दुई दिनमा १४१ अंक घट्यो नेप्से

निषेधाज्ञामा सेयर कारोबार गर्न नेप्सेको ७ बुँदे निर्देशन

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ६५.५८ अंक घट्यो । अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले घटेर नेप्से २ हजार ५ सय ६.६१ विन्दुमा बन्द भएको हो । आइतबार पनि उच्च अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्यायो ।

दुई दिनमा १४१ अंक घट्यो नेप्से

सोमबार सुरुदेखि घटेको नेप्से मध्याह्नमा केही सुधारिए पनि अन्तिम समयमा निरन्तर घटेर बन्द भएको हो । कारोबारमा आएको सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

नेप्से घटेपछि क वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.४२ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक २.५५ प्रतिशतले घटेको छ । कुल बजार पुँजीकरण पनि घटेर ३४ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ । सोमबार करिब ८६ हजार ९२ वटा कारोबारबाट २ सय २० कम्पनीका १ करोड २९ लाख कित्ता सेयर किनबेच भए । ती कारोबारमा ६ अर्ब ५९ करोड ९ लाख २८ हजार रुपैयाँ परिचालन भएको छ ।

आइतबार नेप्से करिब ७६ अंकले घट्दा २ हजार ५ सय ७२ विन्दुमा बन्द भएको थियो । सो दिन ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरका १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता सेयर किनबेच भए । सोमबार बैंकिङ उपसमूहको परिसूचक २.२९, व्यापारको ३.५८, होटल्स तथा पर्यटनको २.१२, विकास बैंकको ३.१३, वित्त कम्पनीको २.२४ र निर्जीवन बिमाको ३.०२ प्रतिशतले घट्यो । यसैगरी उत्पादन तथा प्रशोधनको १.७७, अन्यको २.७५, लघुवित्तको २.२, जीवन बिमाको २.१५, सामूहिक लगानी कोषको ०.८१ र लगानी समूहको परिसूचक २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यसैबीच कोभिडको दोस्रो लहरको संक्रमणबाट बच्न काठमाडौं उपत्यकामा सरकारले लकडाउन (निषेधाज्ञा) गर्ने निर्णय गरेसँगै नेप्सेले पनि ब्रोकरहरूलाई सातबुँदे निर्देशन दिएको छ । निर्देशनमा विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षणका उपाय प्रभावकारी रूपमा अवलम्बन गर्न भनिएको छ । साथै अनलाइनमार्फत कारोबार गर्नुपर्नेमा जोड दिइएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले सम्भव भएसम्म भौतिक उपस्थिति कम गर्न पनि भनिएको छ । ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि सकेसम्म भौतिक उपस्थिति सम्भव भएसम्म कम गर्ने,’ निर्देशनमा भनिएको छ, ‘नेप्सेमा बुझाउनुपर्ने कागजात विद्युतीय माध्यम इमेलमार्फत पठाउने ।’ सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव भौतिक आवगमनलाई कम गर्न आग्रह गरिएको छ । कोरोना संक्रमण जोखिमलाई दृष्टिगत गरी सेयर बिक्रीको रकम लिन भौतिक रूपमा ब्रोकर कार्यालय उपस्थित हुनुपर्दैन ।

ब्रोकरहरूले पेस गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंकमार्फत इमेल पठाउन लगाउने र त्यसको जानकारी यी दुई नेप्सेलाई दिन पनि निर्देशनमा भनिएको छ । संस्थापक सेयर कारोबार गर्न तथा गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेस गर्नुपर्ने पनि निर्देशन छ । सदस्यले नेप्सेबाट पाएका पत्रको प्रत्युत्तर एवं सदस्यसँग सम्बन्धित अन्य कुनै पनि विवरण एवं जानकारी गराउँदा वा पत्राचार गर्दा नेप्सेको आधिकारिक इमेलमा पठाउनुपर्ने नेप्सेले जनाएको छ ।

प्रकाशित : वैशाख १४, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?