काठमाडौं बाहिर ७ नयाँ गन्तव्यमा उड्दै बुद्ध

सुरज कुँवर

काठमाडौँ — २३ वर्षयता काठमाडौं केन्द्रित उडान गर्दै आएको बुद्ध एयरले वैशाख १८ देखि काठमाडौंबाहिरका ६ वटा हवाई रुटका ७ वटा गन्तव्य सहर जोड्दै अन्तर प्रदेश उडान थाल्ने भएको छ  ।

काठमाडौं बाहिर ७ नयाँ गन्तव्यमा उड्दै बुद्ध

कोरोनाका कारण सुस्ताएको काठमाडौं बाहिरको अर्थतन्त्रलाई चलायमान बनाउने आकांक्षाका साथ बुद्धले पर्यटकीय राजधानी पोखरालाई हब बनाउँदै गण्डकी प्रदेशबाट प्रदेश १ को राजधानी विराटनगर र सिमरा उडान गर्ने भएको हो । त्यस्तै गण्डकी प्रदेशबाट लुम्बिनी प्रदेशको नेपालगन्ज र भैरहवामा पनि उडान हुने भएको छ । यी रुटमा बुद्धले १८ सिट क्षमता भएको बिच १९००–डी विमान सातामा तीन दिन उडाउने छ ।

त्यस्तै बुद्धले अब प्रदेश १ को राजधानी विराटनगरबाट तुम्लिङटार पनि उडान गर्ने घोषणा गरेको छ । तराईबाट पहाडमा हुने यो रुटमा बुद्धले ४७ सिट क्षमताको एटीआर–४२ विमान उडाउने भएको छ । यसअघि तुम्लिङटारमा रुटमा बुद्धले काठमाडौंबाट १८ सिट क्षमता भएको बिच १९००–डी विमान सातामा तीन दिन उडाउने छ । त्यसैगरी महेन्द्र राजमार्गको नारायणगढ पश्चिमको सडकमा भइरहने अवरोधलाई मध्यनजर गर्दै बुद्धले भरतपुरदेखि भैरहवा सिधा उडान गर्ने भएको छ । हालसम्म यो रुटमा व्यवसायिक उडान भएको छैन । बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले यो रुट अस्थायी हुने जनाउँदै सडक यातायात सहज भएपछि उडान स्थगन हुने बताए ।

‘हामीले घोषणा गरेका यी नयाँ उडान गन्तव्यले नयाँ आयाम, नयाँ अवसर सृजना गर्ने अपेक्षा छ,’ बस्नेतले भने, ‘वैशाख १८ गतेदेखि ट्रायल हो, भारतीय र नेपालीको भाडा दर एउटै हो र सबैभन्दा न्यूनतम दरको ब्राभो फेयरमा टिकट बिक्री गरिने छ ।’ बुद्धले पोखरा नेपालगन्ज ४५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४३ सय, विराटनगर–तुम्लिङटार २५ सय, पोखरा–भैरहवा ३१ सय र भैरहवा–भरतपुर २५ सय रुपैयाँको टिकट हुने जनाएको छ ।

बुद्धले यी रुटमा यात्रुको डिमान्ड अनुसार उडान संख्या र जहाजको प्रकार निर्धारण गर्न सकिने भनेको छ । बुद्धले सीमा नाकासँग जोडिएका भारतीय छिमेकी सहरका पर्यटलाई काठमाडौं नआई सोझै पोखरा, जोमसोम, मुक्तिनाथ, लोमान्थाङ र मानसरोवरसम्म पुर्‍याउन खोजेको छ । त्यसैगरी बुद्धले चाँडै जनकपुर र अयोध्या सहरलाई जोड्न चाडै क्रस–बोडर उडानको पनि घोषणा गरेको छ ।

हाल १४ वटा विमान भएको बुद्ध नेपालमा सबैभन्दा धेरै जहाज भएको वायुसेवा कम्पनी हो । योसँग ७२ यात्रु क्षमताका ९ र ४७ यात्रु क्षमताका ३ गरी १२ वटा एटीआर विमान छन् भने १८ यात्रु क्षमताका दुईटा अमेरिकी बिच १९०० डी विमान छन् । कोरोनाको अवधिमा यसले दैनिक १ सय २० वटासम्म उडान गर्दै साढे ६ हजार यात्रुलाई सेवा दिएको थियो ।

प्रकाशित : वैशाख ५, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?