पिलाछेंमा नेवारी शैलीको होमस्टे

दुई घरमा सुरु गरिएको होमस्टे पुससम्म ४० घर पुर्‍याइने
प्रशान्त माली

ललितपुर — भूकम्पले क्षति पुर्‍याएको पाटनको पिलाछेंमा पुनर्निर्माणको काम सकिएपछि नेवारी शैलीको होमस्टे सञ्चालनमा ल्याइएको छ । स्थानीयले भत्किएका घर पुनर्निर्माण गरी मौलिक शैलीमा घर बनाएका छन् । यहाँ १ सय १० घरधुरी छन् ।

पिलाछेंमा नेवारी शैलीको होमस्टे

पहिलो चरणमा दुई वटा घरमा होमस्टे सञ्चालनमा ल्याइएको हो । आगामी पुसभित्र ४० घरमा होमस्टे सञ्चालन गर्ने तयारी रहेको स्थानीय बताउँछन् । होमस्टेका लागि सामान्यतया प्रत्येक घरमा २ देखि ८ बेडको व्यवस्था गरिएको छ । सांस्कृतिक कार्यक्रम प्रदर्शन, पाहुनाको स्वास्थ्योपचार र अन्य आकस्मिक सेवाको पनि व्यवस्थापन गरिएको छ । चियानास्ता, खाजा, खाना खुवाउने व्यवस्था नेवारी परम्पराअनुसार गरिएको छ । पर्यटकलाई सुलभ मूल्यमा स्थानीय परिकार, रीतिरिवाज, कला संस्कृति र रहनसहन पस्किइने होमस्टे सञ्चालक अर्जुन महर्जनले बताए । ‘एक पटक आएका पाहुना दोहोरिएर आऊन् भनेर विशेष सुविधा दिएका छौं,’ उनले भने ।

स्थानीयले पहिलो र दोस्रो तलामा गेस्ट हाउस, होमस्टे, सर्भिस अपार्टमेन्ट र रेस्टुरेन्ट विकास गरेका छन् । भुइँतलामा पर्यटक आकर्षित गर्न काष्ठकला, संग्रहालय र प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । तेस्रो तलामा घरधनी बस्छन् । भूकम्पले पिलाछेंको ८२ मा घरमा क्षति पुर्‍याएको थियो । सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा माया फाउन्डेसनले तयार पारेको नमुना सहर कार्ययोजनाअनुसार मौलिक शैलीमा ४० घर बनिसकेका छन् । पिलाछें परियोजनालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाइलट प्रोजेक्टका रूपमा अघि सारेको थियो । विश्व सम्पदा दिवसको अवसर पारेर आइतबार वरिष्ठ संस्कृतिविद् वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन सांसद र सम्पदाविद्हरूले अवलोकन गरे । उक्त अवसरमा नेवारी भेषमा सजिएका युवायुवतीले धिमे बाजाका तालमा परम्परागत नाच प्रस्तुत गरेका थिए । चपा छें (गुठी घर) मा ज्येष्ठ नागरिकले मन्दिरमा बत्ती बाल्न प्रयोग गरिने धागो परम्परागत तानबाट बुनेर देखाएका थिए ।

पिलाछेंलाई वाग्मती सभ्यताको प्रतीकका रूपमा विकास गर्न सकिने वरिष्ठ संस्कृतिविद् जोशीले बताए । ‘यो ललितपुरको मात्र नभई राष्ट्रकै गौरवको परियोजना हो,’ उनले भने, ‘भावी पुस्ताले यसलाई गौरवका रूपमा महसुस गर्नेछ ।’

पर्यटकले पाटन दरबार क्षेत्र, सुन्धारा, महाबौद्ध, गोल्डेन टेम्पल, कुम्भेश्वरबाहेक सम्राट् अशोकले बनाएको बौद्ध स्तूप, दीपकर बुद्धलाई सबभन्दा पहिला दान दिने महिलाको बासस्थान गुइट टोल, बौद्ध विद्वान्हरूले बास बसेको स्थान, अष्टमातृका पीठ, नरेन्द्र देव, अंशुवर्माको अभिलेखलगायत अवलोकन गर्न पाउँछन् । लिच्छविकालदेखिका जीवित परम्परागत वास्तुकला, रहनसहन चाडपर्वबारे पनि जानकारी पाउन सक्छन् ।

पुनर्निर्माणमा सटर, रेलिङ, स्टिलका झ्यालढोकालगायत आधुनिक सामग्री प्रयोगलाई निरुत्साहित गरिएको छ । पुनर्निर्माण हुन बाँकी ४२ घरमध्ये अहिले तीन वटाको जग र डीपीसी ढलानको काम भइरहेको छ । १७ वटा सुरु गर्ने तयारीमा रहेको माया फाउन्डेसनका अध्यक्ष रमेश महर्जनले बताए । ‘आर्थिक समस्याका कारण कसैले जगसम्म मात्र राखेका छन्,’ उनले भने, ‘पिलाछेंमा काम सकिएपछि बिस्तारै अन्य टोलमा पनि पुनर्निर्माण थाल्ने योजना छ ।’ पाटनमा ४२ भन्दा बढी टोल छन् ।

पिलाछेंमा गुइट दोमार (बालकुमारी चौर), सभा हल, पार्किङ र बालबालिकाको खेलकुद स्थल पनि बनाउने योजना छ । तर बजेट अभावका कारण योजना ओझेलमा परेको फाउन्डेसनका अध्यक्ष महर्जनले बताए । प्राधिकरणका तर्फबाट पिलाछेंको विकासमा सक्दो सहयोग गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रतिबद्धता जनाए । भूकम्पपीडितले पाउन बाँकी किस्ता चाँडै उपलब्ध गराइने पनि उनले बताए । पिलाछेंमा २७ घरपरिवारले अन्तिम किस्ता पाउन बाँकी छ । दोस्रो किस्ता पाउन बाँकी १२ जना छन् ।

प्रकाशित : वैशाख ६, २०७८ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?