा मात्र करिब १ हजार ७ सय रहेको उनले जानकारी दिए । अघिल्लो लकडाउनको तुलनामा यसपटक यातायात क्षेत्रमा जनशक्तिको क्षति धेरै भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई बताउँछन् । ‘पहिला मजदुर भोकको पीडामा थिए,’ उनले भने, ‘यो पटक कोभिडले धेरैको ज्यान लियो, धेरै संक्रमित छन्, त्यसमा केही गम्भीर पनि छन् ।’ देशभर यातायात मजदुर ११ लाख छन् । र, यातायात व्यवसायी करिब ३ लाख रहेको उनले बताए । यातायात मजदुर र व्यवसायीबाट आश्रित परिवार करिब ४६ लाख रहेको उनको भनाइ छ । तर उनीहरूलाई सरकारले राहत प्याकेज नल्याएको राईले गुनासो गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि सरकारले यातायात मजदुरको पीडा नसुनेको बताउँछन् । ‘गत वर्ष लकडाउनमा यातायात मजदुरलाई हेर्ने केही संघसंस्था निस्किए, व्यवसायी थिए,’ उनले भने, ‘अहिले त कोही देखिएनन् ।’ उनका अनुसार यो क्षेत्रमा अनुमानित १० खर्ब रुपैयाँ लगानी छ । यातायात क्षेत्रमा ६० प्रतिशत स्वरोजगार छन् । उनीहरूले चालक र सहचालकको काम गर्छन् । साथै यो क्षेत्रमा ८० प्रतिशत बैंक र २० प्रतिशत व्यवसायीको लगानी छ । अहिले कमाइ बन्द हुँदा बैंकले दिनदिनै फोन गरेर किस्ता तिर्न ताकेता गर्दै व्यवसायीलाई मानसिक तनाव दिने गरेको सिटौलाले बताए । गाडी थन्क्याएर राख्दा झार उम्रिन थालेको यातायात व्यवसायी बताउँछन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?