कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दृष्टिविहीनलाई एटीएम न मोबाइल बैंकिङ

दृष्टिविहीन भएकै कारण बैंकको आधारभूत सुविधा पाउन पनि गाह्रो
सीमा तामाङ

काठमाडौँ — लुभुकी खुसी आले मगर एक साताअघि नजिकैको एनआईसी एसिया बैंकको शाखामा गइन् । करिब ४ वर्षअघि औंठाछाप लगाएर खाता खोलेकी खुसीले आफ्नो खाताको जानकारी र मोबाइल बैंकिङ सुविधा लिन बैंकका कर्मचारीसँग प्रक्रियाबारे बुझिन् ।

दृष्टिविहीनलाई एटीएम न मोबाइल बैंकिङ

बैंकका कर्मचारीले दृष्टिविहीनलाई मोबाइल बैंकिङको सुविधा दिने नियम नभएको बताए । ‘हस्ताक्षर गर्दा अरूले नक्कल गर्छ, सधैं एउटै प्रकारको हुँदैन भनेर औंठाछाप लगाएर बैंकमा खाता खोलें,’ खुसीले भनिन्, ‘औंठाछाप लगाएर खाता खोल्ने व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङलगायत हरेक सुविधामा प्रतिबन्ध लगाइएको रहेछ ।’

मोबाइल बैंकिङ सुविधा नदिएर आफ्नो खातामा के–कति पैसा छ भनेर जान्न पाउने अधिकारमा पनि रोक लगाइएको उनको दाबी छ । खाताबारे जानकारी लिन पनि बैंकमा जानुपर्ने अवस्था रहेको र बैंकका कर्मचारीले पनि अन्य व्यक्तिसरह व्यवहार नगर्ने उनले गुनासो गरिन् । खुसीकै श्रीमान् मोहन विश्वकर्माले भने राष्ट्रिय वाणिज्य बैंक हुम्ला, सिमकोट शाखाबाट खातासँगै मोबाइल बैंकिङ सुविधा लिएका छन् । कामको सिलसिलामा हुम्ला पुगेका मोहनले सोर्सफोर्समा ती सुविधा लिएको बताए ।

हस्ताक्षर गर्ने हुँदा दृष्टिविहीन सागर लामाले भने एटीएम र मोबाइल बैंकिङ दुवै सुविधा लिएका छन् । ग्लोबल आईएमई, एनआईसी एसिया र एनएमबी बैंकबाट उनले झन्डै एक वर्षअघि मोबाइल बैंकिङ सुविधा लिएका हुन् । अन्य बैंकले मोबाइल सुविधा दिए पनि नेपाल एसबीआई बैंकले भने सुरक्षाका कारण दिन मिल्दैन भनेको उनले गुनासो गरे । ‘हस्ताक्षर गर्ने हुँदा मैले सहजै मोबाइल बैंकिङ सुविधा र एटीएम कार्ड पनि लिएँ,’ उनले भने, ‘मोबाइल बैंकिङ स्क्रिन रिडर सफ्टवेयरबाट चलाउँछौं । तर एटीएम कार्ड प्रयोग गर्न साथी नै चाहिन्छ ।’ हालसम्म कुनै पनि एटीएममा स्क्रिन रिडर प्रोग्राम सुविधा नरहेको उनले जानकारी दिए । मोबाइल बैंकिङ दिने/नदिने बैंकका शाखा र त्यहाँ काम गर्ने कर्मचारीमा भर पर्ने उनको बुझाइ छ । ‘केही कर्मचारीमा दृष्टिविहीनले चलाउन सक्दैनन् भन्ने बुझाइ हुन्छ भने कुनै कर्मचारीलाई कुन सफ्टवेयरको प्रयोग गरेर चलाउँछन् भन्ने ज्ञान हुन्छ,’ उनले भने, ‘त्यसलै कर्मचारीमा पनि भर पर्छ ।’ दृष्टिविहीनले एटीएम प्रयोग गर्न नसक्ने हुँदा प्रायः बैंकले नदिने उनले बताए ।

झापाकी सुजाता लिम्बूलाई ग्लोबल आईएमई बैंकको सुन्धारा शाखामा खाता खोल्न डिसेबल कार्ड र आफन्त ल्याउनुपर्छ भन्दै फर्काए । त्यसपछि उनले कर्मचारीले भनेजस्तै आफन्त र डिसएबल कार्ड लिएर गएपछि उनको खाता खोलिदिए । उनले खाता खोलेपछि मोबाइल बैंकिङ सुविधा पनि लिए । तर एटीएम कार्डका लागि भने सिस्टम बनेको छैन भन्दै दिएनन् । ‘बैंकका कर्मचारीले तपाईंहरूले प्रयोग गर्न सक्ने सिस्टम बनेको छैन, सिस्टम बनाइसकेपछि बोलाउँछौं,’ उनले भने । झापा शनिश्चरेबाट एनआईसी एसियामा खाता खोलेकी लिम्बूलाई मोबाइल बैंकिङ सुविधा दिइएको छैन । काठमाडौं आएर मुख्य कार्यालयमा जाँदा पनि यो विषयमा कुरा गर्छौं, अहिले दिन मिल्दैन भनेर फर्काइएको उनले बताइन् । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय विभाग प्रमुख केदार न्यौपानेले भने राजधानीमा आयोजित एक कार्यक्रममा औंठाछाप लगाएर खाता खोल्ने ग्राहकलाई एटीएम तथा मोबाइल बैंकिङ नदिनू भन्ने निर्देशन नदिइएको प्रस्ट्याए । ‘अपांगता भएका व्यक्तिलाई यो सुविधा दिने, यो नदिने भन्ने राष्ट्र बैंकको नीतिमा छैन,’ उनले भने, ‘यस्ता सुविधा पाउनुभएको छैन भने बैंकको गुनासो तथा व्यवस्थापन इकाईमा गुनासो गर्न सक्नुहुनेछ, तपाईंहरूका गुनासोको सुनुवाइ हुनेमा विश्वस्त हुनुस् ।’

२०६८ सालको जनगणनाअनुसार नेपालमा ९४ हजार दृष्टिविहीन छन् । सरकारले दिएको सेवासुविधा लिने २५ हजारभन्दा बढीको बैंक खाता छ । औंठाछाप लगाउने व्यक्तिले पनि हस्ताक्षर गरेर एटीएम र मोबाइल बैंकिङ सुविधा लिएका छन् । औंठाछाप लगाएर पनि आफूले पाउने सेवासुविधा लिने एक सय जनाभन्दा कम रहेको ललितपुर नेत्रहीन संघ तथा समृद्ध नेपाल लगानी समूहका अध्यक्ष पर्वतराज विष्टले बताए ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?