आठ ठाउँबाट अनलाइन नक्सा

नुमा थाम्सुहाङ

काठमाडौँ — नापी विभागले केही दिनभित्रै काठमाडौं उपत्यकाका आठ स्थानबाट अनलाइन नक्सा वितरण प्रणाली सेवा सञ्चालनमा ल्याउने भएको छ । त्यसमध्ये बिहीबार तीन स्थानबाट यस्तो सेवा सुरु गरिसकेको छ । उपत्यकाका डिल्ली बजार, भक्तपुर र कलंकीस्थित नापी कार्यालयमा यो सेवा सञ्चालनमा आइसकेको हो ।

आठ ठाउँबाट अनलाइन नक्सा

चाबहिल, ललितपुर, मनमैंजु, टोखा र साँखुबाट पनि केही दिनमै सेवा सुरु गरिने विभागले जानकारी दिएको छ । यसैअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिजिटल सफ्टवेयरको स्विच थिचेर ‘मेरो कित्ता’ र नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम (नेलिस) अनलाइन प्रणाली सुरु गरे । विभागले सुरु गरेको ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट लिने पहिलो सेवाग्राही थानकोट महादेवस्थानकी दमन्ता ढुंगाना बनेकी छिन् । उनले थानकोटमा आफ्नो नाममा रहेको जग्गाको नक्सा प्रिन्ट लिएकी हुन् ।

कलंकीस्थित कार्यालयमा नक्साका लागि उनले अनलाइन आवेदन भरेकी थिइन् । विभागले यी दुई अनलाइन प्रणालीको सुरुवात गरेसँगै मुलुक डिजिटल नेपालको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीले बताए । ‘विभागले सुरु गरेको यस प्रणालीका तीन उद्देश्य छन्,’ उनले भने, ‘कम उपस्थिति, कागजको कम प्रयोग र पैसाको कम प्रयोग छ । एक सूत्रमा भन्नुपर्दा डिजिटल नेपालको एक अवधारणामध्ये यो पनि हो ।’ जमिनको उन्नत र वैज्ञानिक ढंगले प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । साथै सरकारी कार्यालयबाट हुने कामको ढिलासुस्ती हटाउन पनि उनले निर्देशन दिए ।

मुलुक नयाँ युगमा प्रवेश गर्ने क्रममा यो एउटा सिँढी रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेले बताइन् । यो प्रणालीले सेवाग्राहीले कार्यालयमा घन्टौं लाइन बस्नुपर्ने जस्ता समस्याबाट पार पाउने उनको भनाइ छ । सेवा प्रदान गरिरहेका मालपोत र नापी कार्यालयमा कम्प्युटरले राम्रो काम गरेन, बत्ती छैन र नेट चलेन जस्ता समस्याबाट सेवाग्राहीले मुक्ति पाउने उनले बताइन् । यस्ता समस्याको समाधान छिटोछरितो रूपमा गरी सेवाग्राहीलाई सहज सुविधा दिन कार्यालयका कर्मचारीलाई उनले निर्देशन दिइन् ।

नयाँ पुस्ता र बसाइँ सर्ने जनसंख्याका लागि यो सेवा विकास गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए । ‘अहिलेको जनसंख्या भनेको आफ्नै जन्मस्थानमा कम हुन्छन् । बसाइँ सर्ने जनसंख्या धेरै हुन्छन्,’ उनले भने, ‘उनीहरूका लागि जहाँ छ, त्यहीँको कार्यालयबाट सेवा लिन सक्ने गरी अनलाइन प्रणालीमा रूपान्तरण गरेका हौं ।’ जग्गा प्रशासनका सेवाग्राही भनेका आफैं भएकाले पदमा हुँदा वा भोलि नहुँदा जस लिने गरी प्रणाली विकास गर्न नसके पछुताउनुपर्ने हुन्छ । आफ्नै र आउने पुस्ताका लागि यस्ता प्रणाली विकास गरेको उनको भनाइ छ ।

विभागले सुरु गरेको नेलिस र मेरो कित्ता अनलाइन सेवा प्रणाली हुन् । नापनक्सा कार्यबाट संकलित विवरणको प्रयोगद्वारा जग्गा दर्ता तथा नक्सा अद्यावधिक गरी सेवा प्रवाह गर्ने प्रणाली हो, नेलिस । मेरो कित्ता भने अनलाइनमार्फत नक्सा, फिल्डबुक र प्लट रजिस्टर प्रिन्टसम्बन्धी सेवा गर्ने प्रणाली हो ।


प्रकाशित : वैशाख ३, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?