३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बर्खाअघि सक्नैपर्ने निर्माणका काम रोकिए

निर्माणाधीनमध्ये १५५ काम अन्तिम अवस्थामा थिए
विमल खतिवडा

काठमाडौँ — डिभिजन सडक कार्यालय काठमाडौंले गत वर्ष उपत्यकामा लकडाउनका बेला ४२ किलोमिटर सडक ओभरले (कालोपत्रमाथि कालोपत्र) गरेको थियो । अघिपछि सवारी चाप हुने हुँदा रातको समयमा, कि सडक नै बन्द गरेर नै काम गर्नुको विकल्प हुन्नथ्यो । सडक खाली भएकै समयमा गत वर्ष नै १५ किमि थप नयाँ सडक कालोपत्र गरियो ।

बर्खाअघि सक्नैपर्ने निर्माणका काम रोकिए

यो पटक भने सवारी पासमा समस्या हुँदा सोचेअनुसार काम हुन सकेको छैन । ३२ किमि सडक ओभरले गर्ने योजना छ । तर आयोजना, प्रशासन र प्रहरीबीच समन्वय नहुँदा समस्या भएको छ । ‘गत वर्ष निर्माण सामग्रीको समस्या थियो । अरू समस्या खासै भएन । सोचेभन्दा सडक राम्रा र चिल्ला बनाउन सकियो,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले भने, ‘यो पटक कोभिडको जोखिम उच्च भए पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर काम गर्न सकिन्थ्यो । तर गर्न सकिएन ।’ सडक मार्किङको काम भने हुँदै छ । थोरै जनशक्तिमा पनि हुने यो काम अहिले तीनकुने, लैनचौर, जमल, अनामनगर, दरबारमार्गलगायत क्षेत्रमा भइरहेको छ  । तर ओभरलेका लागि तयारी गरिए पनि काम गर्न समस्या भएको उनको भनाइ छ ।

चक्रपथको कलंकीबाट चाबहिलसम्म विभिन्न खण्डमा ओभरलेको काम गर्न लागिएको छ  । पेप्सीकोला, पुरोनो बानेश्वर, नयाँ बानेश्वर, शंखमूल, चप्पल कारखानाबाट मण्डिखाटार जानेलगायत सडकखण्डमा पनि ओभरले गरिँदै छ । ‘बल्लतल्ल कष्ट सहेर ५ किमि ओभरलेको काम सकिएको छ,’ उनले भने, ‘मुख्य रूपमा रिङरोडमा गर्नुपर्ने हो, प्रहरीले त्यहीँ रोक्ने गरेकाले काम गर्न सकिएको छैन ।’ मौज्दात निर्माण सामग्री सकिँदा पनि समस्या थपिएको छ । बर्खाअघि नै यी काम सक्न पाए पानी जम्ने, सडक बिग्रिने समस्या कम हुने उनको भनाइ छ ।

अहिले निर्माणको काम हुने समय हो । यही बेला कोभिडका कारण काम ठप्प छ । उपत्यकामा निर्माणका काम ठप्पप्रायः रहेको नेपालीले बताए । ‘निर्माणका लागि पास पाउन सकिएको छैन,’ उनले भने, ‘त्यसैले थोरै र सीमित ठाउँमा मात्र फाटफुट काम भएको छ ।’ डिभिजनअन्तर्गत करिब १ सय ५० वटा आयोजना सञ्चालनमा छन् । सबैजसो आयोजना ठप्प रहेको उनको भनाइ छ । ‘उत्यकामा मात्र करिब १५ प्रतिशत आयोजना निर्माणको अन्तिम चरणमा रहेकाले काम नरोकिएको भए चालु आर्थिक वर्षमा सकिन्थे,’ उनले भने ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापा पनि निर्माणका काम सबै रोकिएको बताउँछन् । ‘निर्माणका काम सबै बन्द गर्ने भनेपछि कतै समन्वय गर्न आवश्यक रहेन,’ उनले भने, ‘प्रशासनबाट सहयोग र समन्वय नहुँदा यस्तो भएको हो ।’ स्वास्थ्य सावधानी अपनाएर काम गर्छौं भन्दासमेत प्रशासनले सहयोग नगरेको उनको भनाइ छ । बर्खाअघि सक्नुपर्ने काम अहिले रोकिएका छन् । ‘अहिले निर्माण भइरहेका पक्की पुल बीचैमा छाड्दा बर्खामा टेका बगाउने र ढल्ने खतरा हुन्छ, विगतमा यस्ता समस्या देखिएका छन्,’ उनले भने, ‘त्यसमा पनि अहिले निर्माणको पिक समय हो, बर्खा लागेपछि सबै काम ठप्प हुन्छ ।’ अहिले काम गर्न नपाए बर्खामा धेरै आयोजना ठप्प हुने उनले बताए ।

‘कम्तीमा आयोजनाको प्रगतिका आधारमा स्थानीय प्रशासनले काम गर्ने वातावरण मिलाइदिए हुने हो,’ थापाले भने, ‘निर्माण सक्नैपर्ने आयोजनामा मात्र आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न तयार छौं ।’ आयोजनाको काम रोकिँदा निर्माणको समय र लागत बढ्ने उनको भनाइ छ । ‘आयोजना क्रिटिकल अवस्थामा छैनन भने हामी काम रोक्न तयार छौं, सबै आयोजनामा काम गर्न पाउनुपर्छ भन्ने पनि होइन,’ उनले भने, ‘निर्माणको अन्तिम चरणमा रहेका र बर्खाअघि सक्नैपर्ने आयोजना करिब १५ प्रतिशत छन् ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने सडक टालटुलका काममा रोकावट नगरिएको बताए । ‘खानेपानीका पाइप फुटेर सडक बिग्रिएलान्, त्यस्ता काम भइरहन्छन्,’ उनले भने, ‘सार्वजनिक सडक मर्मतमा कुनै रोकावट छैन ।’ सडक, खानेपानी र विद्युत्का काम अत्यावश्यकभित्र पर्ने भएकाले आवश्यक समन्वय गरेर अगाडि बढाउन दिइएको उनले प्रस्ट्याए ।

कोभिडको बढ्दो संक्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । निर्माण सामग्री ढुवानीलगायतमा प्रयोग भएका गाडीलाई ठाउँठाउँमा रोक्ने र सहज रूपमा पाससमेत नदिँदा उपलब्ध नगराउँदा समस्या भएको महासंघले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?