३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बंगुरमा फैलियो आर्टरिभाइरिड भाइरस, तीन सातामा दुई करोडको क्षति भएको दाबी

सुनसरी — धरानका प्राय: बंगुर फार्ममा पालिएका बंगुरमा श्वासप्रश्वास र प्रजननसम्बन्धी रोग फैलिएपछि तीन सातामा करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुगेको किसानले बताएका छन् ।

बंगुरमा फैलियो आर्टरिभाइरिड भाइरस, तीन सातामा दुई करोडको क्षति भएको दाबी

पशु रोगसम्बन्धी चिकित्सकका अनुसार राइबोन्युक्लिक एसिड (आरएनए) समूहको ‘आर्टरी’ भाइरसले फार्ममा पालिएका बंगुरमा प्रजनन क्षमता कमजोर बनाउने र उच्च ज्वरो अनि निमोनिया हुने समस्या देखिएको उनीहरूको भनाइ छ ।

धरानका दुई दर्जन बंगुर फार्ममा पीआरआरएस भाइरस फैलिएको देखिएको छ । उक्त भाइरसबाट फार्मका बंगुर मरेका मर्‍यै छन् । स्थिति नियन्त्रणमा आउन अझै केही साता लाग्न सक्ने बताइएको छ । सुरुमा धरान–५ खैरनीस्थित देवान कृषि फार्ममा पालिएका बंगुरमा भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि देउराली कृषि फार्म, मातृभूमि कृषि फार्म, संगीता कृषि फार्म, पानबारी कृषि फार्म, दुर्गा कृषि फार्म, आरुबोटे कृषि फार्म, डीआरएस कृषि फार्मलगायतमा भाइरस फैलिएको हो ।

तीन सातामा आरुबोटे कृषि फार्ममा मात्र करिब १५ लाख रुपैयाँ बराबरका बंगुर मरेको सञ्चालक सदस्य महेश लिम्बू (मेन्याङ्बो) ले बताए । उनका अनुसार एक सातामा ११ माउले जन्माएका १ सय ३० भन्दा बढी पाठापाठी मरे । सात माउले १ सय २० भन्दा बढी तुहिएका बच्चा जन्माए भने दुईवटा माउ मरे । ‘उन्नत जातको बंगुरका पाठापाठी प्रतिगोटा सात हजारदेखि ८ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ,’ उनले भने, ‘बिरामी बंगुर बचाउन सकिन्छ कि भनेर डेढ लाख रुपैयाँभन्दा बढीको औषधोपचार गर्‍यौं तर केही चलेन ।’

देवान कृषि फार्मका नेत्र देवानले गत चैत १९ मा देखिएको उक्त भाइरसको संक्रमणका कारण १८ लाख रुपैयाँ क्षति भएको बताए । सँुगुर जातिका बंगुरमा फैलिएको उक्त रोगलाई श्वासप्रश्वास तथा प्रजनन रोग अर्थात् पोर्साइन रिप्रडक्टिभ एन्ड रेस्पिरेटरी सिन्ड्रोम भन्ने गरिएको धरान उपमहानगरका पशु चिकित्सक डा. बिर्खराज राईले जानकारी दिए । ‘यो रोग बंगुरदेखि बंगुरमा मात्र सर्छ । मान्छेमा नसर्ने भएकाले आत्तिइहाल्नुपर्ने स्थिति भने छैन । लाखौं रुपैयाँ लगानी गरेर व्यावसायिक बंगुरपालन गरेका किसानले भने ठूलो क्षति बेहोर्नुपर्‍यो,’ उनले भने ।

तीन सातायता धरानमा पीआरआरएस भाइरस फैलिएको धरान उपमहानगरका पशु सेवा शाखाका पशुविकास अधिकृत महेन्द्रकुमार पैकारले जानकारी दिए । करिब तीन महिनाअघि सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रका बंगुर फार्ममा पनि पीआरआरएस भाइरस फैलिएको थियो । तर ख्याल नगर्दा धरान र इटहरीमा पनि विस्तार भएको धरान उपमहानगरका पशु सेवा शाखाका पशुविकास अधिकृत महेन्द्रकुमार पैकार बताउँछन् ।

प्रकाशित : वैशाख २, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?