१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लम्ब्याइँदै मदन भण्डारी लोकमार्ग

१२६० किमि लामो सडक १३६० किमि पुर्‍याइने, हालसम्म ६६७ किमि कालोपत्र पूरा
दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले मदन भण्डारी लोकमार्गको लम्बाइ बढाएर १ हजार ३ सय ६० किलोमिटर पुर्‍याउने भएको छ । हाल १ हजार २ सय ६० किमि लामो यो लोकमार्गलाई थप सय किमि लम्ब्याउने तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

लम्ब्याइँदै मदन भण्डारी लोकमार्ग

गुल्मीको रिडीदेखि प्यूठान, रोल्पा हुँदै सुर्खेतसम्मको केही खण्डलाई लोकमार्गमा थप्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘केही दिनभित्रै यो निर्णय हुँदै छ,’ उनले भने ।

२०७५ जेठ ६ मा सरकारले चुरे तथा भित्री मधेसका उपत्यकालगायत मुलुकका प्रमुख सहर धरान, गाईघाट, हेटौंडा, भरतपुर, घोराही, सुर्खेत हुँदै डडेलधुराको रूपालमा गएर टुंगिने गरी लोकमार्ग बनाउन थालेको थियो । हेटौंडापूर्वको अधिकांश खण्डको काम सकिने चरणमा रहेको मदन भण्डारी सडक आयोजनाले जनाएको छ । हाल लोकमार्गको ४ सय ९३ किमि सडक विभाग र ७ सय ७७ किमि आयोजनाले निर्माण गरिरहेको आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले बताए । ‘पुल निर्माण, ठेक्का, कालोपत्र गर्ने काम धमाधम भइराखेको छ,’ उनले भने, ‘पश्चिम खण्डको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ ।’

चुरे तथा भित्री मधेसमा रहेका बस्ती विकासका लागि सडक यातायात पुर्‍याउन सरकारले यो लोकमार्ग बनाउन थालेको थियो । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चुरे क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्न आवश्यक देखिएपछि लोकमार्गको योजना बनेको हो,’ उनले भने । सडक बनेपछि चुरे क्षेत्र आसपासका चुनढुंगा, कोइला, फलामलगायत खानी सञ्चालनको प्रशस्त सम्भावना रहनेछ । प्रमुख सहर जोडिने भएकाले त्यहाँका उत्पादित वस्तुले बजार पाउनेछन् । ती सहरमा औद्यौगिकलगायत आर्थिक गतिविधि बढ्ने उनको दाबी छ ।

अब झापाको बाहुनडाँगीबाट सुरु भई डडेलधुराको रूपालसम्म करिब १ हजार ३ सय ६० किमि सडक हुने उनले बताए । यो लोकमार्गले धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाढी, मकवानपुरको हेटौंडा, पूर्वी नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी, रोल्पा, प्यूठान हुँदै सुर्खेत जोड्नेछ  । गुल्मीको तम्घास, सिमलटारी, प्यूठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, बीपीनगर, कैलालीको सहजपुर, बुडर, जोगबुढा हुँदै रूपालसम्म पुग्नेछ ।

दुई लेन प्रस्ताव गरिएको यो सडक निर्माणको लागत ५ अर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएको छ । सडक ठाउँठाउँमा मध्यपहाडी, पूर्वपश्चिम राजमार्ग र धरान–चतरा राजमार्गका विभिन्न खण्डमा जोडिनेछ । प्रमुख श्रेष्ठका अनुसार धरान–चतरा–गाईघाट–सिन्धुलीमाढी–हेटौंडा खण्ड निर्माणकार्य तीव्र पारिएको छ । हेटौंडादेखि गैंडाकोटसम्म पूर्व–पश्चिम राजमार्ग नै प्रयोग हुनेछ । गैंडाकोटबाट पाल्पाको रामपुर हुँदै लोकमार्गले गुल्मी जोड्नेछ । यो खण्ड कालोपत्र भइसकेको छ । सिन्धुली–हेटौंडा खण्डको १ सय २ किमि र ३३ वटा पुलको पनि निर्माण भइसकेको छ । धरान–झापा खण्डमा ४९ वटा पुल नेपाल सरकारले निर्माण गरे पनि विश्व बैंकबाट रकम शोधभर्ना हुने गरी बनाइएको हो । आयोजनाका अनुसार लोकमार्गअन्तर्गत ६६७ किमि सडक कालोपत्र भइसकेको छ ।

केही खण्डमा डीपीआर बाँकी रहे पनि यसै वर्ष काम सुरु हुने आयोजनाले जनाएको छ  । केही खण्डमा नयाँ ट्र्याक खोल्नुपर्नेछ । केही खण्डमा स्तरोन्नति मात्रै गरे पुग्ने श्रेष्ठले बताए । पश्चिम क्षेत्रअन्तर्गत विभिन्न खण्ड निर्माणका लागि कार्यालय स्थापना गरी निर्माणको प्रक्रिया थालिएको छ । लोकमार्गअन्तर्गत विभिन्न खण्डमा अहिले पनि सवारी साधन चलिरहेका छन् ।

प्रकाशित : वैशाख १२, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?