१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

उपत्यकामा एउटा बैंकका तीन शाखा मात्र खुल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा एउटा वाणिज्य बैंकले दिनमा तीन वटा शाखा मात्र सञ्चालन गर्न पाउने भएका छन् । कर्मचारी र तिनका घरपरिवारमा संक्रमण बढिरहेको भन्दै दैनिक खुला हुने शाखा संख्या घटाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थाका छाता संगठन र राष्ट्र बैंकबीच छलफल भइसकेको छ ।

उपत्यकामा एउटा बैंकका तीन शाखा मात्र खुल्ने

स्रोतका अनुसार सोमबार राष्ट्र बैंकले यससम्बन्धी निर्देशन जारी गर्दै छ । यसअनुसार मंगलबारदेखि काठमाडौं उपत्यकामा हरेक वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एउटा शाखा मात्र खुला रहनेछन् । हाल बैंकहरूले उपत्यकामा आलोपालोका आधारमा दैनिक २५ प्रतिशत शाखा सञ्चालन गर्दै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमा संक्रमण बढ्न थालेपछि सकेसम्म कम मात्र शाखा सञ्चालन गर्ने र अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । ‘बैंक खुला रहँदा ससाना कामका लागि धेरै सेवाग्राही आएको देखियो,’ उनले भने, ‘संक्रमणका बेला अत्यावश्यकबाहेक कामका लागि बैंकमा भीड नहोस् भन्ने हाम्रो ध्येय हो ।’

नयाँ निर्देशन जारी भएपछि ललितपुरमा दिनहुँ वाणिज्य बैंकका दुई अनि विकास बैंक र वित्त कम्पनीका एक÷एक शाखा मात्र खुला रहनेछन् । भक्तपुरमा पनि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका एक/एक वटा शाखा सञ्चालन गर्न दिने तयारी पनि राष्ट्र बैंकको छ । उपत्यका बाहिरका जिल्लामा भने स्थानीय प्रशासनको निर्देशनबमोजिम शाखा सञ्चालन हुने प्रवक्ता ढकालले बताए ।

यसअघि नै बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने निर्णय गरिसकेका छन् । संक्रमण बढिरहेका बेला ससाना अनावश्यक काम जस्तै मौज्दात जानकारी, डिम्याट खाता खोल्ने, बैंक स्टेटमेन्टलगायत काममा लागि सेवाग्राहीको भीड लाग्न थालेपछि राष्ट्र बैंकस“गको छलफलका आधारमा बैंकले प्रदान गर्ने सेवा घटाइएको बैंकर्स संघले जनाएको छ ।

संक्रमणको अवधिमा पनि बैंकहरूका सबै एटीएम भने खुला रहनेछन् । कार्यालय समयभर कल सेन्टर पनि सञ्चालन हुनेछन् । सेवाग्राहीले बैंकहरूबाट नगद झिक्न पाउनेछन् भने ५० हजारभन्दा कम रकम बैंकमा नगदमा जम्मा गर्न पाइनेछैन । ग्राहकले एउटा बैंकबाट अर्को बैंक वा खातामा रकम स्थानान्तरण गर्न, रेमिट्यान्स लिन/पठाउन र अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक सेवा भने पाउनेछन् ।

ग्राहकले डिजिटल बैंकिङ भने गर्न पाउनेछन् । डिजिटल बैंकिङ गर्दा कुनै समस्या आए सम्बद्ध बैंकमा फोन तथा इमेलमार्फत सम्पर्क गर्न सकिने बैंकहरूले बताएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७८ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षा हटाउने शिक्षा विधेयकको प्रावधानबारे संसदीय समितिमा बहस चलिरहेको छ । तपाईंको राय के छ ?