गौतम बुद्ध विमानस्थलमा परीक्षण उडान सर्दै

भैरहवा — निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि प्रभावित भएको छ । परीक्षण उडानको सुरसार गरिरहेको आयोजनाको तयारी फेरि पर धकेलिएको हो ।

गौतम बुद्ध विमानस्थलमा परीक्षण उडान सर्दै

दोस्रो चरणको लकडाउन हुनुपूर्व आयोजनास्थलमा धमाधम उपकरण जडानको काम भइरहेको थियो । वैशाखको पहिलो सातामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्त्वपूर्ण उपकरण जडान सकिएका थिए । आयोजना परीक्षण उडानको अन्तिम चरणमा थियो । विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न विमानस्थल परिसरमा जडित उपकरण ठीक भए/नभएको र ती उपकरणले सही काम गरे/नगरेको बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला दोस्रो चरणको लकडाउनले आयोजनालाई फेरि प्रभावित बनाएको हो । विशेष विमान ल्याएर परीक्षण उडान कहिले हुने भन्ने सुनिश्चितता भने निषेधाज्ञासँगै अन्योलमा परेको छ ।

आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माण कार्यलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरिएको छ । आईसीबी टूअन्तर्गतको उपकरण जडानको काम सकिएको र जडानका लागि आयोजनास्थलमा युरोप, अमेरिका, अस्ट्रियालगायत मुलुकबाट आएका प्राविधिक फिर्ता भइसकेको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताए । ‘जडित उपकरणबारे क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) गर्नुपर्ने हुन्छ । यसका लागि विशेष विमान ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘विशेष विमानसँगै केही विदेशी उच्च प्राविधिक ल्याउनुपर्ने भएकाले लकडाउनले गर्दा अब परीक्षण उडान कहिले हुने भन्नेबारे यकिन गर्न सकिएन ।’

परीक्षण उडानका लागि आवश्यक विशेष विमान ल्याउने काम सम्झौताअनरूप आईसीबी टूको ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीको भए पनि कोभिड–१९ का कारण त्यहाँको सरकारले विमान आउन अनुमति दिएको थिएन । यसको विकल्पमा सरकारले भारत र अस्ट्रियासँग कुरा अघि बढाएको थियो । कोभिडका कारण नेपाल पनि रिस्क जोनमा परेकाले थाइल्यान्डको विकल्पमा परीक्षणका लागि विमान ल्याउन अन्य मुलुकसँग पनि कुरा भइरहेको न्यौपानेले जनाए । तर कुन कुन मुलुकसँग कुरा भइरहेको हो भन्नेबारे उनले खुलाएनन् ।

‘परीक्षण उडानका लागि प्राविधिक आउन तयार त छन् । तर लकडाउनले अन्तर्राष्ट्रिय उडान बन्द रहेको र कोभिडको उच्च जोखिमको मुलुकमा परेकाले समस्या धेरै छ,’ न्यौपानेले भने, ‘अब आउनुपर्ने प्राविधिकसँग समन्वय भइरहेको छ । यसका लागि अहिलेको असहज परिस्थितिमा सुधार आउनुपर्ने हुन्छ ।’ परीक्षण उडानका लागि तीन दिनभित्र सकिने र सात दिनभित्र परीक्षणका सम्पूर्ण काम सकिने उनको दाबी छ ।

कोभिड संक्रमण विश्वव्यापी रूपमा फैलिन थालेको डेढ वर्षअघिदेखि नै विदेशी प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडान रोकिएको थियो । पहिलो चरणको लकडाउन खुकुलो भएसँगै अवरुद्ध कार्यले निरन्तरता पाएका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?