कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एनआरएनए फन्ड ५० अर्बको बनाउने लक्ष्य

विमल खतिवडा

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) र सरकारको संयुक्त लगानीमा स्थापित एनआरएनए डेभलपमेन्ट फन्डमा ५० अर्ब रुपैयाँ रकम जुटाउने लक्ष्य अघि सारिएको छ ।

एनआरएनए फन्ड ५० अर्बको बनाउने लक्ष्य

फन्डबारे जानकारी दिन सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष कुमार पन्तले केही वर्षमै ५० अर्ब रुपैयाँको हुने बताए । हाल एनआरएनएको ९ अर्ब ५० करोड र सरकारको ५० करोड सेयर रहने गरी संयुक्त कम्पनी स्थापना भएको छ ।

‘१० अर्बभन्दा पनि केही वर्षमा ५० अर्बको फन्ड हुनेछ भन्ने अनुमान गरेर काम सुरु गरेका हौं,’ पन्तले भने । ‘सामूहिक रूपमा होस् वा व्यक्तिगत, गैरआवासीय नेपालीले नेपालमा लगानी ल्याउन थालेको थुप्रै वर्ष भइसकेको छ । धेरै होटल, अस्पतालमा गैरआवासीय नेपालीको लगानी छ,’ उनले भने, ‘गैरआवासीय नेपालीले लाखौं रोजगारी सिर्जना गरेका छन् ।’

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एनआरएनलाई वैदेशिक लगानी नेपाल भित्र्याउन लगानी दूत बनेर काम गर्न आग्रह गरे । फन्डका लागि रकम पारदर्शी ढंगले ल्याउनसमेत उनले सुझाए । ‘नेपालमा हुने लगानी कालो पुँजी हुनुभएन, बैंकिङ च्यानलभन्दा अर्को च्यानलबाट आउनुभएन,’ उनले भने, ‘अर्को कुरा, राष्ट्रिय प्राथमिकतामा लगानी केन्द्रित हुनुपर्नेछ ।’ नेपालमा लगानीका निम्ति सरकारले अनुकूल परिस्थिति निर्माण गरिरहेको उनको भनाइ छ । ‘गैरआवासीय नेपालीमा छरिएर रहेको पुँजीलाई संगठित गरेर मात्र ल्याइरहेका छैनौं, कर्पोरेट कल्चर, प्रविधि पनि ल्याइरहेका छौं,’ उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानी गर्ने गरी आउनेलाई लगानीको क्षेत्र प्रशस्त रहेको बताए । ‘सबै क्षेत्रमा लगानीको अवसर छ,’ उनले भने, ‘चाहे ऊर्जा होस् वा अरू कुनै किन नहोस्, सबै खालका अवसर यहाँहरूले उपयोग गर्नुहुनेछ ।’ व्यक्तिगत सफलताको जुनसुकै उचाइमा आफूहरू पुगे पनि आफ्नो देश समृद्ध नभए सफलताको कुनै अर्थ नरहने फन्डका अध्यक्ष तथा एनआरएनएका संस्थापक उपेन्द्र महतोको भनाइ छ । ‘नेपालीका लागि नेपाली भन्ने पवित्र उद्देश्य लिएर यो फन्डको सुरुवात भएको हो,’ उनले भने । फन्डमा कम्तीमा १० अर्ब पुर्‍याउने लक्ष्य रहे पनि १ खर्ब पुर्‍याउन गैरआवासीय नेपालीका लागि धेरै ठूलो समस्या नभएको उनको भनाइ छ ।

‘यसमा पुँजी र प्रविधि मात्र आउँदैन, कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सपरेन्सी पनि आउनेछ,’ उनले भने, ‘जसमा सरकार र सबैको साथ सहयोग चाहिन्छ, पैसा आएर बैंकमा थन्क्याउने मात्र होइन, नेपालीले त्यसबाट लाभ पाउने गरी यसलाई अगाडि बढाइनेछ ।’ नेपालीका लागि नेपालीबाट अभियानका रूपमा यसलाई सुरुवात गरिएको फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईले बताए ।

२०७५ चैत १६ मा नेपालमा भएको लगानी सम्मेलनमा १० अर्ब लगानी भित्र्याउन गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग समझदारी गरेको थियो । लामो प्रयासपछि सरकार र एनआरएनएको संयुक्त कम्पनी २०७७ चैत ३० मा दर्ता भएको हो । संघ प्रवर्द्धक रहेको कम्पनीमा ३ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । कोषबाट नेपालका उद्यम, व्यवसाय, यातायात, पूर्वाधार क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको संघले जनाएको छ । गैरआवासीय नेपालीलाई लक्ष्य गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिने संघले बताएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?