४ करोडको मास्क निर्यात

चालु आर्थिक वर्षको नौ महिनामा मास्क आयातबाट १० करोड ५ लाख ७४ हजार रुपैयाँ बराबर भन्सार महसुल संकलन
नुमा थाम्सुहाङ

काठमाडौँ — स्वदेशी उद्योगहरूले उत्पादन गरेको फेस मास्क निर्यात हुन थालेको छ । चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) सम्ममा ४ करोड १४ लाख ६७ हजार रुपैयाँ बराबरको फेस मास्क निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

४ करोडको मास्क निर्यात

यसमा ८ लाख ९७ हजार ४ सय ८७ थान र १ सय ६० केजी फेस मास्क निर्यात भएको हो । मास्क कुनै थान र कुनै केजीमा निर्यात भएको विभागको तथ्यांक छ ।

यसमध्ये सबैभन्दा धेरै मंसिरमा १ करोड १२ लाख २२ हजार रुपैयाँ बराबरको ३ लाख १६ हजार २ सय ८५ थान फेस मास्क निर्यात भएको तथ्यांकले बताउँछ । कात्तिकमा १ करोड ५ लाख ९७ हजार रुपैयाँ बराबरको ३ लाख ८ सय थान र भदौमा १ करोड ८५ लाख ४ हजार रुपैयाँ बराबरको २ लाख ६७ हजार ३ सय थान फेस मास्क बाहिर गएको छ । यसमा साउनमा मात्र ५ लाख ९ हजार रुपैयाँ बराबरको १ सय ६० केजी मास्क निर्यात भएको छ । माघमा भने मास्क निर्यात भएको छैन । असोज, पुस, फागुन र चैतमा केही थान मात्र फेस मास्क देश बाहिर गएको विभागको तथ्यांक छ ।

नेपालमा उत्पादित फेस मास्क निर्यात हुने देशहरूमा भुटान, फ्रान्स, जर्मनी, जापान, बेलायत, यूएई र अमेरिका छन् । साना–ठूला कम्पनीहरूले माक्स बनाइरहेको निर्यात व्यवसायी महसंघ नेपालका उपाध्यक्ष चण्डीप्रसाद अर्यालले जानकारी दिए । ‘यहाँ नै मास्क बन्ने भएकाले आयात कम गर्नेतर्फ गइरहेका छौं,’ उनले भने, ‘केही कम्पनीले बनाएका मास्क विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार निर्यात भइरहेका छन् ।’

केएन–९५ र डिस्पोजेबल मास्क निर्यात भइरहेको रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए । ‘संक्रमण बढे पनि मास्कको अभाव हुने स्थिति छैन,’ उनले भने, ‘यहाँ पनि धेरै उद्योगहरूले मास्क उत्पादन सुरु गरिसकेका छन् । बाहिरबाट पनि सहज रूपमा मास्क आइरहेको छ ।’

१४/१५ वटा गार्मेन्ट उद्योगले मास्क बनाइरहेको गार्मेन्ट एसोसिएसन अफ नेपालका महासचिव अशोक अग्रवालले जानकारी दिए । ‘एसोसिएसनअन्तर्गत ४० वटा गार्मेन्ट उद्योग सदस्य छन्,’ उनले भने, ‘केही कम्पनीले मात्र मास्क बनाएर निर्यात गरिरहेका छन् । हाम्रै सदस्यले भने मास्क निर्यात गरिरहेको जानकारीमा आएको छैन ।’

२०७६ माघ ५ देखि फागुन १९ गतेसम्म ४३ लाख १७ हजार थान मास्क निर्यात भएको थियो । चीन र हङकङतर्फ निर्यात गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । त्यति बेला नेपालमा चीनबाट आयात हुने मास्क भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगेका थिए । कोभिड–१९ को संक्रमणबाट सर्जिकल मास्कको माग बढेपछि चिनियाँ नागरिकले यहाँ सर्जिकल स्टोरहरूबाट मास्क खरिद गरी आफ्नै मुलुक लगेका थिए । विभागले चालु आर्थिक वर्षदेखि मात्र मास्कको तथ्यांक राख्न थालेको हो । कोभिड–१९ को महामारीपछि मास्कको व्यापार देखिएकाले तथ्यांक राख्न थालिएको विभागले बताएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा ५६ करोड १३ लाख ९१ हजार रुपैयाँ बराबरको फेस मास्क आयात भएको छ । यसमा १० करोड ३९ लाख ३६ हजार ८३ थान र २७ हजार १ सय ७१ केजी फेस मास्क आयात भएको विभागको तथ्यांकमा छ । यसबाट विभागले १० करोड ५ लाख ७४ हजार रुपैयाँ बराबर भन्सार महसुल संकलन गरेको छ ।

प्रकाशित : वैशाख ११, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?