१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चार हजार हेक्टरमा कफी विस्तार योजना

धनकुटा — पाख्रीबास नगरपालिकाले नमुना कफी खेती विस्तार गर्ने तयारी गरेको छ । पाख्रीबास नगरपालिका–८ स्थित राई गाउँमा कफीका ५ लाख बिरुवा उत्पादन थालिएको छ ।

चार हजार हेक्टरमा कफी विस्तार योजना

नर्सरीमा ५० हजार बिरुवा उत्पादन भइसकेका छन् । नगरभित्रका किसानलाई सहुलियत दरमा यी बिरुवा बिक्री वितरण गरिने तयारी गरिएको नगरपालिकाका प्रमुख बिर्खबहादुर राईले जानकारी दिए ।

योजनाअनुसार कफी पकेट क्षेत्र अध्ययन गरी चार हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती विस्तार गर्ने लक्ष्य छ । नगरपालिकाको सामुदायिक वनसमेत गरी ८० प्रतिशत भूभागमा कफी खेती उपयुक्त भएको राईले बताए । हाल ७ रोपनी क्षेत्रफलमा बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको १० लाख रुपैयाँ लागतमा गत वर्षदेखि बिरुवा उत्पादन थालिएको उनको भनाइ छ । ४ हजार हेक्टर क्षेत्रफलमा उत्पादित कफीले कम्तीमा १० अर्ब रुपैयाँको आम्दानी दिन सक्ने दाबी गरिएको छ । पहिलो चरणमा हाल ५ सय हेक्टरबाट व्यावसायिक खेतीको सुरुवात गरिँदै छ । आगामी सात वर्षभित्र आम्दानी हात लाग्ने राईले बताए । यसबाट कम्तीमा ३ अर्ब वार्षिक आम्दानी हुनेछ ।

जिल्लाका विभिन्न स्थानमा केही वर्षदेखि व्यावसायिक कफी खेती सुरु गरिएको कृषि ज्ञान केन्द्र स्रोतले जनाएको छ । स्थानीय दिलीप कार्कीले ६ सय रोपनी, रेवतबहादुर थापाले १५ सय रोपनी, रमेश दाहालले ४० रोपनी र युवराज दर्नालले ६ सय रोपनी क्षेत्रफलमा कफी खेती गरिरहेको पाख्रीबास नगरपालिका–८ का वडाध्यक्ष सीताराम राईले जानकारी दिए ।

प्रकाशित : वैशाख २१, २०७८ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?