बारामा वर्षाले मकैखेतीमा ठूलो असर

लक्ष्मी साह

बारा — नुर महम्मदसहित उनकी पत्नी र छोरी शनिबार खेतमा डुबेको मकैको घोघा पानीबाट टिप्दै थिए । गत कार्तिक महिनामा १५ कठ्ठामा उनले मकै लगाएका थिए । ४५ क्वीन्टल मकैको आशा गरेर उनले त्यत्ति क्षेत्रफलमा मकै लगाएर स्याहारसुसार गरेका थिए । तर उनको सबै मेहनत र लगानी पानीमा डुबेको छ । 

बारामा वर्षाले मकैखेतीमा ठूलो असर

गत तीन दिनको लगातारको वर्षा नभएको भए उनले १ लाखभन्दा बढी रुपैयाँ नाफा हात पार्ने थिए, प्रति क्वीन्टल २३ सयको दरले मकै बिक्री गर्दा । मुस्किलले उनले २५ हजारको मकै निकाल्न सक्छन् । ‘छोरीको विवाह खर्चमा मकैले धानम्ला भनेर सोचेको थियो । तर पानीले चकनाचुर बनाइदियो,’ महागढीमाई नगरपालिका–८ नुर महम्मदले भने, ‘मकै खेतमै वर्षको पानीमा डुबेर घोघा कालो भएको छ ।’

नुर महम्मदकै सडकपारि छेउमा महागढीमाई–८ कै इन्द्रजीत चौरसिया छोरा र पत्नीसहित पानीबाट घोघा निकाल्दै सडकमा फाल्दै थिए । उनको पनि ५ कठ्ठाको मकै पानीमा डुबेको छ । पानीमै घोघा छानीछानी टोकरीमा छोरालाई बोकाउँदै निकालिरहेका थिए । ‘पाकेको घोघासहित पुरै मकैको बोट पानीमा लडेर डुबेको छ,’ इन्द्रजीतले भने, ‘प्रतिकठ्ठा ३ क्वीन्टलले हुन आउने ५ कठ्ठाको १५ क्वीन्टलको मकै वर्षाले गुमाएको छु ।’

वर्षाले मकैमा क्षति बेहोर्ने यी दुई किसान परिवारमात्र होइनन् । जिल्लाभरका सयौं किसान मारमा परेका छन् ।

कृषि ज्ञान केन्द्र बाराकाअनुसार जिल्लाभरमा ८ हजार हेक्टरमा मकैखेती हुने गरेको छ । यसपालीको वर्षाले उत्पादन आधा घट्न सक्ने केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । ‘स्थानीय तहले अनुगमन गरेर किसानलाई हौसला बढाउन राहत दिनुपर्छ,’ उनले भने, ‘मकैको क्षतिले किसानको ढाडै भाँचेको छ ।’

खेतमै मकै सडेर कालो भएपछि प्रतिक्वीन्टल २ हजार ३ सयको दरले बिक्री हुने मकै मुस्किलले प्रतिक्वीन्टल १ हजारको दरले बिक्री हुन सक्ने सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका मकै व्यापारी सिकेन्द्र यादवले बताए । ‘वर्षाले उत्पादन (मनी) पनि घट्यो र मकै सडेर कालो भएपछि दर पनि घट्यो,’ व्यापारी यादवले भने, ‘त्यसैले किसान यसपाली मारमा परेका छन् ।’

प्रकाशित : जेष्ठ १६, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?