१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भित्रिने लगानीभन्दा बाहिरिने लाभांश बढी

तीन वर्षमा करिब ४४ अर्ब विदेशी लगानी भित्रिँदा लाभांशबापत साढे ८४ अर्ब रूपैयाँ बाहिरियो
यज्ञ बञ्जाडे

काठमाडौँ — पछिल्ला वर्षमा मुलुक भित्रिने विदेशी लगानीभन्दा धेरै लाभांश (प्रतिफल) बाहिरिँदै आएको छ । अपेक्षित रूपमा लगानी बढ्न नसकिरहेका बेला विदेशी लगानी रहेका व्यवसायले राम्रो प्रतिफल आर्जन गरिरहेकाले भित्रिनेभन्दा बाहिरिने रकम धेरै भएको जनाइएको छ ।

भित्रिने लगानीभन्दा बाहिरिने लाभांश बढी

गत तीन वर्षमा नेपाल भित्रिएको कुल प्रत्यक्ष विदेशी लगानीभन्दा सो अवधिमा मुलुकबाट बाहिरिएको लाभांश दोब्बर छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ सम्मको विदेशी लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म नेपालमा करिब ४४ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । सोही अवधिमा लाभांशबापत साढे ८४ अर्ब रुपैयाँ बाहिरिएको छ । यो अवधिमा बाहिरिएको लाभांश सोही अवधिमा भित्रिएको लगानीले मात्र कमाएको भन्ने हुँदैन । विगतमा आएको लगानीले कमाएको लाभांश पनि अहिले गएको हुन सक्छ । तर पछिल्ला वर्षमा भित्रिने लगानी घट्दो छ भने बाहिरिने लाभांश बढ्दो । यसकारण यसलाई भित्रिने लगानीभन्दा बाहिरिने लाभांश बढी भएको रूपमा विश्लेषण गरिएको हो ।

पछिल्ला चार वर्षमा नेपालबाट बाहिरिएको लाभांश आर्थिक वर्ष २०७५/७६ सम्म नेपाल आएको कुल विदेशी लगानी (चुक्ता पुँजीका आधारमा) भन्दा बढी हो । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म लगानीमा रहेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कुल १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ छ । यो सबै रकम विदेशबाट आएको होइन । त्यसमध्ये चुक्ता पुँजीका रूपमा रहेको रकम मात्र विदेशबाट आएको हो । बाँकी रकम लाभांश र कर्जाबापतको हो । आर्थिक वर्ष २०७५/७६ सम्म नेपाल भित्रिएको विदेशी लगानीमा ८८ अर्ब १५ करोड रुपैयाँ मात्र चुक्ता पुँजी छ ।

सोही अवधिमा विदेशी लगानी रहेका आयोजनाको सञ्चित कोषमा ७८ अर्ब ३६ करोड रुपैयाँ र कर्जा (आयोजनाले विदेशबाट लिएको कर्जा) का रूपमा १६ अर्ब ३७ करोड रुपैयाँ छ । यी तीनवटै (चुक्ता पुँजी, सञ्चित कोष र कर्जा) शीर्षकमा रहेको रकम जोडेर कुल लगानीमा रहेको विदेशी लगानी निकालिएको हो । यहाँ उल्लेख गरिएको सञ्चित कोषमा रहेको रकम त्यही विदेशी लगानीले नेपालमै कमाएको अवितरित नाफा हो । यो रकम भविष्यमा पनि तिनै लगानीकर्ताको हो । यसरी हेर्दा हालसम्म चुक्ता पुँजीका रूपमा हाल ८८ अर्ब १५ करोड रुपैयाँ लगानीमा छ । तर पछिल्ला चार वर्ष (आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्म) कुल ९७ अर्ब ४५ करोड रुपैयाँ लाभांश बाहिरिएको प्रतिवेदनले देखाएको छ ।

यता राष्ट्र बैंकले भने पछिल्ला चार वर्षमा एनसेललगायत केही संस्थाले ठूलो रकम लगेकाले सो अवधिको लाभांश धेरै देखिएको प्रस्ट्याएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा कुल विदेशी लगानी ८.८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७४/७५ सम्म यस्तो लगानी २ खर्ब ५४ करोड रुपैयाँ थियो । सो अवधिमा केही आयोजनाले लगानी फिर्ता लैजानुका साथै कम्पनीको सञ्चिति रकम घटेकाले लगानीमा रहेको कुल विदेशी लगानी कम भएको प्रतिवेदनमा उल्लेख छ । नेपाल भित्रिएको कुल विदेशी लगानीमध्ये सबैभन्दा धेरै भारतबाट आएको देखिन्छ । यसअनुसार भारतको हिस्सा कुल लगानीमा ३० प्रतिशत छ । सो अवधिसम्म भारतबाट ५६ अर्ब रुपैयाँ विदेशी लगानी आएको छ । धेरै विदेशी लगानी आउने दोस्रो राष्ट्र चीन हो । हाल चिनियाँ लगानीकर्ताबाट २७ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो कुल विदेशी लगानीको करिब १५ प्रतिशत हो ।


कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल २४ अर्ब ९३ करोड लगानी आएको देखिन्छ । यो कुल लगानीको करिब साढे १३ प्रतिशत मात्र हो । यसअघि यो राष्ट्रबाट धेरै लगानी नेपाल भित्रिएको सरकारी अध्ययनहरूले देखाएका थिए ।

पछिल्लो समय एनसेललगायत केही कम्पनीका विदेशी लगानीकर्ताको स्वामित्व परिवर्तन भए पनि धेरै लगानी भित्रिने राष्ट्र पनि परिवर्तन भएको जनाइएको छ । हालसम्म नेपालमा ५३ वटा राष्ट्रबाट विदेशी लगानी आएको देखिन्छ । तीमध्ये १० प्रतिशतभन्दा धेरै लगानी आउने राष्ट्र भारत, चीन र सेन्ट किट्स एन्ड नेभिस मात्र हुन् । आयरल्यान्डबाट ६.३ प्रतिशत विदेशी लगानी आएको देखिन्छ । बाँकी सबै राष्ट्रबाट ५ प्रतिशतभन्दा कम मात्र लगानी आएको तथ्यांकले देखाएको छ ।

नेपाल भित्रिएको कुल वैदेशिक लगानीमध्ये सबैभन्दा धेरै ५१ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ । औद्योगिक विभाजनअनुसार प्रशोधन तथा खानी उद्योगमा सबैभन्दा धेरै २८.६ प्रतिशत विदेशी लगानी छ । औद्योगिक वर्गीकरणअनुसार वित्तीय क्षेत्रमा २७.४, विद्युत्, ग्यास र पानीसम्बन्धी क्षेत्रमा करिब २० प्रतिशत विदेशी लगानी रहेको प्रतिवेदनले देखाएको छ । विदेशी लगानी रहेको कुल ५ सय २२ कम्पनी विदेशी कम्पनीमध्ये १ सय ५३ वटालाई नमुना लिएर राष्ट्र बैंकले अध्ययन प्रतिवेदन तयार पारेको हो । जसमा ठूला ४९, मध्यमस्तरमा ५१ मध्ये ३७ र साना ४ सय २२ मध्ये ६७ वटा समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पछिल्ला तीन वर्षयता विदेशी लगानीसम्बन्धी विस्तृत प्रतिवेदन तयार गर्दै आएको छ ।

प्रकाशित : वैशाख १०, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?