आठ महिनादेखि खुलेन रेलको ‘घुम्टो’

‘तयारी सकिए पनि कोरोनाका कारण रेल चलाउन सक्ने अवस्था छैन’
विमल खतिवडा

काठमाडौँ — भारतबाट ल्याएको ८ महिना बित्न लाग्दा पनि पालले छोपिएका दुईवटा रेल सेटले अझै ‘घुम्टो’ खोल्न पाएका छैनन् । कहिले कानुन त कहिले कर्मचारी अभाव देखाएर सञ्चालन रोकिएको बताइए पनि कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै रेल सञ्चालनमा झन् अन्योल थपिएको छ ।

आठ महिनादेखि खुलेन रेलको ‘घुम्टो’

जयनगर–जनकपुर खण्डमा अब कहिले रेल सञ्चालनमा आउने हो, टुंगो नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

केही समयअघिसम्म रेलमा काम गर्ने कर्मचारीलाई तालिम दिने काम भइरहेको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए । ‘१० दिन जति तालिम भएको थियो,’ उनले भने, ‘जनकपुरमा पनि लकडाउन हुने भएपछि तालिम रोकेका छौं ।’ रेलमै काम गर्ने भारतीय प्राविधिक कर्मचारी आएर तालिम दिएका हुन् । ‘जीवनभन्दा ठूलो केही पनि होइन,’ उनले भने, ‘त्यसैले अहिलेको अवस्थामा रेल चलाउने कुरै भएन ।’ उनका अनुसार कर्मचारी तयार भए पनि कानुनबिना रेल चलाउन सकिन्न । ‘हामीलाई रेल चलाउने ऐन चाहिएको छ,’ उनले भने, ‘अध्यादेश ल्याएर भए पनि रेल चलाउन सकिन्छ, त्यसका लागि गत फागुनमै मन्त्रिपरिषद्मा पठाएका हौं, अहिलेसम्म स्वीकृत हुन सकेको छैन ।’

रेल सञ्चालनसम्बन्धी ऐन नहुँदा समस्या भएको उनको भनाइ छ । रेलवेसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस भएको एक वर्षभन्दा बढी भयो । प्रतिनिधिसभा विघटन भएपछि विधेयक पास नहुने देखेपछि मन्त्रालयले अध्यादेशमार्फत कानुन ल्याएर रेल चलाउने तयारी गरेको थियो । प्रतिनिधिसभा विघटन बदर भएपछि विधेयक पास हुने आसमा मन्त्रालय थियो । तर संसद् चले पनि विधेयक पास भएन । जसले गर्दा अध्यादेशको विकल्प नभएको मन्त्रालयको भनाइ छ ।‘संसद्बाट विधेयक पास हुन सकेन,’ श्रेष्ठले भने, ‘त्यसैले कसरी हुन्छ हामीलाई ऐन चाहिएको छ ।’ वैशाखभित्रै रेल चलाउने गरी काम अघि बढाइएको थियो । ‘तर कोरोनाले गर्दा सबै रोकियो,’ उनले भने, ‘अब अहिलेको अवस्थामा कानुन नै आए पनि चलाउन सक्ने अवस्था छैन ।’

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडका प्राविधिक कर्मचारीले नेपाली कर्मचारीलाई रेल सञ्चालनसम्बन्धी तालिम दिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पनि बताए । मंगलबारबाट जनकपुरमा लकडाउन हुने भएपछि तालिम बन्द गरिएको उनले सुनाए । ‘तालिम तीन महिनाको हो । तर चाँडो रेल चलाउन भन्दै एक महिनामा झारेर तालिम दिइरहेका थियौं,’ भट्टराईले भने, ‘अझै १५ दिनको तालिम बाँकी थियो । अब केही समयका लागि बन्द गरेका छौं ।’

सकेसम्म वैशाख अन्तिम, नभए जेठ पहिलो साताबाट रेल चलाउने गरी तयारी गरिएको थियो । ‘तयारीको अन्तिम चरणमै थियौं,’ उनले भने, ‘यही बेला फेरि कोरोनाको जोखिम बढ्यो ।’ २६ जना भारतीय प्राविधिक कर्मचारी तयारी अवस्थामा रहेको भट्टराईले जानकारी दिए । नेपाली कर्मचारी पनि तयारीमै रहेको उनले बताए । ‘निषेधाज्ञा खुल्नासाथ पहिला बाँकी रहेको तालिम सक्नेतर्फ लाग्छौं,’ उनले भने, ‘तालिम सकिनासाथ रेल सञ्चालनमा ल्याउँछौं ।’ अहिले करिब ७० जना कर्मचारी तालिममा सहभागी थिए । फेरि थप कर्मचारीलाई तालिम दिइने उनको भनाइ छ ।

यसअघि कानुन नआउँंदै रेल सञ्चालनका कैयौं मिति तय गरिए । त्यति बेला कानुनलाई आवश्यकता ठानिएन । तर त्यो बेला कर्मचारी अभावमा रेल सञ्चालन हुन सकेन । कानुन र कर्मचारीको तयारीबिनै हतारमा रेल ल्याइँदा समस्या भएको हो । करोडौं रुपैयाँ मूल्यका रेल लामो समयदेखि यत्तिकै थन्क्याउँदा बिग्रने खतरा बढ्दै गएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?