१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

४० किलो चामलले तीन कट्ठा घरघडेरी लिलाममा

झूटा तमसुक बनाएर गरिबको शोषण गर्ने क्रम रोकिएन
सुनिता बराल

महोत्तरी — भोक मेटाउन साहुबाट उधारोमा लिएको चामलले महोत्तरी धिरापुरकी तेतरीदेवी सहनीले कुनै दिन परिवारकै उठीबास हुन सक्छ भन्ने सोचेकी पनि थिइनन् । तर त्यही उधारो चामलले उनको परिवार अहिले बिखलबन्दमा छ ।

४० किलो चामलले तीन कट्ठा घरघडेरी लिलाममा

मटिहानी नगरपालिका–१ धिरापुरकी तेतरीले गाउँका साहु जगदीश साहसँग सात वर्षअघि ४० किलो चामल उधारो लिएकी थिइन् । त्यसबापत जगदीशले सादा कागजमा तेतरीको औंठाछाप लगाएका थिए । चामल लिएको एक वर्षपछि साहले पैसाको ताकेता गर्न थाले । तेतरीले गाउँकै अर्का व्यक्तिसँग ऋण मागेर २० हजार जगदीशलाई बुझाइन् । तर हिसाब चुक्ता भए होला भनेर सोचेकी तेतरीलाई एक वर्षपछि अर्को झड्का लाग्यो । २० हजार दिएको वर्ष दिनपछि फेरि जगदीशले तेतरीसँग ९ लाख लिनु छ भन्दै कागज देखाएर पैसा माग्न र धम्काउन थाले । खाँदै नखाएको ऋणको कागज देखाउँदा आफू छाँगाबाट खसे जस्तै भएको तेतरी बताउँछिन् ।

तेतरीले पटकपटक आफूले पैसा नलिएको र चामलको पैसा दिइसकेको भन्दै पञ्चायत राखिन् । पञ्चायतमा तेतरीले पैसा नतिर्ने बताएपछि जगदीशले तेतरीविरुद्ध एक वर्षअघि महोत्तरी जिल्ला अदालतमा मुद्दा नै हाले । तेतरीले फेरि पञ्चायत बोलाइन् । तेतरीबाट १ लाख लिएर गाउँ पञ्चायतले मुद्दा फिर्ता लिन आग्रह गरेपछि जगदीशले सहमति जनाउँदै गाउँलेकै अगाडि उनीसँग १ लाख रुपैयाँ लिए । ऋण गरेर जगदीशलाई १ लाख बुझाइसकेकी तेतरीविरुद्धको मुद्दा जगदीशले भने फिर्ता लिएनन् । अनेक जालसाजी कागजात पेस गरेर अदालतमा उनी झनै बलियो रूपमा उभिए । मुद्दा किनारा लाग्ने क्रममा अहिले महोत्तरी जिल्ला अदालतले तेतरीको तीन कट्ठामा रहेको घरघडेरी लिलाम गर्न आदेश दिएको छ । अदालतले समेत घर खाली गर्न पत्र दिएपछि आफू राज्यबाट समेत चरम अन्यायमा परेको तेतरी बताउँछिन् । जगदीशले आफूलाई पटक–पटक घरबाट निस्कन धम्की दिएकाले उनी अहिले जिल्ला प्रशासन कार्यालयदेखि अन्य निकाय र व्यक्तिलाई गुहार गरिरहेकी छन् ।

जिल्लामा जगदीशजस्तै मिटरब्याजीको समूह नै सक्रिय रहेका कारण गरिब तथा विपन्न समुदायको उठीबास लाग्दै आएको छ । महोत्तरीमा झूटा तमसुक बनाएर गरिबको शोषण गर्ने क्रम रोकिएको छैन । मिटरब्याजीको परिचय बनाएका धिरापुरका अर्का व्यक्ति विनोद साहको दबदबा अन्य पालिकामा समेत छ । विनोदले आफूमाथि अन्याय गरेको पिपरा गाउँपालिका अतराका रामसागर मण्डलको भनाइ छ ।

चार वर्षपहिले उनले घरव्यवहार चलाउन विनोदसँग डेढ लाख ऋण लिएका थिए । डेढ लाखको ब्याज जोड्दै ६ लाख रकम बुझाइसक्दा पनि विनोदले ४० लाख तिर्नुपर्ने भन्दै धम्क्याइरहेको मण्डलले बताए । अहिले विनोदले ४० लाख तिर्न दबाब दिँदै जेल जान तयार हुनू भनेर डर देखाउने गरेको मण्डलले गुनासो गरे । मटिहानी धिरापुर घर भएका मिटरब्याजी भनेर चिनिने एकै परिवारका जगदीश साह, विनोद साह र राजकुमार साहले धिरापुरको एकै टोलका गरिब तथा दलित २५ परिवारको उठीबास लगाउन खोजेको पीडित उर्मिला देवीको भनाइ छ ।

महोत्तरीकै भंगाहा नगरपालिकामा पनि मिटरब्याजी अनुरुद्ध साहको धन्दाले गरिब परिवारको उठीबास लागेको छ । मिटरब्याजी साहले नगरभित्रका करिब दुई सय घरपरिवारलाई झूटा र जालसाजी कागजपत्र बनाएर पैसा असुलिरहेका छन् । अनुरुद्धले गाउँलेमाथि झूटा कागज गरेर ऋणको भारी बोकाउने गरेको र गाउँका महिलामाथि यौनहिंसासमेत गरेको भनेर केही समयअघि प्रहरीमा उजुरीसमेत दिएका थिए । अहिले पनि भंगाहाका दर्जनौं गरिब परिवारविरुद्ध फर्जी कागजात बनाएर दर्ता गराएका मुद्दा जिल्ला अदालतमा विचाराधीन छन् ।

यस्ता धन्दा गर्ने जोकोहीलाई छानबिन गरी कारबाही गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । ठगिएँ भन्दै धेरै गरिब तथा विपन्न परिवार न्याय माग्न आउने गरेको जिल्ला प्रहरी कार्यालयले पनि बताएको छ । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले प्रहरीले उनीहरूका विषयमा केही गर्न नसकेको महोत्तरीका एसपी दिनेश आचार्यको भनाइ छ ।

प्रकाशित : वैशाख १८, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?