आफूखुसी मास्कको मूल्य तोक्दै व्यवसायी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफूखुसी मास्कको मूल्य तोक्दै व्यवसायी

मेल्टब्लोन फिल्टर पेपर भएका सर्जिकल मास्कको मूल्य दुई–तीन दिनयता बढाइयो
नुमा थाम्सुहाङ

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै बजारमा व्यापारीहरूले आफूखुसी मास्कको मूल्य बढाएका छन् । ५० थान हुने सर्जिकल मास्कको प्रतिप्याकेट मूल्य २ सय ५० पर्नेमा उनीहरूले अहिले ३ सय ५० देखि ४ सय रुपैयाँसम्म लिन थालेका छन् । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा गरेसँगै मास्कको मूल्य एकाएक बढाउन थालिएको हो ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द हुने र सर्वसाधारण खुला रूपमा हिँड्न नपाउने भएकाले मास्क किनेर स्टकमा राख्ने ग्राहकसमेत बढेको व्यवसायी बताउँछन् । कोभिडको दोस्रो लहरको संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिएकाले सरकारले बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न भनेको छ । त्यसैले उपभोक्ताले महँगोमै भए पनि मास्क किनिरहेका छन् । केही व्यापारीहरूले मास्कको कृत्रिम अभाव देखाई आफूखुसी मूल्य बढाएर उपभोक्ताहरूलाई महँगोमा मास्क बिक्री गरिरहेको रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए । ‘माग बढेकाले केही व्यापारीहरूले आफूखुसी मूल्य बढाएका हुन सक्छन्,’ उनले भने, ‘थोकमा प्रतिगोटा मास्क ३–५ रुपैयाँसम्म पर्छ ।’

चिनियाँ मेल्टब्लोन फिल्टर पेपर भएका सर्जिकल मास्कको मूल्य पहिलाको तुलनामा बढेको सर्जिकल व्यवसायी शिव खनालले स्विकारे । ‘माग बढेकाले बजारमा मास्क महँगिएको छ,’ उनले भने, ‘हामीलाई प्रतिगोटा मास्कमा ५० पैसादेखि १ रुपैयाँसम्म महँगो परिरहेको छ ।’ सामान ढुवानी बढेकाले समेत मास्कको मूल्यमा प्रभाव परेको उनले सुनाए । ठूला व्यापारीहरूबाट २/३ ठाउँबाट सामान लिनुपर्दासमेत लागत बढ्ने भएकाले मास्कको मूल्य बढेको उनको भनाइ छ ।

‘सरकारले निषेधाज्ञा लगाउने भनेपछि मास्क आपूर्तिमा समस्या भइरहेको छ,’ न्युरोडका एक फार्मेसी सञ्चालकले आफ्नो परिचय नखुलाउने सर्तमा भने, ‘हामीलाई पनि सप्लायर्सले जति मूल्य लगाउँछन्, त्यहीअनुसार बिक्री गर्छौं ।’ उनका अनुसार मंगलबार ३ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेको मास्क बुधबार चार सय रुपैयाँ पुगेको छ । पुरानै स्टकमा भएकाहरूले मात्र मास्क ५० थान हुने एक प्याकेट मास्क मूल्य २ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेको उनले सुनाए । आफ्नो नाम नखुलाउन चाहने अर्का फार्मेसी सञ्चालकले भने स्टकमा रहेको मास्क २ सय ५० रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिए । ‘मसँग पुरानै स्टक भएकाले पहिलेकै दरमा बिक्री गरिरहेको छु,’ उनले भने, ‘नयाँ मास्क आएपछि ३ सय ५० रुपैयाँ जति पुग्छ ।’ केही व्यापारीले भने स्टकमा रहेका मास्क नै मूल्य बढाएर बिक्री गरिरहेको उनको भनाइ छ ।

पहिलो पटक चीनमा कोभिड–१९ संक्रमण देखिएसँगै नेपालमा मास्क अभाव भएको थियो । त्यतिबेला पनि केही व्यवसायीले उपभोक्ताहरूलाई महँगोमा मास्क बिक्री गरेका थिए ।

प्रकाशित : वैशाख १७, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना तीव्र बनेपछि क्षमता बढाउँदै स्वदेशी मास्क उद्योग

उद्योगीले लगानी मात्र थपेका छैनन्, नयाँनयाँ मेसिन पनि भित्र्याइरहेका छन् 
नुमा थाम्सुहाङ

काठमाडौँ — सर्जिकल मास्कको माग बढेपछि स्वदेशी उद्योगहरूले आफ्नो उत्पादन क्षमता बढाइरहेका छन् । कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै बजारमा फेस मास्कको माग बढेकाले उद्योगहरूले उत्पादन बढाउन लागेका हुन् ।


बज्र ग्रुपअन्तर्गतको बज्र हेल्थ एन्ड केयर प्रालिले ललितपुरको ढोलाहिटीबाट चार महिनादेखि ‘बज्र मास्क’ उत्पादन गरिरहेको छ । कम्पनीले अबको १/२ दिनमा उत्पादन क्षमता बढाएर दैनिक एक लाख ७५ हजार थान सर्जिकल मास्क बनाउने तयारी गरिरहेको छ । मास्क उत्पादनका लागि अहिलेसम्म ५० करोड रुपैयाँ लगानी भइसकेको उद्योगका सञ्चालक प्रकाश बज्राचार्यले बताए ।

एउटा म्यानुअल मेसिनको पूर्ण क्षमता ७५ हजार थान भए पनि उद्योगले अहिले दैनिक ५०–६० हजार थान मात्र सर्जिकल मास्क बनाइरहेको छ । ‘१/२ दिनमा नयाँ अटोमेटिक मेसिन जडान गर्दै छौं,’ उनले भने, ‘यसको उत्पादन क्षमता १ लाख थान छ । यसपछि भने दुवै मेसिनबाट दैनिक १ लाख ७५ हजार थान मास्क बनाउँछौं ।’ कोभिड–१९ को दोस्रो लहर बढेसँगै तराईका जिल्लाबाट सर्जिकल मास्कको माग भइरहेको उनले सुनाए । वीरगन्ज, भैरहवा, बुटवललगायत कोभिडका संक्रमित धेरै देखिएका ठाउँबाट मास्कको धेरै माग भएको उनले सुनाए ।

‘कोभिड सुरु हुनुभन्दा पहिला नै मास्क उद्योग चलाउने सोच थियो,’ उनले भने, ‘यसैबीचमा लकडाउन भयो । चीनबाट मेसिन मगाएका थियौं । त्यो आउन सकेन । कच्चा पदार्थ भए पनि बनाउन नसकेपछि २०७७ माघदेखि मास्क बनाउने काम सुरु गरेका हौं ।’ मेल्टब्लोन फिल्टर पेपर प्रयोग गरेर तीन तहको सर्जिकल मास्क बनाइरहेको बज्र उद्योगले ६ जनालाई रोजगारीसमेत दिएको छ ।

५० थान भएको एउटा प्याकको २ सय ५० रुपैयाँमा खुद्रा बिक्रेतालाई उपलब्ध गराइने उद्योगका बजार प्रमुख समीर ढुंगानाले जानकारी दिए । ‘बाहिर खुद्रामा किन्दा उपभोक्तालाई १० रुपैयाँ पर्छ,’ उनले भने, ‘हामीले उत्पादन गरेको मास्कको गुणस्तर राम्रो भएकाले यहाँकै बजारबाट माग धेरै नै आइरहेको छ ।’

काठमाडौंको बाफलस्थित बजरंग अल साइट सप प्रालिले पनि ‘दीर्घायु मास्क’ उत्पादन गरिरहेको छ । २०७७ असारदेखि सुरु भएको यो कम्पनीले केएन ९५ मास्क मात्र उत्पादन गरिरहेको छ । उद्योगमा निश्चल अग्रवाल र दीपक खनालको डेढ करोड रुपैयाँ लगानी छ । ‘हामीले अल्फा केयर प्रालिसँगको सहकार्यमा केएन ९५ दीर्घायु मास्क बनाइरहेका छौं,’ अग्रवालले भने, ‘बाफलमा मास्कको फ्याक्ट्री छ । मास्कको सबै व्यवस्थापन अल्फाले हेरिरहेको छ ।’

एउटा म्यानुअल मेसिनबाट दैनिक ५–१० हजार थान केएन ९५ मास्क बनाइरहेको उनले जानकारी दिए । ‘यो मेसिनको क्षमता दैनिक ३० हजार थान बनाउनेछ,’ उनले भने, ‘माग बढेकाले पूर्ण क्षमतामै जाने तयारी गरिरहेका छौं ।’ उद्योगले ५० जनालाई रोजगार दिएको छ । हालसम्म उद्योगले करिब ४ लाख थान मास्क बजारमा पुर्‍याइसकेको छ । ‘सर्जिकल मास्क जस्तो यसको प्रयोग कम पाइन्छ,’ उनले भने, ‘तर अहिले कोभिडको संक्रमित बढेकाले धेरैले केएन ९५ मास्कको माग गरिरहेका छन् ।’

दीर्घायु केएन ९५ मास्कको थोक मूल्य १५ र २० रुपैयाँ रहेको उद्योगका प्रशासक निर्मल वाग्लेले जानकारी दिए । ‘बजारमा २५ रुपैयाँसम्ममा पाइन्छ,’ उनले भने, ‘पहिला यो मास्क १ सय ५० रुपैयाँसम्म बजारमा पाइन्थ्यो । अहिले सहज उपलब्ध हुने भएकाले मूल्य घटेको छ ।’ चीनबाट आउने मास्कको तुलनामा यहाँ उत्पादित मास्कको गुणस्तर पनि राम्रो भएकाले माग बढेको उनी सुनाउँछन् ।

‘मेल्टब्लोन पेपर, प्याबरिक, इयर लुप, फिल्टर भल्ब र नोज लुप मास्कका कच्चा पदार्थ चीनबाट आयात हुन्छन्,’ वाग्लेले भने, ‘मास्कमा मेल्टब्लोन पेपर प्रमुख हो । किनभने यसले कीटाणुहरूलाई फिल्टर गर्ने काम गर्छ ।’ मास्कका लागि चाहिने कच्चा पदार्थहरूमा सरकारले भन्सार कर लिने भएकाले यसमा छुट गरिनुपर्ने उद्योगीहरू बताउँछन् । मास्क र स्वास्थ्यसँग सम्बन्धित सामग्री अत्यावश्यक भएकाले करहरूमा छुट गरिनुपर्ने वाग्लेको भनाइ छ ।

कोभिड–१९ को संक्रमणपछि कच्चा पदार्थ आयात गरी यहाँ मास्क उत्पादन गर्ने उद्योगको संख्या बढेको छ । साना–ठूला कम्पनीले मास्क उत्पादन गरिरहेको निर्यात व्यवसायी महसंघ नेपालका उपाध्यक्ष चण्डीप्रसाद अर्यालले जानकारी दिए । १४/१५ वटा गार्मेन्ट उद्योगले मास्क बनाइरहेको गार्मेन्ट एसोसिएसन अफ नेपालका महासचिव अशोक अग्रवालको भनाइ छ ।

प्रकाशित : वैशाख १४, २०७८ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×