कोभिड उपचारमा सहयोग जारी

महासंघको अगुवाइमा आइसोलेसन
दुई अस्पताललाई उद्यमी मञ्चले दियो ४० अक्सिजन सिलिन्डर
मेटलाइफको ५० हजार डलर अनुदान

काठमाडौँ — कोभिड–१९ बाट संक्रमितहरूको उपचारमा सघाउन निजी क्षेत्रका विभिन्न संघसंस्थाले सहयोग जारी राखेका छन् । आइसोलेसन केन्द्र स्थापनादेखि अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग आउने क्रम जारी रहेको हो ।

कोभिड उपचारमा सहयोग जारी

नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरेको कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालन गरेको छ । महासंघ अध्यक्ष शेखर गोल्छा, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले सोमबार आइसोलेसनको उद्घाटन गरे ।

महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपालअन्तर्गत उक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । उद्घाटनका अवसरमा पूर्वउपप्रधानमन्त्री सिंह र महानगरपालिकाकी उपमेयर खड्गीले आइसोलेसन सेन्टरको प्रभावकारी सञ्चालनमा आआफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाए । मुलुक अप्ठ्यारोमा पर्दा महासंघले सधैं अग्रस्थानमा रहेर सेवा गरेको महासंघ अध्यक्ष गोल्छाले उल्लेख गरे । कोभिड महामारी मुलुकका लागि अहिले निकै ठूलो चुनौतीका रूपमा देखिएकाले यसलाई परास्त गरी नागरिकहरूको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको गोल्छाले बताए ।

यसैगरी नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले काठमाडौंका वीर अस्पतालको ट्रमा सेन्टर र शिक्षण अस्पताललाई ४० वटा अक्सिजन सिलिन्डर दिएको छ । उद्यमी मञ्चले ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर दिएको हो । कोभिड–१९ को दोस्रो लहरका संक्रमितलाई अक्सिजन आवश्यकता देखिएसँगै मञ्चले सिलिन्डर सहयोग गरेको जनाएको छ ।

मेटलाइफ फाउन्डेसनले पनि कोभिड–१९ नियन्त्रण गर्न ५० हजार अमेरिकी डलर अनुदान गरेको छ । मेटलाइफले अमेरिका नेपाल मेडिकल फाउन्डेसनको कोभिड–१९ नियन्त्रणका लागि उक्त रकम अनुदानस्वरूप सघाएको हो । नेपालमा बढिरहेको कोभिड–१९ को संकटबाट प्रभावित असहाय व्यक्तिका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न उक्त रकम अनुदान गरेको हो ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?