२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोना जोखिमबीच यार्चा संकलन

कोरोना संक्रमण बढेर भयावह अवस्था आए अर्को निर्णय गरिने
हरि गौतम

रुकुम पश्चिम — कोरोना जोखिम कायमै रहँदा डोल्पाको पाटनमा यार्चा संकलन खुलाको निर्णय भएको छ । सर्वपक्षीय, सर्वदलीय निर्णयले जेठ १० बाट यार्चा टिप्न सबै पाटन खुलाउने निर्णय गरेको हो ।

कोरोना जोखिमबीच यार्चा संकलन

निर्णयबाट गत वर्ष यार्चा संकलन गर्न नपाएकाहरू खुसी त भएका छन् । उनीहरूमा चिन्ता पनि थपिएको छ । यार्चा संकलनका लागि जम्मा हुनेहरूका कारण कोरोना संक्रमण फैलने चिन्ता चर्को छ । जिल्ला समन्वय समितिले राखेको सर्वदलीय, सर्वपक्षीय बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर यार्चा संकलन गर्ने निर्णय गरेको छ । निर्णयले मात्रै यो सम्भव नहुने स्थानीयको भनाइ छ । ‘पाटन खोल्ने निर्णय त हाम्रा लागि ठीकै हो,’ स्थानीय लीलबहादुर बुढाले भने, ‘तर दिनानुदिन बढ्दै गएको कोरोना संक्रमणको जोखिम झन् बढ्ला कि भन्ने चिन्ता पनि उत्तिकै छ ।’ नहुँदासम्म निर्णय भए हुन्थ्यो जस्तो लागेको भए पनि निर्णय भएपछि भने डर थपिएको उनले बताए ।

जिल्लाका प्राय: स्थानीय तहका लेक तथा पाटनमा यार्चा पाइन्छ । यार्चा संकलनका लागि झन्डै ३० हजार मान्छे डोल्पा उक्लिन्छन् । पाटन पुग्दासम्म डोल्पाका विभिन्न बस्ती, गाउँ तथा बजार हुँदै जानुपर्छ । यसमा बाहिरका मान्छे पनि डोल्पा उक्लने हुँदा कोरोना संक्रमण फैलने सम्भावना धेरै छ । यार्चा संकलनको निर्णय भए पनि के–कसरी जाने र संकलन गर्ने भन्ने विस्तृत निर्णय भने केही दिनमा गर्ने तयारी रहेको स्थानीय जय रोकायले बताए ।

जिल्ला प्रशासन कार्यालयले भने यसमा फरक धारणा राखेको छ । अघिल्लो वर्ष पनि यार्चा टिप्न नपाएकाले ठूलो समस्या भएको गुनासो आएपछि अहिलेलाई यार्चा टिप्न पाटन खुला गर्ने समझदारी भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालको भनाइ छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र सम्भव नहुने स्थितिमा यो समझदारी कार्यान्वयन नहुने अवस्था पनि आउन सक्ने उनले जानकारी दिए । कोरोना संक्रमण बढेर भयावह अवस्था आएको खण्डमा जिल्ला प्रशासन, जिल्ला संकट व्यवस्थापन समितिका तर्फबाट बिहीबार भएको पाटन खुला गर्ने निर्णय कार्यान्वयन नगर्ने गरी अर्को निर्णय हुने उनको भनाइ छ ।

अहिले पनि डोल्पा प्रवेशमा कडाइ छ । डोल्पा प्रवेश गर्न एन्टिजेनमार्फत कोरोना परीक्षण गरेको हुनुपर्ने र त्यसको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने सर्त लगाइएको छ । हवाई र स्थलमार्गबाट डोल्पा जानेका लागि यो सर्त वैशाख २० बाट कार्यान्वयन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यही सर्तअनुसार पनि यार्चा संकलनमा पुग्नेहरूलाई सहज नहुने अनुमान छ ।

प्रकाशित : वैशाख २०, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?