कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहिलो टिपाइमा चिया उत्पादन न्यून

इलाम — हिउँदमा त्यति वर्षा नभएका कारण यो पटक इलाममा चिया टिपाइ ढिलो मात्र सुरु भएको छ । अघिल्ला वर्षमा चैत पहिलो सातादेखि नै चिया टिपाइ सुरु हुने गरेको थियो । यस वर्ष भने तेस्रो साता पुग्यो । खडेरीकै कारण सुरुवाती उत्पादन आधा घटेको छ । कारखानामा न्यून मात्रामा चियापत्ती आउने गरेको व्यवसायीले बताए ।

पहिलो टिपाइमा चिया उत्पादन न्यून

पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउन फस्ट फ्लस चिया उत्तम मानिन्छ । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ । चिया टिपाइ सुरु भएपछि जिल्लाका चिया कारखानाले प्रशोधनसमेत थालेका छन् । पहिलो टिपाइ जति छिटो बजारमा पुर्‍याउन सक्यो, त्यसपछिको उत्पादन पनि सजिलै बिक्री गर्न सकिने भएकाले कारखानाले थोरै हरियो पत्ती भए पनि प्रशोधन गर्ने गरेका छन् ।

यस वर्ष एक टिपाइ गरेपछि बगानमा मुना पलाउनै छाडेको कन्यामका महेश अर्यालले जानकारी दिए । ‘यसअघि सुरुको टिपाइमा जुन किसमको उत्पादन हुन्थ्यो, यो पटक त्यस्तो देखिएको छैन,’ उनले भने, ‘मुना पलाउन थालेपछि नै बाँझी बस्न थालेको हो ।’ इलामसहित पूर्वी पहाडी जिल्लामा वार्षिक ५५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ ।

इलाममा मात्र २४ वटा ठूला र १ सयभन्दा बढी साना एवं मझौला चिया कारखाना छन् । यहाँका करिब १५ हजार किसान चियामा आश्रित छन् । चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया टिपाइ सुरु भएको छ ।अघिल्लो वर्ष कोभिड–१९ कारण थलिएको चिया क्षेत्रमा यो पटक सुधार हुने अपेक्षा छ । तर पुनः कोरोनाको प्रभाव बढ्दै गएपछि अघिल्लो वर्षकै जस्तो समस्या हुने हो कि भन्ने चिन्ता किसानमा छ । अर्गानिक चिया कारखानाले गुणस्तर हेरी केही उच्च मूल्य तोकेका छन् । अन्य ननअर्गानिक कारखानाले पनि ग्रेड एको ४५ र ग्रेड बीको ३५ रुपैयाँ मूल्य निर्धारण गरेका छन् । यो पटक कारखानाले सुरुमै मूल्य निर्धारण गरेका हुन् । यसअघि कारखानाले पहिलो टिपाइ सकेपछि मात्र मूल्य निर्धारण गर्ने गरेका थिए ।

इलाममा उत्पादित चियाको मुख्य बजार भारतको कोलकाता हो । त्यहाँको निर्वाचनले गर्दा व्यवसायीलाई तयारी चिया पठाउन पनि समस्या देखिएको छ । प्रायः कारखानामा अघिल्लो वर्षको चिया नै स्टक रहेकाले यो पटकको बजार कस्तो हुने हो, अन्योल देखिएको व्यवसायीको भनाइ छ ।

प्रकाशित : वैशाख २, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?