के कारणले बढिरहेछ रेमिट्यान्स ?

महामारीपछि अनौपचारिक कारोबारमा शैथिल्य आएसँगै हुन्डी कम भएको र प्रमुख श्रम गन्तव्यमा पूर्वानुमानविपरीत रोजगारी नखुम्चिएकाले विप्रेषणमा निरन्तर सुधार
कृष्ण आचार्य

काठमाडौँ — विश्वव्यापी कोभिड–१९ महामारीले रेमिट्यान्स घट्ने पूर्वआकलनविपरीत यो निरन्तर वृद्धि भइरहेको छ । विश्वका धेरै मुलुकमा कोभिड–१९ को असरले व्यापार, व्यवसाय, उद्यम तथा रोजगारीमा असर परे पनि २०७७ का प्रायः महिना नेपालमा आउने रेमिट्यान्समा कुनै प्रभाव नपरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७७ का तीन महिनाबाहेकमा रेमिट्यान्स अप्रवाह निरन्तर बढेको छ ।

के कारणले बढिरहेछ रेमिट्यान्स ?

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैतसम्ममा विप्रेषण आप्रवाह १६.५ प्रतिशत वृद्धि भई ७ खर्ब २९ अर्ब २ करोड पुगेको छ । यो तथ्यांकसित विरोधाभास हुने २०७७ का हरेक महिना श्रम स्वीकृति लिने र विदेशिनेको संख्या भने निरन्तर घटिरहेको छ । त्यसको असरले रेमिट्यान्स घट्नुपर्ने हो । तर घटिरहेको छैन, किन ? ‘यस्तो हुनुमा सोझो कारण छैन,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्छन्, ‘मिहिन तरिकाले तथ्यांक केलाउने हो भने साढे १६ प्रतिशतले

रेमिट्यान्स बढे पनि प्रायः परिवारले पाउने रकम घटेको छ ।’ यसलाई उनले ‘राज्यले प्राप्त गरेको तथ्यांकमा मात्रै बढेको तर वास्तविक लाभकर्ताले भने कम पाइरहेको’ रूपमा अर्थ्याएका छन् । यसो हुनको पछाडि अनौपचारिक अर्थतन्त्रको प्रकृति र कारोबारसँग सम्बन्ध जोडिन्छ ।

‘अनौपचारिक माध्यमबाट हुने पुँजी पलायन, न्यून र अधिक बीजकीकरण, तस्करीसहितका अनौपचारिक कारोबारमा रेमिट्यान्सको रकम प्रयोग हुने गर्थ्यो । सामान्य अवस्थामा नेपाल आउने रेमिट्यान्सको केही अंश हुन्डीबाट आउँथ्यो । जुन सरकारी रेकर्डमा देखिँदैनथ्यो,’ श्रेष्ठ भन्छन्, ‘तर अहिले विश्वमै पुँजी पलायन र अनौपचारिक कारोबार प्राथमिकतामा छैन ।’ अर्थात् अनौपचारिक कार्यका लागि रेमिट्यान्सको माग घटेर गयो । र, विदेशमा हुनेहरूले पनि औपचारिक माध्यमबाटै रकम पठाइरहे । जसले सरकारी तथ्यांकमा वृद्धि भएको देखिएको श्रेष्ठको दाबी छ ।

‘काम गर्न विदेश जाने मान्छे कम भएका छन् । जहाँ नेपाली श्रमिक बसिरहेका छन् त्यहाँ पनि समस्या छ,’ उनले भने, ‘त्यसकारण कोभिड–१९ ले विश्वभरि नै सबै प्रकारको आम्दानीमा असर गरिरहेको छ ।’ सरकारी अधिकारी तथा सार्वजनिक समाचारका अनुसार अनौपचारिक अर्थतन्त्रको शैथिल्य रेमिट्यान्स वृद्धिको एक मात्र कारण भने होइन । कोभिड–१९ को संक्रमण फैलिनुपूर्व भएका आकलनविपरीत कतिपय मुलुकमा रोजगारीको अवसर खुम्चिएन, बरु बढेको छ । हाल संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि १ सय १० देशमा नेपाली जान्छन् । यसमध्ये करिब एक दर्जन मुलुकसँग द्विपक्षीय श्रम सम्झौता भएकाले ठूलो संख्यामा नेपाली काम गर्न विदेशिएका छन् । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकहरूमा कतार, भारत, यूएई, साउदी अरेबिया, मलेसियालगायत पर्छन् । यसमध्ये कतिपय मुलुकमा कोभिड–१९ को असर शून्यप्रायः छ भने कतिपय मुलुकले उच्च सतर्कता अपनाएर कामलाई जारी राखेका छन् ।

सरकारका अनुसार यी मुलुकमा रहेका कामदार धेरै फर्कने अनुमान गरिए पनि हालसम्म करिब १ लाख ८० हजार मात्रै नेपाल आएका छन् । यीमध्ये केही पुनः र केही नयाँ गरी २०७७ मा करिब ४० हजार कामदार श्रम गन्तव्य मुलुकमा गइसकेका छन् । अर्कोतर्फ नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा त पछिल्लो समय तलब नै वृद्धि भएको छ । त्यहाँ मासिक न्यूनतम एक हजार रियाल बनाइएको छ । मलेसियामा पछिल्लो समय श्रमिक आपूर्ति कम भएसँगै त्यहाँका कम्पनीहरूले बढी तलब दिएर काममा लगाइरहेका छन् । नेपालको प्रमुख श्रम गन्तव्यमध्ये दुबईमा अलि बढी असर गरेको हो । त्यहाँ रहेका होटल तथा सेवा क्षेत्रमा कार्यरत केहीले रोजगारी गुमाएका छन् । अन्य मुलुकमा यस्तो असर धेरै परेन ।

यसकारण नेपाली रुपैयाँ तथा अमेरिकी डलर दुवैमा रेमिट्यान्स आप्रवाह बढिरहेको देखिन्छ । ‘अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो,’ राष्ट्र बैंकको तथ्यांकमा भनिएको छ । गत वर्षकै अमेरिकी डलरका आधारमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड डलर पुगेको जनाइएको छ । ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो,’ राष्ट्र बैंकले भनेको छ । खासगरी नेपालीले श्रम गर्ने मुलुकहरूमा कोभिड–१९ को असरले ठूलो असर नपारेको र रेमिट्यान्य औपचारिक माध्यमबाट आउने क्रम बढेकाले नघटेको सरकारी अधिकारीहरूको अनुमान छ । रेमिट्यान्स आप्रवाहसँग सम्बद्ध नीतिनियममा सुधारसँगै कडाइ गरे पनि अनौपचारिक माध्यमबाट आउने प्रवृत्ति कम भएको दाबी गरिएको छ, जसले गर्दा औपचारिक माध्यमबाट आउँदा विगतको वर्षको तुलनामा वृद्धि भएको आँकडा निस्किएको हो ।

२०७६ को चैतमा रेमिट्यान्सको वृद्धिदर ऋणात्मक रहेको जगमा यसपटक वृद्धि अलि बढी देखिएको राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगानाले बताइन् । २०७६ को चैतमा ४.२ प्रतिशतले रेमिट्यान्स घटेको थियो । ‘अघिल्लो चैतमा मात्रै ३४.५ अर्ब रुपैयाँ मात्रै आएको थियो । यसपटक ८७ अर्ब रुपैयाँ आएको हो,’ उनले भनिन्, ‘कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै घरपरिवारलाई पैसा अलि बढी नै पठाएका हुन सक्छन् ।’

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेहरूको संख्यामा ठूलो गिरावट आएको छ । ‘वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो ।’ वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि घटेको छ । चैतसम्ममा ५५.७ प्रतिशतले घटेको जनाइएको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो,’ प्रतिवेदनमा भनिएको छ । रेमिट्यान्य वृद्धि हुनुका पछाडि हुन्डी कारोबारमा आएको कमीसँगै अन्य कारण पनि देखिएको नेपाल रेमिटर्स एसोसिएनका अध्यक्ष सुमन पोखरेल बताउँछन् ।

‘एक देशबाट अर्को देशमा आवतजावत गर्ने क्रम कम भएपछि पनि रेमिट्यान्स आप्रवाह बढ्दो रहेछ । मान्छेले आफैंले सुनदेखि विभिन्न घरायसी सामान बोकेर ल्याउन पाउँदैनन् । सामानको सट्टा पैसा नै पठाउँछन्,’ उनले भने, ‘अर्कोतर्फ विकसित मुलुक कोरिया, जापानामा विगतका वर्षमा धेरै नेपाली गएका छन् । उनीहरूले अहिले आम्दानी बढाउन थाले ।’ उनका अनुसार अमेरिकाबाट आउने रकम पनि बढिरहेको छ । ‘नेपालीहरूले पनि आफ्नो आम्दानी यहाँ ल्याएर घरजग्गा तथा आफूलाई मन लागेको क्षेत्रमा लगानी बढाउन थालेका हुन् कि भन्ने लागेको छ,’ उनले भने ।

हाल नेपालमा ५२ रेमिट्यान्स कम्पनी छन् । कुल रेमिट्यान्समध्ये ५५ प्रतिशत यी कम्पनीमार्फत नेपाल भित्रन्छ । बाँकी ४५ प्रतिशत बैंकहरूमार्फत आउने गरेको छ । रेमिट्यान्स पठाउँदा औसतमा प्रतिकारोबार सेवा शुल्कका रूपमा ५/६ अमेरिकी डलर सम्बद्ध व्यक्तिले खर्च गर्नुपर्ने हुन्छ । हुन्डीबाट रकम पठाउँदा यो सेवा शुल्क नलाग्ने, उस्तै परे ठूलो परिणाममा कारोबार गर्दा अतिरिक्त रकमसमेत पाइने भएकाले आफ्नो कमाइ नेपाल पठाउन अनौपचारिक माध्यम रोज्ने गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?