पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

कान्तिपुर संवाददाता

काठमाडौँ — दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा मौज्दात रहेको बताए ।

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडेलले बताए ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्यान्न सहजै उपलब्ध हुने भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी खरिद गरी सञ्चय नगर्न पनि आग्रह गरे ।

खाद्य पदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए । उनले भने,‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम वस्तुको स्टक करिब ३ महिनालाई अझै पनि हामीलाई सप्लाईमा समस्या छैन । नआए पनि पुग्छ । खाद्य पदार्थको आपूर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताए । दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ । उनले भने, ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरु छन् । त्यो गोदामहरुबाट काठमाडौंसम्म ल्याउनको लागि दैनिक उपभोग्य वस्तुका साधनहरु, मास्क सेनिटाइजर जस्ता अहिले अत्यावश्यक भएका वस्तुहरु सँगसँगै उद्योगको कच्चा पदार्थका लागि आउने सवारी साधनलाई रोकिएको छैन ।’

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने पनि महानिर्देशक पौडेलले बताए । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनले बताए ।

प्रकाशित : वैशाख २१, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्

अचल सम्पत्तिमा महिलाको पहुँच बढ्दै

गत आर्थिक वर्षमा ताप्लेजुङ जिल्लाभर भएका १ हजार ४ सय ६३ मध्ये १ हजार ४३ रजिष्ट्रेसन महिलाका नाममा पास
आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिका ४ इखावुका दिलप्रसाद मावोहाङ लिम्बूले बिक्री गरेको जग्गा चन्द्रकुमारी साँवा लिम्बूको नाममा रजिस्ट्रेसन पास भयो । सदरमुकाम फुङलिङबाट झन्डै एक दिनको पैदलमा रहेको इखावुको जग्गा ४ लाख रुपैयाँको पास गरिएको थियो । 

रजिस्ट्रेसन गर्दाको राजस्व ८ हजार रुपैयाँ लाग्थ्यो । महिलाका नाममा पास भएकाले दुई हजार रुपैयाँ छुट भयो । त्यही दिन पूर्वको सिदिङवा गाउँपालिका ५ मेहेलेकी लिलादेवी कडरियाले बिक्री गरेको जग्गा संगीता कडरियाले खरिद गरिन् । ५ लाख १० हजार रुपैयाँमा रजिस्ट्रेसन पास गरिएको जग्गाको राजस्व ७ हजार ६ सय ५० रुपैयाँ लाग्यो । १ हजार १० रुपैयाँ राजस्व छुट भयो ।

सदरमुकाम फुङलिङको उकालीपानी छेउमा देवीमाया रिजालले २ आना जग्गा खरिद गरिन् । अम्बरबहादुर गुरुङबाट ५ लाख रुपैयाँमा लिइएको जग्गामा ५ हजार रुपैयाँ राजस्व छुट भयो । तर आफूले राजस्वभन्दा पनि आर्थिक परिचालनमा समान भूमिकाका लागि श्रीमतीका नाममा रजिस्ट्रेसन पास गरेको देवीमायाका श्रीमान् कैलाश बानियाँ बताउँछन् । ‘कृषि, व्यापारी फर्महरू उनको (देवीमाया) नाममा छ, व्यवसाय परिचालन गर्दा प्रोपर्टी देखाउनुपर्ने हुन्छ,’ कैलाशले भने, ‘त्यसका लागि पनि उनको नाममा पास गरेको हुँ ।’ होटल प्यारिजका सञ्चालक उनले होटलको फर्म पनि श्रीमतीकै नाममा भएकाले जग्गा पनि उनकै नाममा राखेको बताए ।

जडिबुटी र होटल व्यवसाय गर्ने उनी आफू बाहिर हिँडडुल गरिरहने भएकाले अचल सम्पत्ति महिलाका नाममा राख्नु उपयुक्त लागेको बताउँछन् । उनले भने, ‘मेरो नाममा भएको जमिन पनि उनको नाममा नामसारी गर्ने प्रक्रियामा छु ।’

उत्तरको इखावु, पूर्वको मेहेले र फुललिङ नगरपालिका मात्रै नभएर जिल्लाका अधिकांश जग्गा महिलाका नाममा रजिस्ट्रेसन पास भएको मालपोत कार्यालयको तथ्यांकमा छ । कार्यालयका नायब सुब्बा दीपक भट्टराई गत आर्थिक वर्षमा रजिस्ट्रेसन पास भएका १ हजार ४ सय ६३ मध्ये १ हजार ४३ रजिस्ट्रेसन महिलाका नाममा भएको बताउँछन् । यो ७० प्रतिशत बढी हो ।

अघिल्लो वर्ष २ हजार ४ सय १४ रजिस्ट्रेसनमध्ये १४ सय बढी महिलाको नाममा भएको भट्टराई बताउँछन । जग्गा रजिस्ट्रेसन फाँटकी दुर्गा भट्टराई महिलाको नाममा रजिस्ट्रेसन नभएको कुनै पनि दिन नहुने बताउँछिन् । ‘म यो फाँटमा बसेको ६ वर्ष लाग्यो, महिलाका नाममा मात्रै रजिस्ट्रेसन भएको दिनहरू त कत्ति छ कत्ति ।’ रजिस्ट्रेसन गर्नुअघि राजस्वको रसिद काट्दा महिला कि, पुरुषको नाममा पास हुँदै छ भन्ने याद हुने उनले बताइन् ।

पछिल्लो समय अचल सम्पत्तिमा पनि महिलाको पहुँच वृद्धि भएको लेखापढी व्यवसायी कृष्णमणि अधिकारी बताउँछन् । ‘मैले लेखापढी गर्न थालेको तीसौं वर्ष भयो,’ अधिकारीले भने, ‘जसले जे भने पनि महिलाका नाममा बढी लिखत पास हुनु सरकारले दिएको राजस्व छुट नै हो ।’

प्रकाशित : वैशाख २१, २०७८ १२:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×