३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नागरिक एपमा ८० थरी सेवा थपिँदै

काठमाडौँ — आगामी ६ महिनाभित्र नागरिक एपमा ८० वटा सरकारी सेवा समावेश गर्ने गरी नागरिक एपको औपचारिक शुभारम्भ गरिएको छ । नेसनल आईसीटी डेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एप शुभारम्भ गरे । यसअघि परीक्षणका रूपमा (बेटा भर्सन) सार्वजनिक गरिएको थियो ।

नागरिक एपमा ८० थरी सेवा थपिँदै

एपमा रहेको क्यूआर कोड स्क्यान गरी बैंक खाता उद्घाटन गर्ने सुविधा उपभोग गरी प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेडमा खाता खोल्दै एपको शुभारम्भ भएको घोषणा गरे । मिल्ने जति सरकारी सेवा एकै एपमार्फत दिने दाबी गरिए पनि अहिले प्यान नम्बर र प्रहरी क्लियरेन्स रिपोर्ट लिन अनि तीनवटा बैंकमा क्यूआर कोड स्क्यान गरी खाता खोल्न सकिने सुविधा छ ।

एपमा स्थानीय निकायबाट प्रदान गरिने ४० वटा सेवा र अन्य सरकारी कार्यालयबाट दिइने ४० वटा सेवा ६ महिनाभित्र एकीकृत गर्ने गरी काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । एपबाट हुने सबै धेरैजसो सेवा क्यूआर कोडमा आधारित बनाउने तयारी भएको मन्त्रालयले जनाएको छ । आगामी केही सातामै यातायात कार्यालयमा बुझाउनुपर्ने सवारी कर र नवीकरण शुल्क पनि एपमार्फत तिर्न मिल्ने व्यवस्था गरिने मन्त्रालयले बताएको छ । केही सातामै मालपोत कार्यालयमा जग्गा रोक्का र फुकुवा गर्ने सुविधा पनि एपमा एकीकृत गर्ने तयारी छ ।

स्थानीय तहतर्फको सेवा भने काठमाडौं उपत्यकाका पालिकामार्फत एकीकृत गरी देशैभरका ७ सय ५३ वटै पालिकालाई जोड्ने मन्त्रालयको योजना छ । सुरुमा बढी भीड हुने सरकारी कार्यालयका सेवा एपमा समावेश गर्न प्राथमिकता दिइएको छ । लोकसेवाको परीक्षा भर्ने, सिमकार्ड लिनेजस्ता व्यक्तिगत विवरण भर्नुपर्ने कार्यालयको सेवालाई छिटो एकीकृत गर्न तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि जारी गरिएको बेटा भर्सनमा एपबाट प्यान नम्बर लिन सकिनेसहित आफ्नो नागरिकता, राहदानी र शैक्षिक विवरण हेर्न सकिने सुविधा थियो । अहिलेको एपमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकका कुनै पनि शाखामा एपबाट क्यूआर कोड स्क्यान गरी खाता खोल्न सकिने सुविधा छ । अन्य बैंकलाई एपमा समावेश गर्दै लैजाने योजना रहेको मन्त्रालयले जनाएको छ । एपमार्फत क्यूआर कोड स्क्यान गर्दा सम्बन्धित कार्यालयलाई आवश्यक पर्ने कागजातको विवरणको कपी एपमार्फत प्रदान गर्न सकिनेछ ।

एपमा हाललाई स्वास्थ्य बिमा समितिमा गरिएको आफ्नो बिमाको विवरण हेर्न मिल्ने, सामाजिक सुरक्षा कोषमा जम्मा रकम हेर्न मिल्ने, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको विवरण हेर्न मिल्ने सुविधा छ । अहिले एपबाट मालपोत कार्यालयको विवरण पनि हेर्न मिल्छ । एपबाटै आफ्नो लालपुर्जाको विवरण डाउनलोड गर्न सकिने र कित्ता नम्बरको विवरण हेर्न सकिन्छ । एप शुभारम्भका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भ्रष्टाचार न्यूनीकरणका लागि एप प्रभावकारी हुने दाबी गरे ।

चार व्यक्ति र संस्थालाई अवार्ड

राष्ट्रिय आईसीटी डेको अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चार व्यक्ति तथा संस्थालाई एक लाख रुपैयाँ राशिको अवार्ड दिएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) अध्यक्षलाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड दिइयो । चिनियाँ टेलिकम कम्पनी हुवावेको नेपाल कार्यालयलाई नेसनल आईसीटी अवार्ड प्राइभेट सेक्टर विधामा सम्मान गरियो । सूचना तथा प्रविधि क्षेत्रमा सक्रिय कुसुम लामालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमनबाट सम्मानित गरियो । सार्वजनिक निकायका तर्फबाट महालेखा नियन्त्रकको कार्यालयले अवार्ड पाएको छ । कार्यालयमा सूचना प्रविधिको उदाहरणीय प्रयोग गरेबापत यो अवार्ड दिइएको हो ।

प्रकाशित : वैशाख २०, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?