कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोसी बाढीपीडित खेतीपातीमा : बालुवा खोस्रेर कृषिकर्म

कोसीको बाढी पसेर बगर बनेको जमिनमा राजस्थानी मोडलअनुसारका उत्पादन

सुनसरी — २०६५ भदौ २ को कोसी बाढीले ठूलो जनधनको क्षति भयो । धान, मकै, गहुँ, सनपाट, आलु उत्पादन हुने कोसी गाउँपालिकाको ३ हजार १ सय बिघा जमिन रातारात मरुभूमिमा परिणत भयो ।

कोसी बाढीपीडित खेतीपातीमा : बालुवा खोस्रेर कृषिकर्म

त्यसबेला कोसी गाउँपालिका–५ कुम्याही घोर्की टोलका २७ वर्षीय सहाबुद्दिन हक कतारमा थिए । त्यसको दुई वर्षपछि वैदेशिक रोजगारीबाट फर्किंदा अन्नबाली फल्ने खेतमा बालुवा थुप्रिएको देखे । त्यतिबेला धुरुक्क रोएका उनलाई यही बालुवाले यतिबेला सन्तुष्टि दिएको छ ।

चार फिटसम्म बालुवाले ढाकेको खेतबारी हेरेर स्थानीय बासिन्दा बसाइँ सर्ने तयारीमा पनि लागे । खेती गर्न नसकेर उपायहीन भएका युवामध्ये कोही भारतको विभिन्न प्रान्तमा ज्यालादारी काम गर्न गए, कोही खाडी मुलुक पसे । बाढीले बालुवामय बनाइदिएको खेतबारी कसरी सदुपयोग गर्ने भनेर सोच्दासोच्दै गाउँलेले एक दशक बिताए । धनीपुर्जा भएको नम्बरी जग्गा भएर के गर्नु ? न बिक्री गर्न सकिन्थ्यो, न ऋणका लागि बैंकले पत्याउँथ्यो । अहिले भने स्थिति बदलिएको छ । हक पनि कुनै बेला जग्गा बिक्रीका लागि जुटेका थिए । पैतृक सम्पत्तिका रूपमा रहेको चार बिघा जग्गा कोसीको पूर्वी तट फुटेपछि बगर बनेको थियो । अचेल उनी त्यही जमिनमा कागती र ड्रागन फ्रुट खेती गरेर ‘बालुवा निचोरेर तेल निकाल्न’ व्यस्त छन् । ‘धान, सनपाट, मकै, गहुँ खेती गर्दै आएका थियौं,’ उनले भने, ‘कोसीको पूर्वी तटबन्ध फुटेपछि रातारात मरुभूमिको बासिन्दा भयौं । अहिले यही बगरले आम्दानी दिइरहेको छ ।’

कोसी तटबन्ध फुट्दा सुनसरीको साविकका श्रीपुर, हरिपुर, पश्चिम कुशाहा र लौकही गरी चार गाविसका ३५ हजार घरपरिवार प्रभावित भएका थिए । ती क्षेत्रमा बसेका उनीहरूका सयौं बिघा जग्गा बालुवामा परिणत भएको छ । त्यही बालुवा थुप्रिएको जमिनलाई कोसी गाउँपालिकाका किसानले आय आर्जनको मुख्य बाटो बनाइरहेका छन् । दुई वर्षअघिसम्म प्रतिकट्ठा २० हजार रुपैयाँमा पनि बिक्री नभएका जग्गा अहिले प्रतिकट्ठा अढाई लाखका दरले किन्न खोज्नेहरू आइरहेको हक बताउँछन् । ‘तर अब जमिन बेचिन्न,’ उनले भने, ‘बालुवामा खेती गरी कसरी आम्दानी लिने भन्ने उपाय जानिसक्यौं र सोहीअनुसार खेती पनि गर्न थालिसक्यौं । सुरुआती उत्पादन सन्तोषजनक छ ।’

यहाँका किसान सबैभन्दा बढी आकर्षित कागती खेतीमा छन् । रोपेको एक डेढ वर्षमै फल दिन थाल्ने र कम्तीमा ३० वर्षसम्म उत्पादन दिने भएकाले कागती खेतीमा आकर्षण बढेको हो । हकले मात्रै यो वर्ष एक बिघामा ५ सय ५० बोट कागतीको बिरुवा लगाएका छन् । लगाएको पाँच/सात वर्षपछि पूर्ण रूपमा फल्ने कागतीबाट वार्षिक २२ देखि २५ लाख रुपैयाँ आम्दानी लिने उनको योजना छ । आफ्नो कृषिकर्म हेर्न भारतीय किसानहरू आइरहने उनले बताए । ‘एक किलोमिटर नजिकको दूरीमा भारतीय सिमाना भएकाले पनि होला, बालुवामा कागती खेती लगाएको हेर्न आउने गरेका छन्,’ उनले भने ।

बालुवाले भरिएको खेतमा सबैभन्दा पहिले हकसँगै उनका छिमेकी असगर अलीले कृषिकर्म सुरु गरेका हुन् । गुगल र युट्युबमा बालुवा भएको खेतमा कसरी कागती लगायतका खेती गर्न सकिन्छ भनेर खोजी गरे । व्यावसायिक खेती गर्नेबारे उनीहरूले गाउँपालिकामा पनि जानकारी गराए । गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीको नेतृत्वमा गत वर्ष करिब १० जनाको टोली राजस्थान अवलोकन गर्न पुगेको थियो । राजस्थानमा थोरै मात्र माटो मिसिएको बालुवामय जमिनमा विभिन्न खेती हुने गरेको छ । त्यही जमिनमा आयआर्जन गर्नेहरू र त्यहीँको कृषि विभागबाट थप उपाय सिकेपछि कोसी बाढीले बनाएको बगरमा उनीहरूले खेतीको विकल्प सुरु गरेका हुन् ।

पछिल्लो समयमा मझारु हक, मोहम्मद इसोन, एनामुल हक, अर्बिन यादव, जलाउमुद्दिन हकलगायतले परम्परागत खेती परिवर्तन गर्दै कागती, ड्रागन फ्रुट, लौका, अनार, खरबुजाको खेती सुरु गरेका छन् । ‘बाउबाजेको पैतृक सम्पत्तिका रूपमा १५ बिघा नम्बरी जग्गा छ तर सबै बालुवाले पुरिएको,’ अलीले भने, ‘यो वर्ष एक बिघामा कागती, ड्रागन फ्रुट र पर्बल लगाएको छु । कागती त उत्पादन हुन थालेको छ । अब त बालुवामा सुन फलाउँदै छौं ।’ उनी राजस्थान भ्रमणमा जानेमध्येका सदस्य हुन् । उनका अनुसार राजस्थानको बालुवा र कोसी गाउँपालिकाको बालुवामा केही मात्रै अन्तर छ । राजस्थानको बालुवाको तौल बढी छ भने कोसीको बालुवाको तौल कम ।

‘तर त्यसले खासै असर नपर्ने भएकाले राजस्थानीले झैं हामीले खेती सुरु गर्‍यौं,’ उनले भने, ‘गाउँपालिकाले सहयोग गरिरहेकै छ । आधुनिक सिँचाइको व्यवस्था गरिदिए राजस्थानमा भन्दा बढी उत्पादन यहीँ गर्न सक्छौं ।’ एक दशकअघिसम्म परिवारको जीविका चलाउन उनलाई मुस्किल परेको थियो । दैनिक ज्याला मजदुरी गरेर पनि छोराछोरीलाई पढाउन सकेका थिएनन् । उमेर पुगेका छोराहरूलाई वैदेशिक रोजगारमा पठाउनुपरेको थियो । ‘जब बालुवालाई सुन बनाउने तरिका जानियो, त्यसपछि भविष्यप्रति आशा जागेको छ,’ उनले भने, ‘बाँकी रहेको बगरमा उत्पादनमूलक नगदेबाली लगाउने सोच बनाएको छु ।’

कतिपयले भने प्रतिबिघा अढाई लाख रुपैयाँसम्म खर्च गरेर खेतबारीको बालुवा निकालेर पन्छाए पनि । माटो मात्र भएपछि पुरानै शैलीमा धान, मकै, गहुँ र जौको खेती गरे । तर परम्परागत खेती गर्दा बढी श्रम र लागत लाग्ने भएपछि अहिले बालुवा निकालेर फाल्न छाडेका छन् । ‘स्थानीय किसानको एकल प्रयासमा करिब ६ सय बिघा जग्गाको बालुवा पन्छाएर पूर्वावस्थामा फर्काए पनि २५ सय बिघा जग्गा बालुवामय अवस्थामा छ,’ गाउँपालिका अध्यक्ष अन्सारीले भने, ‘अब त्यही जग्गामा राजस्थानी मोडलमा आधारित खेती गर्न प्रेरित गर्दै आएका छौं ।’ उक्त मोडलअनुसार कागती, ड्रागन फ्रुट, अनार, लौका, बदाम, बयरको खेती प्रभावकारी भएको उनले बताए । राजस्थानी मोडलअनुसार बालुवाले भरिएको जमिनमा खेती गर्नुपरे सिँचाइ सुविधा र प्रांगारिक मलको व्यवस्था गर्नुपर्छ । बोटबिरुवा लगाउन सानो खाल्डो बनाएको ठाउँमा माटोले भरिन्छ ।

प्रकाशित : वैशाख ५, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?