संकटमा सघाउँदै कोभिड कनेक्ट

स्वयंसेवी युवाको सक्रियतामा सञ्चालित यो प्लेटफर्मले बेड, अक्सिजन र एम्बुलेन्स व्यवस्थापनमा साथ दिँदै छ
विजय तिमल्सिना

काठमाडौँ — काठमाडौं उपत्यकाबाहिर रहेका एक चिकित्सककी कोभिड–१९ संक्रमित आमालाई अस्पताल पुर्‍याउनुपर्ने भयो । घरमा एक्लै रहेकी आमालाई अस्पताल पुर्‍याउन उनले ‘कोभिड कनेक्ट’ नामक अनलाइन प्लेटफर्ममा सहयोगको आग्रह गरे । यसमा आबद्ध स्वयंसेवीले ती आमालाई अस्पताल भर्नाको बन्दोबस्त मिलाए ।

संकटमा सघाउँदै कोभिड कनेक्ट

यसैगरी अप्ठ्यारोमा परेका कोभिड–१९ संक्रमित र तिनका आफन्तलाई सहयोग गर्न बनेको अनलाइन प्लेटफर्म ‘कोभिड कनेक्ट’ मा आउने अनुरोध दिनदिनै बढ्दै गएको छ । स्वयंसेवी युवाको सक्रियतामा सञ्चालित यो प्लेटफर्मले दुई सातामा मात्रै सयौंलाई अस्पतालको बेड, अक्सिजन र एम्बुलेन्स व्यवस्थापनमा सघाइरहेको छ ।

कोभिड–१९ को संक्रमण फैलिँदै जाँदा अस्पतालमा बेडको अभाव भइसकेको छ । गम्भीर अवस्थाका बिरामीका लागि अक्सिजन पनि अभाव हुन थालिसकेको छ । संक्रमितले बेड नपाउँदा अस्पताल धाउँदाधाउँदै ज्यान गुमाइरहेका समाचार आइरहेका छन् । कोरोना संक्रमणको यो घडीमा केही भए पनि राहत दिने प्लेटफर्म हो– कोभिड कनेक्ट । भारतमा दोस्रो लहरको संक्रमणले आक्रान्त पारिरहँदा नेपालमा पनि यस्तै अवस्था आउने आकलनसहित केही युवाको अगुवाइमा तयार पारिएको कोभिड कनेक्ट एनपी डट ओआरजीमा अहिले एक सय हाराहारीमा स्वयंसेवी जोडिइसकेका छन् ।

कोभिड संक्रमितका लागि आवश्यक बेड, आईसीयू, भेन्टिलेटरसहितका बेड, अक्सिजन र एम्बुलेन्सका लागि एकअर्कालाई सहयोग गर्ने प्लेटफर्म हो– कोभिड कनेक्ट । वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरमा निषेधाज्ञा सुरु हुन केही दिनअघि यसको सुरुवात गरिएको समय खड्का बताउँछन् । ‘भारतमा दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि हामी ३–४ जनाले छलफल गरी सहयोग गर्न सक्ने व्यक्तिलाई जोड्ने गरी यस्तो प्लेटफर्म निर्माण गर्ने सोच बनाएका हौं,’ उनले भने, ‘अहिले यो पूर्ण रूपमा स्वयंसेवीहरूको नेटवर्कबाट चलिरहेको छ ।’

कोरोना संक्रमण बढेसँगै कोभिड कनेक्टमा सहयोग माग्न आउने क्रम पनि बढेको उनले जानकारी दिए । ‘सुरुमा दैनिक २०–२५ वटा जनाले मात्रै सहयोगका लागि अनुरोध गर्ने गरेकामा शनिबार मात्रै साढे तीन सयभन्दा बढी अनुरोध आए,’ उनले भने । शनिबार करिब ८० जनालाई मात्रै सहयोग गर्न सकिएको उनले बताए । भन्छन्, ‘अस्पतालमा बेड र अक्सिजन अभाव हुन थालेपछि हामीले गर्न सक्ने सहयोगको मात्रा पनि घटेको छ ।’

कोभिड कनेक्टका स्वयंसेवीले चार समूह बनाएर आवश्यक पर्नेहरूलाई सहयोग उपलब्ध गराइरहेका छन् । सपोर्ट टिमले कोभिड कनेक्टको प्लेटफर्ममा आउने अनुरोधलाई फलोअपको काम गर्छ । सहयोगको अपिल गर्नेहरूलाई फलोअप गर्दै अक्सिजन चाहिएको हो/होइन, संक्रमितको अवस्था हेरी अक्सिजन वा भेन्टिलेटर बेडको आवश्यकता कति छ भन्ने हेरिन्छ । यो समूहमा रहेका ४० जनामध्ये प्रायः एमबीबीएस अध्ययन गरिरहेकाहरू छन् ।

अर्को करिब ४० जना स्वयंसेवी सदस्य रहेको डेटा टिमले अस्पतालमा रहेका विभिन्न खालका बेडको अवस्थासम्बन्धी तथ्यांक अपडेटको काम गरिरहन्छ । उनीहरूले हरेक घण्टामा उपत्यका र देशका प्रमुख सहरमा रहेका अस्पतालमा फोन गरेर साधारण बेड, अक्सिजनसहितका बेड र भेन्टिलेटर खाली भए/नभएको तथ्यांक अपडेट गराइरहेका हुन्छन् ।

अर्को प्राविधिक टिमले वेबसाइटलाई चुस्तदुरुस्त राख्न काम गरिरहेको छ । अर्को १० जनाको टिमले सामाजिक सञ्जालमा आउने अनुरोधलाई अपडेट गर्ने तथा विभिन्न जानकारी पोस्ट गर्ने काम गरिरहेका हुन्छन् । वेबसाइटबाहेक फेसबुक, ट्वीटर इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पनि कोभिड कनेक्टको उपस्थिति छ ।

यो समूहले आगामी दिनमा अक्सिजन प्लान्ट र सिलिन्डर मर्मत गर्ने अनि निषेधाज्ञाका कारण अभावमा रहेकाहरूलाई खाना वितरण गर्ने विषयमा पनि तयारी गरिरहेको यसका अभियन्तामध्येका एक खड्काले जानकारी दिए । यसबाहेक स्वयंसेवीले आफैंले अपडेट गराइरहेको तथ्यांक अपडेटका लागि अस्प्तालसँगै सहकार्य गर्ने तयारी पनि रहेको उनले बताए । स्वयंसेवीहरूले स्वस्फूर्त रूपमा बिहान ३ देखि बेलुकी १२ बजेसम्म निरन्तर तथ्यांक अपडेट गराइरहेका छन् ।

आइतबार दिउँसोसम्मको तथ्यांकअनुसार कोभिड कनेक्टमा अस्पतालको बेडका लागि मात्रै साढे ७ सय अनुरोध आएका छन् । साढे २ सयभन्दा बढी मानिसले अक्सिजनका लागि अनुरोध गरेका छन् । संक्रमितलाई अस्पताल पुर्‍याउन ३० भन्दा बढीले एम्बुलेन्सका लागि अनुरोध गरेका छन् । यही प्लेटफर्ममार्फत हालसम्म साढे ३ सयलाई बेड उपलब्ध गराइएको र एक सयभन्दा बढीलाई अक्सिजन उपलब्ध सघाएको बताइएको छ ।

प्रकाशित : वैशाख २७, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?