३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोना तीव्र बनेपछि क्षमता बढाउँदै स्वदेशी मास्क उद्योग

उद्योगीले लगानी मात्र थपेका छैनन्, नयाँनयाँ मेसिन पनि भित्र्याइरहेका छन् 
नुमा थाम्सुहाङ

काठमाडौँ — सर्जिकल मास्कको माग बढेपछि स्वदेशी उद्योगहरूले आफ्नो उत्पादन क्षमता बढाइरहेका छन् । कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै बजारमा फेस मास्कको माग बढेकाले उद्योगहरूले उत्पादन बढाउन लागेका हुन् ।

कोरोना तीव्र बनेपछि क्षमता बढाउँदै स्वदेशी मास्क उद्योग

बज्र ग्रुपअन्तर्गतको बज्र हेल्थ एन्ड केयर प्रालिले ललितपुरको ढोलाहिटीबाट चार महिनादेखि ‘बज्र मास्क’ उत्पादन गरिरहेको छ । कम्पनीले अबको १/२ दिनमा उत्पादन क्षमता बढाएर दैनिक एक लाख ७५ हजार थान सर्जिकल मास्क बनाउने तयारी गरिरहेको छ । मास्क उत्पादनका लागि अहिलेसम्म ५० करोड रुपैयाँ लगानी भइसकेको उद्योगका सञ्चालक प्रकाश बज्राचार्यले बताए ।

एउटा म्यानुअल मेसिनको पूर्ण क्षमता ७५ हजार थान भए पनि उद्योगले अहिले दैनिक ५०–६० हजार थान मात्र सर्जिकल मास्क बनाइरहेको छ । ‘१/२ दिनमा नयाँ अटोमेटिक मेसिन जडान गर्दै छौं,’ उनले भने, ‘यसको उत्पादन क्षमता १ लाख थान छ । यसपछि भने दुवै मेसिनबाट दैनिक १ लाख ७५ हजार थान मास्क बनाउँछौं ।’ कोभिड–१९ को दोस्रो लहर बढेसँगै तराईका जिल्लाबाट सर्जिकल मास्कको माग भइरहेको उनले सुनाए । वीरगन्ज, भैरहवा, बुटवललगायत कोभिडका संक्रमित धेरै देखिएका ठाउँबाट मास्कको धेरै माग भएको उनले सुनाए ।

‘कोभिड सुरु हुनुभन्दा पहिला नै मास्क उद्योग चलाउने सोच थियो,’ उनले भने, ‘यसैबीचमा लकडाउन भयो । चीनबाट मेसिन मगाएका थियौं । त्यो आउन सकेन । कच्चा पदार्थ भए पनि बनाउन नसकेपछि २०७७ माघदेखि मास्क बनाउने काम सुरु गरेका हौं ।’ मेल्टब्लोन फिल्टर पेपर प्रयोग गरेर तीन तहको सर्जिकल मास्क बनाइरहेको बज्र उद्योगले ६ जनालाई रोजगारीसमेत दिएको छ ।

५० थान भएको एउटा प्याकको २ सय ५० रुपैयाँमा खुद्रा बिक्रेतालाई उपलब्ध गराइने उद्योगका बजार प्रमुख समीर ढुंगानाले जानकारी दिए । ‘बाहिर खुद्रामा किन्दा उपभोक्तालाई १० रुपैयाँ पर्छ,’ उनले भने, ‘हामीले उत्पादन गरेको मास्कको गुणस्तर राम्रो भएकाले यहाँकै बजारबाट माग धेरै नै आइरहेको छ ।’

काठमाडौंको बाफलस्थित बजरंग अल साइट सप प्रालिले पनि ‘दीर्घायु मास्क’ उत्पादन गरिरहेको छ । २०७७ असारदेखि सुरु भएको यो कम्पनीले केएन ९५ मास्क मात्र उत्पादन गरिरहेको छ । उद्योगमा निश्चल अग्रवाल र दीपक खनालको डेढ करोड रुपैयाँ लगानी छ । ‘हामीले अल्फा केयर प्रालिसँगको सहकार्यमा केएन ९५ दीर्घायु मास्क बनाइरहेका छौं,’ अग्रवालले भने, ‘बाफलमा मास्कको फ्याक्ट्री छ । मास्कको सबै व्यवस्थापन अल्फाले हेरिरहेको छ ।’

एउटा म्यानुअल मेसिनबाट दैनिक ५–१० हजार थान केएन ९५ मास्क बनाइरहेको उनले जानकारी दिए । ‘यो मेसिनको क्षमता दैनिक ३० हजार थान बनाउनेछ,’ उनले भने, ‘माग बढेकाले पूर्ण क्षमतामै जाने तयारी गरिरहेका छौं ।’ उद्योगले ५० जनालाई रोजगार दिएको छ । हालसम्म उद्योगले करिब ४ लाख थान मास्क बजारमा पुर्‍याइसकेको छ । ‘सर्जिकल मास्क जस्तो यसको प्रयोग कम पाइन्छ,’ उनले भने, ‘तर अहिले कोभिडको संक्रमित बढेकाले धेरैले केएन ९५ मास्कको माग गरिरहेका छन् ।’

दीर्घायु केएन ९५ मास्कको थोक मूल्य १५ र २० रुपैयाँ रहेको उद्योगका प्रशासक निर्मल वाग्लेले जानकारी दिए । ‘बजारमा २५ रुपैयाँसम्ममा पाइन्छ,’ उनले भने, ‘पहिला यो मास्क १ सय ५० रुपैयाँसम्म बजारमा पाइन्थ्यो । अहिले सहज उपलब्ध हुने भएकाले मूल्य घटेको छ ।’ चीनबाट आउने मास्कको तुलनामा यहाँ उत्पादित मास्कको गुणस्तर पनि राम्रो भएकाले माग बढेको उनी सुनाउँछन् ।

‘मेल्टब्लोन पेपर, प्याबरिक, इयर लुप, फिल्टर भल्ब र नोज लुप मास्कका कच्चा पदार्थ चीनबाट आयात हुन्छन्,’ वाग्लेले भने, ‘मास्कमा मेल्टब्लोन पेपर प्रमुख हो । किनभने यसले कीटाणुहरूलाई फिल्टर गर्ने काम गर्छ ।’ मास्कका लागि चाहिने कच्चा पदार्थहरूमा सरकारले भन्सार कर लिने भएकाले यसमा छुट गरिनुपर्ने उद्योगीहरू बताउँछन् । मास्क र स्वास्थ्यसँग सम्बन्धित सामग्री अत्यावश्यक भएकाले करहरूमा छुट गरिनुपर्ने वाग्लेको भनाइ छ ।

कोभिड–१९ को संक्रमणपछि कच्चा पदार्थ आयात गरी यहाँ मास्क उत्पादन गर्ने उद्योगको संख्या बढेको छ । साना–ठूला कम्पनीले मास्क उत्पादन गरिरहेको निर्यात व्यवसायी महसंघ नेपालका उपाध्यक्ष चण्डीप्रसाद अर्यालले जानकारी दिए । १४/१५ वटा गार्मेन्ट उद्योगले मास्क बनाइरहेको गार्मेन्ट एसोसिएसन अफ नेपालका महासचिव अशोक अग्रवालको भनाइ छ ।

प्रकाशित : वैशाख १४, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?