कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाली वैज्ञानिकले विकास गरे ४ बालीका १५ जात

१४ बालीका ३६ जात सूचीकृत, राजपत्रमा प्रकाशित भएपछि आधिकारिकता पाउने
राजु चौधरी

काठमाडौँ — नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूले चार बालीका थप १५ नयाँ जात उन्मोचन (आविष्कार/विकास) र १० बालीका २१ जात पञ्जीकरण गरेका छन् ।

नेपाली वैज्ञानिकले विकास गरे ४ बालीका १५ जात

गहुँका १०, फापर र गोलभेंडाका २/२ तथा मकैको एउटा नयाँ जात उन्मोचन गरिएको हो । पञ्जीकरण गरिएकामा धानका ६, अलैंचीका ५, उखुका ३ र कोदो, लट्टे, चिनो, कागुनो, रायो, सिमी तथा घिउसिमीको १/१ जात छन् ।

उन्मोचन र पञ्जीकरण गरिएका नयाँ जातहरूलाई राष्ट्रिय बीउबिजन समितिले अनुमोदन गरिसकेको छ । कृषि सचिव योगेन्द्रकुमार कार्कीको अध्यक्षतामा बसेको समितिको ५८ औं बैठकले विभिन्न बालीका नयाँ जातहरूलाई अनुमोदन गरेको हो । यसबारे अब कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ । त्यसपछि मात्रै बीउले आधिकारिकता पाउने मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए ।

‘नार्कले प्राविधिक कुराहरू हेर्छ । वैज्ञानिकहरूले विभिन्न बालीहरूको अध्ययन गरिरहेका हुन्छन् । पछिल्लो पटक नार्कले नै १५ जात आविष्कार र २१ जात पञ्जीकरण गरेको छ,’ घिमिरेले भने, ‘व्यवस्थापकीय पक्ष हेर्ने राष्ट्रिय बीउबिजन समितिले यी नयाँ जात अनुमोदन गरेको छ । अब मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि बीउले आधिकारिकता पाउँछ ।’

बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी रमेश हुमागाईंका अनुसार उन्मोचन भनेको नार्ककै वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएको बीउको नयाँ जात हो । ‘वैज्ञानिकहरूले कम्तीमा ३ वर्ष अनुसन्धान गरी नयाँ जात उन्मोचन गरेका हुन्,’ हुमागाईंले भने । हुमागाईंका अनुसार पञ्जीकरण भनेको स्वदेशी वा विदेशी पुरानै बीउ हुन् । यी बीउ व्यवसायीहरूले प्रयोग गरिरहेका हुन्छन् । ‘व्यवसायीहरूकै अनुरोधमा नार्कका वैज्ञानिकहरूले यिनको २ वर्षसम्म परीक्षण गर्छन् । नेपालको हावापानीसँग सन्तुलन भए/नभएको थप अनुसन्धान हुन्छ । परीक्षणका क्रममा सफल भएपछि दर्ता गर्ने निर्णय हुन्छ,’ हुमागाईंले भने, ‘त्यसपश्चात् बीउले सरकारी आधिकारिकता पाउँछ ।’

नार्कअन्तर्गतको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रले गहुँ बालीको मात्रै १० वटा नयाँ जात विकास गरेको छ । जसमध्ये मुडुले–१ समुद्री सतहदेखि १७०० मिटरदेखि २२९० मिटर उचाइसम्मका उच्च पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ । कौटीला जात समुद्र सतहदेखि १००० मिटरदेखि २२९० मिटर उचाइसम्मका मध्य तथा उच्च पहाडी क्षेत्र, तिला जात १७०० मिटरदेखि २२९० मिटर उचाइसम्मका उच्च पहाडी क्षेत्र, सुर्मा जात १००० मिटरदेखि २२९० मिटर उचाइसम्मका मध्य र उच्च पहाडी क्षेत्रमा सिफारिस गरिएको छ ।

भेरीगंगा, हिमगंगा, खुमलशक्ति जात मध्यपहाडी क्षेत्रमा लगाउन सकिने वैज्ञानिकहरूको भनाइ छ । जिङ्क गहुँ–१, जिंक गहुँ–२ र बोलोग–२०२० जात तराई र भित्री मधेसलगायत समुद्री सतहदेखि ८०० मिटर उचाइसम्मका क्षेत्रहरूका लागि सिफारिस गरिएको छ । नार्कका वरिष्ठ वैज्ञानिक ध्रुव थापाका अनुसार हालसम्म गहुँका ५४ वटा जात सूचीकृत भइसकेका छन् । अहिले थप १० वटा अनुमोदन भएको हो ।

‘गहुँका नयाँ १० वटा जात अनुसन्धान गर्न करिब ७ वर्ष लाग्यो । तराई, मध्यपहाड, उच्चपहाडमा परीक्षण गरियो । किसानको खेतमा पनि परीक्षण भयो,’ गहुँ प्रजननविज्ञ समेत रहेका थापाले भने, ‘किसानले राम्रो भनेपछि मात्रै अगाडि बढेका थियौं । यी १० जात नेपाली जात हुन् । हाइब्रिड होइनन् ।’

थापाका अनुसार मकै, धानमा हाइब्रिड बीउ आए पनि गहुँमा स्वदेशी जात नै प्रयोग भइरहेको छ । मकैबालीको मनकामना–९ जातको बीउ उन्मोचन भएको छ । उक्त जात समुद्र सतहबाट ८०० मिटरदेखि १८०० मिटर उचाइसम्मका मध्यपहाडी क्षेत्रमा सिफारिस गरिएको छ । यीबाहेक नार्कले मकैका करिब २० जात सूचीकृत गरिसकेको छ । अनुमोदन भएका तीते फापर–१ र तीते फापर–२ जात ६०० मिटरदेखि ३५०० मिटर उचाइसम्मका क्षेत्रका लागि सिफारिस गरिएको छ । गोलभेंडाको नयाँ जात खुमल श्रेष्ठ एफ–१ र खुमल गौतम एफ–१ तराई र मध्यपहाडी क्षेत्रमा सिफारिस गरिएको छ । यी दुवै जात हाइब्रिड हुन् ।

नार्कले धानबालीका ६ जातहरू टीएमआर एच १२४, एमपी आर ५०५, एमपी ३०३०, एरिज ए जेठ ६६३३ एसटी, २७ पी १२ र आरएचआर १११ पञ्जीकरण गरेको छ । कोदोको हकमा रातो कोदो र उखुका जितपुर–५, जितपुर–६ र जितपुर–७ लाई पञ्जीकरण गरिएको छ । यस्तै, लट्टेको लाल मार्से, चिनोको दूधे चिनो, कागुनोको बरियो कागुनो, रायोको मनकामना रायो (स्थानीय), सिमीको पहेंलो सिमीलाई पञ्जीकरण गरिएको नार्कले जनाएको छ । सिमीमा खैरो घिउसिमी र अलैंचीमा रामसाई, गोलसाई, डम्बरसाई, भर्लाङ्गे र जिर्मलाई पञ्जीकरण गरिएको छ ।

हाल नार्कसँगै सहकारी, निजी कम्पनी गरी करिब ४४ वटाले मूल बीउ उत्पादन गर्छन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार अहिलेसम्म ७६ बालीका ६ सय ७१ भन्दा बढी जात सूचीकृत भएका छन् । जसमध्ये ३ सयभन्दा बढी हाइब्रिड छन् । हाइब्रिड धेरै फल्ने हुँदा किसानहरू यस्तै बीउमा आकर्षित भइरहेका छन् । बीउ आयात गर्नकै लागि ४० कम्पनी केन्द्रमा दर्ता भएका छन् । बीउ भारत, चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत मुलुकबाट आयात गरिन्छ । केन्द्रका अनुसार औपचारिक रूपमा मात्रै वार्षिक डेढ अर्ब रुपैयाँको बीउ आयात हुन्छ । खुला सीमाका कारण अनौपचारिक रूपमा सोही मात्रामा आयात भइरहेको अनुमान गरिन्छ । मुख्यतः तरकारी, धान र मकैको बीउ आयात भइरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित : वैशाख ९, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?