अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान डेढ प्रतिशत

काठमाडौँ — अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान एक प्रतिशतभन्दा बढी भएको विज्ञहरूले बताएका छन् । अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान विषयमा आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान डेढ प्रतिशत भएको तथ्यांक प्रस्तुत गरे ।

अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान डेढ प्रतिशत

उनका अनुसार अर्थतन्त्रमा दूरसञ्चारसहित सूचना प्रविधि क्षेत्रले कुल २ दशमलव २२ प्रतिशत योगदान गरेका छन् । यसमध्ये दूरसञ्चार क्षेत्रको मात्रै योगदान १ दशमलब ४७ प्रतिशत छ । अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान गत आर्थिक वर्षमा मात्रै ५१ अर्ब रुपैयाँभन्दा बढी भएको तथ्यांक उनले प्रस्तुत गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले दूरसञ्चार क्षेत्रले अर्थतन्त्रमा दुईदेखि तीन प्रतिशतसम्म योगदान गर्न सक्ने बताए । प्रमुख दूरसञ्चार सेवा प्रदायकले आर्थिक वर्ष २०७६/७६ मा मात्रै दूरसञ्चार सेवा शुल्क, भ्याट र अन्य करबापत सरकारलाई २८ अर्ब ४२ करोडभन्दा बढी शुल्क बुझाएको उनको भनाइ छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले भने उपभोक्ताकहाँ इन्टरनेट पुगुन्जेलसम्म सेवा प्रदायकले १० भन्दा बढी शीर्षकमा कर तिर्नुपर्ने दाबी गरे । सेवा प्रदायकले आफ्नो कुल आयको ४६ प्रतिशतसम्म कर तिर्नुपर्ने भए पनि नेपालको इन्टरनेट तुलनात्मक रूपमा सस्तो भएको उनले बताए ।

सेवा प्रदायकले आफ्नो वार्षिक आयको ४ प्रतिशत रोयल्टीबापत, २ प्रतिशत ग्रामीण दूरसञ्चार कोषमा, दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत, भ्याटबापत १३ प्रतिशत, कर्पोरेट ट्याक्सबापत ३० प्रतिशत र पुँजीगत लाभकरबापत २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।

अप्टिकल फाइबर केबल आयात गर्दा १५ प्रतिशत र राउटरलगायत उपकरण ल्याउँदा पनि ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले अहिलेसम्म तथ्यपरक ढंगले अर्थतन्त्रमा टेलिकम क्षेत्रले पुर्‍याएको योगदानका विषयमा अध्ययन नभएको र यस विषयमा अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए । नेपालमा इन्टरनेटमा कर बढी भएको र इन्टरनेट तुलनात्मक रूपमा सस्तो भएको दुवै विषय आएकाले सरोकारवालासँग छलफल गर्न सरकार तयार रहेको उनको भनाइ छ । ‘हामी नयाँ बजेटको तयारीमा पनि छौं,’ उनले भने, ‘तपाईंहरूबाट यस विषयमा सुझावको अपेक्षा गर्छु ।’ सरकारले सूचना प्रविधि क्षेत्रबाट अधिकतम फाइदा लिन डिजिटल नेपालको फ्रेमवर्क तयार पारेको र यसलाई समयानुसार परिमार्जन गर्न सरकार तयार रहेको उनले बताए ।

‘हामी फ्रेमवर्कमा कैद हुने होइन,’ उनले भने, ‘आवश्यक संशोधन र परिमार्जनका लागि तयार छौं ।’ कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रले मात्रै नभई समग्र सूचना प्रविधि क्षेत्रले विभिन्न किसिमबाट अर्थतन्त्रलाई योगदान पुर्‍याइरहेको दाबी गरे । टेलिकमले मात्रै सरकारलाई गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी योगदान गरेको र दूरसञ्चार सेवा प्रदायकले गर्ने योगदानका आधारमा सरकारले दिने सहुलियत पनि तय हुनुपर्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको भनाइ छ । अर्थतन्त्रको भविष्यका रूपमा सूचना प्रविधि क्षेत्रलाई अघि बढाउनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पलाल कँडेलले बताए ।

प्रकाशित : वैशाख ५, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?