कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पूर्वाधारमा नयाँ प्राथमिकता सुरुङमार्ग

भौतिकको बजेट १ खर्ब ६३ करोड
विमल खतिवडा

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालिएसँगै देश सुरुङ युगमा प्रवेश गरेको बताएका छन् । बजेटमा उनले धेरैतिर सुरुङ निर्माण र अध्ययनको काम थाल्ने भन्दै योजना अघि सारेका छन् ।

पूर्वाधारमा नयाँ प्राथमिकता सुरुङमार्ग

केही वर्षयता सुरुङको अध्ययन गर्न भन्दै बजेट विनियोजन गर्ने गरिए पनि अहिलेसम्म उत्साहजनक रूपमा निर्माणको काम अघि बढ्न सकेको छैन । नागढुंगा–सिस्नेखोला सुरुङ पुरानै आयोजनाभित्र पर्छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले अब बन्ने सडकमा सुरुङ प्रविधिको प्रयोगलाई महत्त्वका साथ अवलम्बन गरिने दाबीसमेत गरे । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दुई वर्षभित्र सञ्चालनमा आउने र यसका लागि ९ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान खण्ड, दोलखाको लामाबगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग निर्माण सुरु गर्न बजेट व्यवस्था गरिएको उनले जानकारी दिए ।

काठमाडौं–कोटेश्वर खण्डको सवारी चाप व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङ निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा टोखा–छहरे–गुर्जुभन्ज्याङ, बेत्रावती–स्याफ्रुबेंसी, खुर्कोट–चियाबारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण प्रारम्भ गरिने अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा बताए ।

पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाक्सिङ, पूर्वपश्चिम राजमार्गको दुम्कीबास–बर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाइएको छ । भौतिक पूर्वाधारतर्फ १ खर्ब ६३ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले भने पूर्वाधारमा कुनै पनि आयोजना अगाडि बढाउन नसक्ने गरी बजेट ल्याइएको प्रतिक्रिया दिए । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको पहिलो बजेटमा पनि सुरुङका कुरा थिए,’ उनले भने, ‘१५ किमिसम्म सुरुङ बनाउने भनेर बजेटमा राखियो । तर अहिलेसम्म कुनै पनि सुरुङ निर्माण अघि बढ्न सकेको छैन ।’ नेपालको आफ्नै क्षमताका आधारमा कहीं पनि सुरुङ निर्माण सम्भव नभएको उनको भनाइ छ ।

प्रमुख सहरबीचको यात्रा अवधि अधिकतम दुई घण्टा हुने गरी समय र लागत घटाउन गतियुक्त सडक, सुरुङमार्ग, उचाइयुक्त पुल र एवं फ्लाइओभर निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गलाई सुरक्षा मापदण्डसहित चार लेनमा विस्तार गरिनेछ । कञ्चनपुर–कमला, कमला–ढल्केबर–पथलैया र नारायणगढ–बुटवल खण्डको विस्तार कार्यलाई तीव्रता दिइनेछ । काँकडभिट्टा–इनरुवा, पथलैया–नारायणगढ, बुटवल–कोहलपुर र कोहलपुर–वनबासा खण्डको विस्तृत डिजाइन सम्पन्न गरी निर्माण थालिने छ । यसका लागि १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ । पुष्पलाल राजमार्गलाई चार लेनमा विस्तार गरी मध्यपहाडीको क्षेत्रको विकास मेरुदण्डका रूपमा निर्माण गरिने बताइएको छ । यसका लागि ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्गको चतरा–हेटौंडा खण्डको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । शान्तिनगर–धरान–भेडाबारी–धुलियाघाट–सुर्खेत खण्डको निर्माण थालिनेछ । बाँकी खण्डको रेखांकन र विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण अघि बढाउन ३ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । हुलाकी राजमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सक्ने अर्थमन्त्री पौडेलको दाबी छ । यसका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणलाई तीव्रता दिइनेछ । यसका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सिद्धार्थ राजमार्ग र कोहलपुर सुर्खेत राजमार्गलाई डेटिकेटेड डबल लेनमा स्तरोन्नति गर्न ७ अर्ब रुपैयाँ छुट्याइएको छ । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ । अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–कोदारी खण्ड स्तरोन्नति तथा विस्तार गर्न १ अर्ब १३ करोड विनियोजन गरिएको छ । गल्छी–स्याफ्रुबेंसी–रसुवागढी र काठमाडौं–विदुर सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गरिनेछ ।

प्रकाशित : जेष्ठ १६, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?