नेपालमै तयार अक्सिजन सिलिन्डरको परीक्षण सकियो

व्यावसायिक उत्पादनका लागि खुला गर्ने तयारी
चौधरी ग्रुपसहितका व्यापारिक घराना र केही उद्योगले सिलिन्डर उत्पादनको प्रस्ताव गरे
विजय तिमल्सिना

काठमाडौँ — नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको दुवै चरणको परीक्षण सकिएको छ । नेपाल विज्ञान तथा प्रतिष्ठान (नास्ट) को अगुवाइमा नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण पूर्ण रूपमा सफल भएको यसको अगुवाइ गरिरहेका नास्टका वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले जानकारी दिए ।

नेपालमै तयार अक्सिजन सिलिन्डरको परीक्षण सकियो

सिलिन्डरको दोस्रो चरणको परीक्षण सफल भएपछि निजी क्षेत्रलाई पनि व्यावसायिक उत्पादनका लागि खुला गर्ने तयारी भइरहेको उनले बताए । नास्ट परिसरमा आइतबार राति गरिएको दोस्रो चरणको परीक्षणमा नेपालमा तयार पारिएको अक्सिजन सिलिन्डरले थेग्नुपर्ने आवश्यक चापभन्दा तीन गुणा बढी चाप थेपेको ढकालले बताए ।

नास्टले पहिलो चरणमा गरेको परीक्षणमा अक्सिजन सिलिन्डरले आवश्यक चाप थेग्न सक्ने प्रमाणित भएको थियो । परीक्षणका क्रममा सिलिन्डरमा राखिएको भल्भ लिकेज भएको थियो । पहिलो चरणमा देखिएको समस्या सुधार गरी दोस्रो चरणमा सिलिन्डर परीक्षण गरिएको थियो । आइतबार राति दुईवटा सिलिन्डरको परीक्षण गरिएको ढकालले जानकारी दिए । अक्सिजन सिलिन्डरले १ सय ५० केजी प्रतिवर्ग सेन्टिमिटर चाप (प्रेसर) खेप्नुपर्ने मापदण्ड छ । नास्टले गरेको परीक्षणमा नेपालमा तयार अक्सिजन सिलिन्डरको प्रोटोटाइपले २ सय ३५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धानेको थियो । सिलिन्डरले आवश्यकभन्दा बढी चाप खपेको भए पनि परीक्षणका क्रममा यो आंशिक सफलता भएको ढकालले बताए । आइतबार राति गरिएको दोस्रो चरणको परीक्षणका क्रममा भने सिलिन्डरले ५ सय १५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धानेको थियो । कोभिड–१९ को संक्रमण बढेका बेला देशभर अक्सिजन सिलिन्डरको अभाव भएपछि नास्टले सिलिन्डर तयार पारी परीक्षण थालेको थियो ।

नास्टले सुरुमा एलपीजी ग्यास सिलिन्डरमा अक्सिजन राख्न सकिने विकल्पमा अध्ययन गरेको थियो । तर प्राविधिक हिसाबले सम्भव नभएपछि अक्सिजन सिलिन्डरको छुट्टै प्रोटोटाइप तयार पारिएको थियो । एलपीजी ग्यास सिलिन्डरले १५ केजी प्रतिसीएम स्क्वायर मात्रै प्रेसर खप्न सक्ने भएकाले प्राविधिक रूपमा यो सम्भव नभएको वरिष्ठ प्राविधिक अधिकृत ढकालले बताए ।

नेपालमा आयात भइरहेको सिलिन्डरकै स्वरूपमा नास्टले ६ एमएम बाक्लो फलाम प्रयोग गरेर सिलिन्डरको प्रोटोटाइप तयार पारेको हो । सिलिन्डर निर्माणमा नास्टका वैज्ञानिक र प्राविधिकसहित निजी क्षेत्रका उद्योगी पनि संलग्न छन् । सुरुमा ग्यास सिलिन्डरको प्रेसर मापनका लागि नेपालमा रहेका ग्यास उद्योगहरूमा भएको ल्याब प्रयोग गर्ने भनिए पनि प्राविधिक रूपमा असम्भव भएपछि नास्टले आफ्नै ल्याब तयार पारेको हो ।

नास्टका वैज्ञानिक ढकालसहित निजी क्षेत्रका प्रतिनिधि सुजन श्रेष्ठ, कृष्ण ढकाल, पूर्णराज सुवेदी, गौतम अर्यालको प्रत्यक्ष संलग्नतामा अक्सिजन सिलिन्डरको प्रोटोटाइप तयार पारिएको हो । अब सिलिन्डरको परीक्षण सफल भइसकेकाले निजी क्षेत्रलाई पनि यसको उत्पादनको लागि जिम्मा दिने तयारी भइरहेको ढकालले जानकारी दिए । नास्टले सिलिन्डरको पहिलो चरणको परीक्षण गरेपछि नै चौधरी ग्रुपसहितका व्यापारिक घराना र केही निजी उद्योगले सिलिन्डरको व्यावसायिक उत्पादनको लागि चासो देखाएर नास्टलाई प्रस्ताव गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?