आफ्नै मापदण्ड लत्याउँदै अनलाइन डेलिभरीमा रोक

डराई–डराई सीमित सेवा दिइरहेका छौं : व्यवसायी
विजय तिमल्सिना

काठमाडौँ — निषेधाज्ञामा सुरक्षित तरिकाले घरघरमा अत्यावश्यक सामग्री पुर्‍याउन गत वर्ष बनाइएको मापदण्डको बेवास्ता गर्दै उपत्यकामा अत्यावश्यक सामग्रीको डेलिभरीमा रोक लगाइएको छ । कोभिड–१९ को संक्रमण बढेको भन्दै उपत्यकासहित देशका प्रमुख सहरमा वैशाख १६ देखि निषेधाज्ञा जारी छ ।

आफ्नै मापदण्ड लत्याउँदै अनलाइन डेलिभरीमा रोक

निषेधाज्ञाको पहिलो सातामा उपत्यकामा अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुकीको समय छुट्याइएको भए पनि बिहीबारदेखि भने बिहान ९ बजेसम्म मात्रै पसल खुल्न दिने निर्णय भएको छ । तर अत्यावश्यक सामग्री किन्न हुने भीडभाड कम गर्न प्रभावकारी हुने ठानिएको अनलाइन डेलिभरीलाई भने उपत्यका प्रशासनले रोक लगाएको छ । निषेधाज्ञामा डेलिभरी दिन रोक लगाएपछि सीमित ई–कमर्सले सीमित ग्राहकलाई डराइडराइ सेवा दिइरहेको ई–बिजनेस एसोसिएसन नेपालका अध्यक्ष सागरदेव भट्टले जानकारी दिए । ‘निषेधाज्ञा सुरु हुनु दुई दिनअघि नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर अत्यावश्यक वस्तुको सूचीसहित त्यस्ता सामान घरघरमा पुर्‍याउन रोक्न नहुने भनेर माग गरेका थियौं,’ उनले भने, ‘तर निषेधाज्ञाको पहिलो दिनदेखि नै होम डेलिभरीमा रोक लगाइयो ।’

गत वर्ष भदौमा गरिएको निषेधाज्ञाका क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरोकारवाला सम्मिलित समिति बनाएर सुरक्षित रूपमा होम डेलिभरीका लागि मापदण्ड बनाएको थियो । उक्त मापदण्ड देशभर लागू गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई समेत सिफारिस गरेको थियो ।

आफैंले तयार पारेको मापदण्डलाई थन्काएर काठमाडौं जिल्ला प्रशासन कार्यालयसहित उपत्यकाका तीनै प्रशासन कार्यालयले होम डेलिभरीमा रोक लगाएका हुन् । होम डेलिभरी गर्ने कम्पनी धेरै भएको र खुला गर्दा सडकमा भीड हुने भएकाले रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको दाबी छ । ‘अत्यावश्यक सामग्री खरिदका लागि बिहान ९ बजेसम्म पसल खोल्न दिइएको छ,’ उनी भन्छन्, ‘होम डेलिभरी सेवा आवश्यक पर्दैन ।’ ई–बिजनेस एसोसिएसन नेपालका अध्यक्ष भट्ट भने कतिपय परिवारका पूरै सदस्य कोभिड–१९ को संक्रमणमा परेकाले त्यस्ता परिवारको हकमा होम डेलिभरीको विकल्प नभएको तर्क गर्छन् । ‘कोभिडबाट परिवारै संक्रमित भएकाले होम डेलिभरी गरिदिनू भनेर फोन गर्छन्,’ उनले भने, ‘कसैले संक्रमण फैलिएकाले बाहिर निस्कन हुन्न भनेर घरमै सामान अर्डर गर्छन् ।’

एसोसिएसनमा आबद्ध करिब ४० वटा ई–कमर्समध्ये केहीले सीमित मात्रामा होम डेलिभरी सेवा दिइरहेको भट्टले बताए । ‘डेलिभरीमा संलग्न कर्मचारीलाई प्रहरीले बाटोमा समात्ने र केरकार गर्ने घटना पनि भइरहेको छ,’ उनले भने, ‘त्यही भएर डराईडराई सेवा दिनुपरेको छ ।’ प्रशासनले होम डेलिभरीमा रोक लगाउन भने पनि सस्तोडिल र दराजजस्ता ई–कमर्सले होम डेलिभरीका सेवा दिइरहेका छन् । निषेधाज्ञाको सुरुवातदेखि नै अत्याश्यक सामानको होम डेलिभरी सेवा दिइरहेको सस्तोडिलका संस्थापक अमुन थापा बताउँछन् । ‘तर सरकारी संयन्त्रबीच संयोजन नहुँदा होम डेलिभरी सेवामा संलग्न हुनेहरूले दुःख पाइरहेका छन्,’ उनले भने, ‘कतै ट्राफिकले जान दिने त कतै रोक्ने काम भइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालयबाट मौखिक रूपमा १० बजेसम्म डेलिभरी गर्न पाइने आश्वासन पाए पनि त्यो सम्भव नहुने उनको तर्क छ । भन्छन्, ‘दैनिक सयौं डेलिभरी गर्नुपर्ने हुन्छ, १० बजेसम्मको अवधिले पुग्दैन ।’ कोभिड–१९ को संक्रमण फैलिन सर्वसाधारणलाई घरभित्रै बस्न लगाइएका बेला पसल खोलेर भीड गर्नुको साटो होम डेलिभरीलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । गत वर्ष पनि निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा होम डेलिभरीमा रोक लगाइएको थियो । यसको चौतर्फी विरोध भएपछि प्रशासनले मापदण्ड तयार पार्दै होम डेलिभरी सेवा निरन्तर गराएको थियो । त्यसमा अत्यावश्यक सामग्रीलाई परिभाषित गरिनुका साथै स्वास्थ्यसम्बन्धी मापदण्ड तोकिएको थियो । होम डेलिभरी गर्न सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र, अनलाइन साइटमा सबै वस्तुको मूल्यसूची, सरकारकाले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने सर्त मापदण्डमा छ । सामान दिँदा सेवाग्राहीसँग कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने पनि मापदण्डमा छ ।

सम्बद्ध संस्थाले डेलिभरीमा संलग्न जनशक्ति र सवारीसाधनको विवरण जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र ट्राफिक प्रहरीलाई बुझाउनुपर्ने व्यवस्था पनि गरिएको थियो । भीड कम गर्न स्थानीय प्रशासनले डेलिभरीमा आवश्यक सवारीसाधनको संख्या निर्धारण गर्न सक्ने व्यवस्था छ । दुईपांग्रे सवारीमा एक जना र चारपांग्रे सवारीमा चालकसहित बढीमा दुई जना मात्रै बस्न पाइने व्यवस्था मापदण्डमा उल्लेख थियो । होम डेलिभरी गर्दा लिने व्यक्तिको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण संकलन गर्नुपर्ने व्यवस्था पनि थियो ।

अत्यावश्यक सामग्री सहज आपूर्तिको अपिल

निजी क्षेत्रका छाता संस्थाहरूले उद्योगहरूलाई आफूसँग मौज्दात सिलिन्डर छिटो सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा व्यवसायीलाई अक्सिजनलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्ति सक्दो चाँडो गर्न भनेका छन् ।

‘कोभिड–१९ को उपचारमा अक्सिजन महत्त्वपूर्ण भएको छ । तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्योपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन आग्रह गर्छौं ।’ हरेक दिन कोभिडका संक्रमित र यसबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । अस्पताल भरिँदै गएका र संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएकाले सहज उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरिएको हो । महासंघ, परिसंघ र चेम्बरले आम उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चित नगर्नसमेत सुझाएका छन् ।

‘अन्य व्यवसायीसँग रहेका सिलिन्डरलाई पनि स्वास्थ्योपचारका लागि प्रयोग गर्न सम्बन्धित निकायमा उपलब्ध गराऔं,’ विज्ञप्तिमा भनिएको छ, ‘महामारीमा हामी व्यवसायीले कुनै पनि प्रकारको सञ्चिति र मूल्य वृद्धि नगरौं ।’ केही निजी अस्पतालले महामारीको समयमा चर्को शुल्क लिई उपचार गरिरहेको विषयमा समेत महासंघ, परिसंघ र चेम्बरको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य सेवा जटिल बन्दै गएकाले यस्तो समयमा अनावश्यक नाफा आर्जन गर्नेतर्फ नलाग्न भनिएको छ । चरम संकटमा गैरप्रतिस्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि गरिने काराबाहीमा तीनै संस्था सरकारको साथमा रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : वैशाख २४, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?