२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निषेधाज्ञामै भित्रियो बंगलादेशी मल

पर्सा — सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलमध्ये आधा नेपाल भित्रिएको छ । बंगलादेशसँग कुल ५० हजार टन युरिया किनिएकामा त्यसमध्ये पहिलो लटको २२ हजार ५ सय टन मल चरणबद्ध रूपमा नेपाल भित्रिएको कृषि सामग्री कम्पनीको प्रदेशस्तरीय कार्यालय वीरगन्ज प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।

निषेधाज्ञामै भित्रियो बंगलादेशी मल

‘२२ हजार ५ सय टनमध्ये १० हजार टन युरिया निषेधाज्ञा अवधिमै भित्रिएको छ,’ उनले भने, ‘बंगलादेशबाट आउने बाँकी २५ हजार टन युरिया पनि चरणबद्ध रूपमा भित्रिनेछ ।’ मुलुकका प्रायः जिल्लामा निषेधाज्ञा जारी रहे पनि मल भित्रिने र परिचालन गर्ने काममा खासै प्रभाव नपरेको केसीको दाबी छ । ‘निषेधाज्ञा अवधिमै माग भएका जिल्लामा युरिया र डीएपी मल परिचालन भइरहेको छ,’ उनले भने, ‘धुलिखेल, काठमाडौं, चितवन, पोखरा, पर्वत र कावासोतीमा यसै अवधिमा युरिया र डीएपी मल पठाइएको छ ।’

हाल कार्यालयसँग १८ हजार टन डीएपी, २ हजार २ सय टन युरिया र १ हजार ५ सय ८० टन पोटास मौज्दात रहेकाले तत्कालै मलको अभाव हुने स्थिति नआउने उनको दाबी छ । ‘धान बाली सिजनका लागि मलको अभाव हुने छैन,’ उनले भने, ‘माग भएका जिल्लामा धमाधम मल पठाइएको छ, अन्य जिल्लामा पनि क्रमशः पठाइनेछ ।’

सरकारले खरिद गर्न लागेको थप ३० हजार टन युरिया मल पनि क्रमशः नेपाल भित्रिने केसीको दाबी छ । ग्लोबल टेन्डरबाट ठेक्का पाएको नेपालको जोशी बीज हाउसले यो कन्साइन्मेन्टअन्तर्गत ३० हजार टन युरिया मल चीनबाट किनेको छ । उक्त कन्साइन्मेन्टअन्तर्गत पहिलो रेलवे र्‍याक मंगलबारसम्म वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा भित्रिइसक्ने उनले बताए । यो रेलवे र्‍याक सोमबार छिमेकी भारतीय सहर रक्सौलको रेलवे स्टेसनसम्म आइपुगेको जानकारी पाएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २९, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?