कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चट्टानले रोक्यो कर्णाली करिडोर

मौसम पनि बाधक 
ट्य्राक खोल्न बाँकी खण्ड निर्माणको जिम्मा सेनालाई दिन माग
जनकबहादुर शाही

सिमकोट — कर्णाली करिडोर निर्माणमा विभिन्न ६ स्थानमा रहेका चट्टाने भीर चुनौती बनेका छन् । नेपाली सेनाले निर्माणको जिम्मा लिए पनि काम अघि बढ्न सकेको छैन । करिडोरअन्तर्गत हिल्सा–सिमकोट खण्डमा सबैभन्दा ठूलो चट्टानी खण्ड च्याछरा भीर हो । ७ सय मिटर लामो उक्त भीरमा अहिले ४ सय मिटर ट्य्राक खोलिसकिएको छ ।

चट्टानले रोक्यो कर्णाली करिडोर

असारसम्म पूरै ट्य्राक खोल्ने गरी काम भइरहेको हिल्सा–सिमकोट सडक योजना कार्यालयले जनाएको छ । यसबाहेक ५ सय मिटर लामो दुलिकुना भीर, एक किलोमिटर लामो छारे, ३ सय ५० मिटर लामो सुनाखाडा, ५ सय मिटर लामो लालीबगर र ५० मिटर लामो बोक्चेगौडा भीर करिडोर निर्माणमा चुनौती बनेका आयोजना कार्यालय प्रमुख विष्णुदास लामाले बताए । २०७२ मंसिरमा श्रीजयन्ती एडी जेभीले च्याछरा खण्ड निर्माणको जिम्मा लिएको थियो । विस्फोटको जिम्मा भने नेपाली सेनालाई दिइएको उनको भनाइ छ । बोक्चेगौडको चट्टान फोडेर मेसिन पास भइसकेकाले अब काम द्रुतगतिमा अगाडि बढ्ने उनले बताए ।

कर्णाली करिडोर निर्माणमा चट्टाने भीरका साथै यहाँको मौसम पनि बाधक हुने गरेको छ । चिसोका कारण मंसिरदेखि चैतसम्म काम हुन सक्दैन । चट्टान फोर्न आवश्यक विस्फोटक पदार्थ नेपाली सेनाको बारुदखानाबाट सहज रूपमा ल्याउन पनि प्रक्रियागत झन्झट हुने गरेको छ । पछिल्लो समय कोरोना महामारीको कारण हिल्सा नाका बन्द भएकाले निर्माण सामग्री ल्याउन पनि नसकिएको आयोजना प्रमुख लामाले जानकारी दिए ।

यस्तो अवस्थामा ट्य्राक खोल्न बाँकी खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिन स्थानीयको माग छ । सरकारले भने चट्टान खण्ड कम रहेको भन्दै आयोजना कार्यालयमार्फत काम गराइरहेको छ । नेपाली सेनाले ६ वर्षअघि कालीकोटको खुलालुदेखि सरिसल्लासम्म १ सय २३ किलोमिटर खण्डको निर्माण जिम्मा लिएको थियो । उक्त खण्डको ट्र्याक खुलेसँगै हुम्लाका ताजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।

आगामी असारसम्म आफूले जिम्मा लिएको सडकखण्ड सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी मिलन कार्कीले बताए । ‘एक–दुई ठाउँमा साँघुरो सडक फराकिलो पार्ने र जिरो प्वाइन्टमा बेलिब्रिज जडान गर्ने काम बाँकी छ,’ उनले भने, ‘एक महिनाभित्र काम सकिएपछि हस्तान्तरण गरिनेछ ।’

कर्णाली करिडोरअन्तर्गत खुलालु–सिमकोट सडकखण्डको लम्बाइ १७३ किलोमिटर छ । त्यसमध्ये करिब १६ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । सिमकोट–हिल्सा ९५ किलोमिटर लामो खण्डमा पनि च्याछरामा रहेको ३ सय मिटर खण्ड मात्र ट्य्राक खोल्न बाँकी छ । अहिले हिल्सादेखि दुल्लीकुना खण्डमा १० वटा प्याकेजमा निर्माण कम्पनीसँग सम्झौता गरी काम भइरहेको लामाको भनाइ छ । करिब ९८ लाख २७ हजारमा सम्झौता भएकोमा हालसम्म ५० करोड खर्च भइसकेको उनले बताए ।

चार पुल निर्माणाधीन

कर्णाली करिडोरको हुम्ला खण्डमा चार वटा पुल निर्माणाधीन छन् । सल्लीखोला पुलका दायाँबायाँतर्फको बिमको ढलान भएको छ । हेप्काखोला र तागरुखोला पुलको फाउन्डेसन र बिम उठाउने काम सकिएको छ । यी तीनै पुलको लागत १०/१० करोड रुपैयाँ रहेको आयोजना प्रमुख लामाले बताए । ५

करोड रुपैयाँ लागतको याङ्गार खोला पुलको फाउन्डेसनको काम हालै सुरु भएको छ । यी पुल बनेपछि करिडोरमा बाह्रैमास सवारी आवतजावतमा सहज हुने उनको भनाइ छ । आयोजना कार्यालयका अनुसार हिल्सादेखि बाजुराको कवाडीसम्म १४ वटा पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये कवाडी, गल्फागाड र तुमकोटमा पुल निर्माण भइसकेको आयोजना प्रमुख लामाले जानकारी दिए ।

प्रकाशित : वैशाख १४, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?