टावर देखिन्छ, नेटवर्क छैन

वसन्तप्रताप सिंह

बझाङ — पारि डाँडामा टेलिफोनको टावर ठडिएको चार वर्ष पुग्नै लाग्यो । तर जयपृथ्वी नगरपालिका–१ कैलाशका स्थानीयलाई यो टावर काम लागेको छैन । मोबाइलबाट फोन गर्न नेटवर्कको खोजीमा डाँडाकाँडा चहार्नुपर्ने बाध्यताबाट उनीहरूलाई मुक्ति मिलेको छैन ।

टावर देखिन्छ, नेटवर्क छैन

बुङ्गल नगरपालिका–६ थलाकाँडामा पनि टावर ठडिएको वर्ष दिन बढी भइसक्यो । टावर बनिसकेपछि फोरजी इन्टरनेटसमेत चल्ने भन्दै प्रचार गरिएको थियो । तर इन्टरनेट होइन फोन गर्नसमेत यसले काम दिएको छैन । ‘डाँडाकाँडामा मात्रै फोन लाग्छ । नदी किनारका बस्तीहरू अझै पनि सम्पर्कविहीन छन्,’ स्थानीय शिक्षक ऐनबहादुर सिंहले भने, ‘अब त टावर बन्यो, घरभित्रै बसेर धित मरुन्जेल फोनमा कुरा गरौंला, नेट चलाउँला भनेर हौसिएका थियौं । अझै हालत उस्तै छ ।’

नेपाल टेलिकमले विभिन्न स्थानमा टेलिफोन टावरहरू निर्माण गरे पनि सञ्चालनमा नआउँदा जिल्लाका धेरैजसो गाउँका स्थानीय सञ्चार समस्या भोगिरहेका छन् । टेलिकमले तल्कोट, मस्टा, सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिकाको पूर्वी क्षेत्रलाई समेट्ने गरी मस्टाको डुंग्राकोटमा २०७४ फागुनमै टावर बनाएको थियो । थलारा गाउँपालिकाको पारा काट्ने, वित्थडचिर गाउँपालिकाको धारी, सुर्मा, तल्कोटलगायतका विभिन्न पालिकामा बनेका टावरहरू पनि निर्माण भएको वर्षौं भइसक्दा पनि सञ्चालन हुन सकेका छैनन् ।

सुर्मा गाउँपालिकाकी सुविता विकलाई सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याइयो । स्वास्थ्य चौकी पुर्‍याउँदासम्म बच्चाको हात बाहिर आइसकेको थियो । यस्तो अवस्थामा त्यहाँ उपचार सम्भव नहुने र जिल्ला अस्पतालमा लगेर शल्यक्रिया गर्नुपर्ने भयो । यसका लागि एम्बुलेन्स बोलाउनुपर्ने भयो । ‘तर फोन सम्पर्क नै छैन, कसरी एम्बुलेन्स बोलाउने ? आपत् पर्‍यो । रातिका बेला २ घण्टा जंगलको बाटो हिँडेर नेटवर्क टिप्ने ठाउँमा पुगेर आफन्तले एम्बुलेन्सलाई फोन गरे,’ सुर्माका कृष्ण विकले फोन नहुँदाका दुःख सुनाए, ‘संयोगले फोन लाग्यो र उनको ज्यान बच्यो ।’

टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाका वायरलेस इन्जिनियर धनश्याम पाठकले बझाङमा १९ वटा टावर बनेका र तीमध्ये ७ वटा सञ्चालनमा रहेको जानकारी दिए । टावरमा जडान हुने टेलिफोन र इन्टरनेटका उपकरणहरू केन्द्रीय कार्यालयबाट आउने गरेको बताउँदै उनले केही प्रोजेक्टहरू सामान नआएकै कारण रोकिएको बताए । क्षेत्रीय कार्यालयकै कार्यालयकै प्रमुख नमाकर न्यौपाने भने जिल्लामा २० वटा टावर बनेका र ८ वटा सञ्चालनमा आएको दाबी गर्छन् ।

‘अरूमा इक्विपमेन्ट जोड्ने काम भइरहेको छ । यो निरन्तर हुने काम भएकाले सञ्चालनमा नआएको भन्न मिल्दैन,’ न्यौपानले भने । उनले ४ वटामा फोरजी सेवासमेत जडान गरिसकेको बताउँदै निकट भविष्यमा सबैमा फोरजी सेवा सञ्चालन गर्ने तयारी भइरहेको जनाए ।

प्रकाशित : वैशाख ९, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?