कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मतदाता रिझाउने होइन, अभिभावकीय बजेट : अर्थमन्त्री

‘जनता र राष्ट्रप्रति सरकारको जुन जिम्मेवारी छ, त्यो पूरा गर्न बजेट ल्याएका हौं’
विमल खतिवडा

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले सरकार बजेट कार्यान्वयनमा लागिहाल्ने बताएका छन् । मतदाता रिझाउनेभन्दा पनि अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने गरी अध्यादेशमार्फत बजेट ल्याइएको उनको दाबी छ ।

मतदाता रिझाउने होइन, अभिभावकीय बजेट : अर्थमन्त्री

‘मतदाता प्रभावित गर्ने गरी होइन, जनता र राष्ट्रप्रति सरकारको जुन जिम्मेवारी छ, त्यो पूरा गर्न बजेट ल्याएका हौं,’ उनले भने । सत्तारूढ दललाई जनतामाझ गई विश्वास जित्ने अधिकार रहेको उनको भनाइ छ ।

अध्यादेशमार्फत बजेट ल्याएको भोलिपल्ट आइतबार पत्रकार सम्मेलन गर्दै संवैधानिक प्रावधानअनुसार नै बजेट ल्याएको अर्थमन्त्री पौडेलले बताए । ‘प्रतिनिधिसभा विघटित छ, जेठ १५ मा बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था संविधानमा छ, त्यहीअनुसार बजेट ल्याएका हौं ।’ कुनै ठाउँमा बसेर केही नेताले वक्तव्य दिँदैमा सरकारको वैधानिकता खण्डित नहुने उनको भनाइ छ ।

मुलुकको आर्थिक क्रियाकलापलाई संविधानसम्मत किसिमले नियमित गर्ने जिम्मेवारीबाट सरकार पन्छिन नसक्ने अर्थमन्त्री पौडेलले बताए । ‘यही मान्यतासाथ सरकारले पूर्ण आकारको बजेट ल्याएको हो,’ उनले भने, ‘यो भन्दा अर्को संवैधानिक विकल्प हामीसँग थिएन ।’ धेरैतिर बजेट राम्रो भए पनि कार्यान्वयन हुन नसक्ने टिप्पणी आएको उनले बताए । ‘तर हामीले बजेट कार्यान्वयन गरेर देखाउँछौं, कार्यान्वयन गर्ने योजना र प्रतिबद्धतासाथ बजेट आएको छ,’ उनले भने ।

बजेट केवल सुनाउन मात्र नभई कार्यान्वयन र बजेटमा निर्धारण गरिएका लक्ष्य हासिल गर्न प्रस्तुत गरिएको उनको दाबी छ । ‘शनिबार बजेट प्रस्तुत गर्‍यौं, आइतबार पत्रकार सम्मेलन गरेर छलफल गरेका छौं,’ उनले भने, ‘सोमबारदेखि अलग–अलग मन्त्रालयका योजना तथा कार्यक्रमबारे अर्थ मन्त्रालयसँग जुन दृष्टिकोण छ, त्यसका आधारमा छलफल गरी कार्यान्वयन अभियानलाई तीव्रता दिन्छौं ।’

बजेट मुख्य रूपमा कोभिड महामारीको रोकथाम र नियन्त्रणमा केन्द्रित रहेको उनले बताए । ‘कोभिडको रोकथाम, नियन्त्रण र उपचारमा बजेट केन्द्रित छ,’ उनले भने, ‘अर्को महत्त्वपूर्ण अभिभारा शीघ्रातिशीघ्र खोपको प्रबन्ध गरी आमनागरिकको जीवनरक्षालाई सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’ सरकारले आफ्नो पहलकदमीका साथ नेपाली जनतालाई खोप उपलब्ध गरायो, सरकार धन्यवादको पात्र छ भनेर समाचार र सम्पादकीय लेख्ने गरी यसको प्रबन्ध गर्ने काम हुने उनले जानकारी दिए ।

अर्थतन्त्रलाई चलायमान बनाएर राजस्वको लक्ष्य हासिल गरिने उनको भनाइ छ । ‘राजस्वको लक्ष्य मात्र निर्धारण गरिएको छैन,’ अर्थमन्त्री पौडेलले भने, ‘त्यो लक्ष्य कसरी प्राप्त गर्छौं भन्ने कुरामा क्याटोगरिकल्ली बजेटमा प्रबन्ध गरेका छौं ।’ कात्तिक र मंसिरमा हुने निर्वाचन निष्पक्ष रूपमा गराउन सरकार केन्द्रित हुने उनको दाबी छ । ‘निर्वाचनका निम्ति पनि सरकारले बजेटमा यथेष्ट महत्त्व दिएको छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।’ कोभिडको रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनरुत्थान हुने विश्वाससाथ बजेट आएको अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?