खाद्यान्न ढुवानीमा आनाकानी

ठेकेदारले एक साताभित्र ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव हुने

वीरेन्द्रनगर/हुम्ला — ठेकेदारको लापरबाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । विशेष गरी ५ जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । ठेकेदारले बिक्री केन्द्रमा चामल लैजान अटेरी गरेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

खाद्यान्न ढुवानीमा आनाकानी

अहिले डोल्पाको काइके, मुगुको कालै र रातापानीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको लिमिटेडका सुर्खेतका प्रमुख माधव मिश्रले बताए । ‘ठेकेदारले विभिन्न बहाना बनाउँछन्,’ उनले भने, ‘कोही ठेकेदारले स्थानीय तहले लकडाउनका बेलाको पैसा नै नदिएको भनेर आनाकानी गरिरहेका छन्, केहीले ढुवानी दर नै कम भएपछि मानिरहेका छैनन् ।’ पहिले ठेक्का आफ्नोमा पार्न कम रकममा सम्झौता गरेका ठेकेदारले अहिले चामल नै ढुवानी गर्न नमानेको उनको भनाइ छ ।

ठेकेदारले एक साताभित्र खाद्यान्न ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव देखिनेछ । हुम्लामा केही दिनअघि अभाव भएको भनिए पनि अहिले हवाई तथा स्थलमार्गबाट खाद्यान्न पुर्‍याइसकिएको मिश्रले बताए । उनका अनुसार हुम्ला, मुगु र डोल्पामा सडक सुविधा नभएका कारण हवाई मार्गबाट खाद्यान्न ढुवानी हुन्छ । सुदूरपश्चिमको बझाङ, बाजुरा हुँदै पनि कर्णालीका हिमाली जिल्लामा ठेकेदारले खाद्यान्न ढुवानी गर्ने गरेको उनले जानकारी दिए । हरेक वर्ष खाद्यान्न ढुवानीमा ढिलाइ गर्नेलाई बारम्बार पत्र लेखेर ताकेता गरिरहेको कम्पनीले जनाएको छ । ‘खाद्यान्न ढुवानीमा लापरबाही हुने कुरा हामीले मात्रै अनुगमन गरेर सकिँदैन,’ मिश्रले भने, ‘हामीसँगै पालिका र प्रशासनले पनि साझेदारी गरेर अगाडि बढ्नुपर्छ ।’

कर्मचारी नहुँदा समस्या

खाद्यान्न ढुवानी गरिरहेका ठेकेदारले भने प्रायः डिपो र बिक्री केन्द्रमा कर्मचारी नै नभएका कारण आफूहरूलाई समस्या भएको बताएका छन् । आफैंले चामल ढुवानी गरेर आफैंले बिक्री गर्नुपर्ने भएकाले समस्या भएको उनीहरूको दाबी छ ।

कर्मचारीको व्यवस्था नहुँदासम्म खाद्यान्न नपुर्‍याउन नसकिने बराल ढुवानी सेवाका प्रोप्राइटर रमेश बरालले बताए । ‘हामी आफैंले डिपोमा लगेर उपभोक्तालाई कसरी वितरण गर्ने ?’ उनले भने, ‘ढुवानी गर्न बाँकी रहेका डिपोमा कर्मचारी व्यवस्था गर्न भनिरहेका छौं ।’ आफैंले वितरणको जिम्मा लिएका डिपोमध्ये प्रायः मा ८० प्रतिशत चामल ढुवानी भइसकेको उनको भनाइ छ ।

कतिपय डिपोमा चामल बिक्री हुँदैन भनेर कर्मचारीले नल्याउन भनेको ठेकेदार बताउँछन् । अहिले खासै समस्या नदेखिए पनि असारपछि कर्मचारी नहुँदा समस्या हुने शर्मा ढुवानी सेवाका वासुदेव शर्माको भनाइ छ । उनका अनुसार दैलेखको चामुन्डा र ठाँटीकाँधमा मूल्य नमिलेकाले चामल बिक्री भएको छैन । ‘खाद्य संस्थान र हामीले वितरण गर्ने चामलमा एक क्विन्टलमा ५/६ सय रुपैयाँ फरक परेको छ,’ उनले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा २५ हजार ४ सय क्विन्टल चामल ढुवानी गरेको छ । उक्त चामल ढुवानीमा १३ करोड ४ लाख रुपैयाँ खर्च भएको मिश्रले जानकारी दिए ।

चालु आर्थिक वर्षमा कार्यालयले ४० हजार क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ । ‘वर्षा सुरु भएपछि हवाई तथा स्थलमार्गबाट पनि ढुवानीमा कठिनाइ आउँछ,’ उनले भने, ‘त्यसैले ठेकेदारलाई छिटो ढुवानी गर्न ताकेता गर्दै वर्षा सुरु नहुँदै बाँकी खाद्यान्न ढुवानी गर्ने लक्ष्य छ ।’ कार्यालयका अनुसार अहिले सुर्खेतमा १० हजार ३ सय २५, दैलेखमा १८ सय ३९, जाजरकोटमा ३५ सय ३१, कालीकोटमा २२ सय २८, जुम्लामा १६ सय ३०, हुम्लामा १७ सय ४६, मुगुमा २ हजार, डोल्पामा ४८ सय र रुकुम पश्चिममा १ सय १८ क्विन्टल चामल मौज्दात छ ।

लिमीमा पनि अभाव चुलियो

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न समस्या देखिएको छ । चिनियाँ नाका अझै नखुल्दा यहाँ खाद्यान्न अभाव भएको हो । लिमीका तिल, जाङ र हल्जीमा १ सय ४७ घरधुरी छन् । कोरोना महामारीका कारण बन्द चिनियाँ नाका नखुलेपछि तीन वटै गाउँमा खाद्यान्न अभाव देखिएको हो ।

सदरमुकाम टाढा हुँदा लिमीका बासिन्दा वर्षौंदेखि चिनियाँ खाद्यान्नमा निर्भर छन् । न्यालु लेकमा जमेको हिउँका कारण बाटो बन्द हुँदा स्थानीयलाई सदरमुकाम सिमकोटबाट खाद्यान्न लैजान पनि समस्या छ । न्यालुमा गत पुसमा जमेको हिउँ नबिलाउँदा अझै लिमी–सिमकोट आउजाउ गर्ने बाटो नखुलेको हो ।

स्थानीय उत्पादन न्यून हुने भएकाले लिमीमा खाद्यान्न अभाव देखिएको स्थानीय मिगिर तामाङले बताए । ‘पोहोरसम्म चीनबाटै ल्याएको खाद्यान्नले जीविकोपार्जन गर्दै आएका थियौं,’ उनले भने, ‘नाका बन्द भएपछि उताबाट ल्याउन सकेका छैनौं, न्यालु लेकका कारण सदरमुकामबाट चामल ल्याउन पनि समस्या छ ।’

लिमीमा खाद्यान्न अभाव भएपछि वडाध्यक्ष पाल्जोर तामाङसहितको टोली सदरमुकाम आइपुगेको छ । जिल्लाका विभिन्न निकायमा खाद्यान्न माग गर्दै ध्यानाकर्षण गराइए पनि बेवास्ता भएपछि सुर्खेत जाने तयारी गरेको उनले जानकारी दिए । गत वर्ष लिमीका बासिन्दाका लागि १ हजार क्विन्टल चामल माग गरिएको थियो । गत पुसमा खाद्य व्यवस्था व्यापार तथा कम्पनी लिमिटेडले ९ सय ५३ क्विन्टल चामल लिमी पठाए पनि सकिएपछि खाद्यान्न अभाव भएको उनको भनाइ छ ।

कम्पनीको केन्द्रीय कार्यालयले हुम्लाका लागि ७ हजार क्विन्टल खाद्यान्न पठाउने निर्णय गरेको छ । जिल्ला खाद्य व्यवस्था समितिले १४ हजार क्विन्टल खाद्यान्न माग गरे पनि यो वर्ष ७ हजार क्विन्टलको कोटा मात्र स्वीकृत भएको कम्पनीका नायब सुब्बा भरत अधिकारीले बताए । उनका अनुसार स्वीकृत भएको चामल सुर्खेतबाट हवाई मार्ग हुँदै ढुवानी हुनेछ । अहिले शाखाको गोदाममा १ हजार ५ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ३, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?