२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भीमफेदी–कुलेखानी सुरुङमार्ग : ६ परामर्शदाता छनोट

छानिएका नेपालीसहित कोरिया, टर्की, सिंगापुर र अस्ट्रेलियाका कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग
प्रताप विष्ट

हेटौंडा — प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंबीचको आवतजावतलाई सहज बनाउन वाग्मती सरकारले पोस्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी सुरुङमार्ग) निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरका ६ वटा परामर्शदाता कम्पनीको छनोट गरेको छ ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग : ६ परामर्शदाता छनोट

सुरुङमार्ग निर्माणका लागि भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण आयोजनाले भदौ २ मा परामर्शदाता छनोट गर्न आशयपत्र माग गरेको थियो । १२ अन्तर्राष्ट्रियस्तरका कम्पनीले आशयपत्र दर्ता गराएका थिए । जसमध्ये नेपालको फुलब्राइट कम्पनीसहित, कोरिया, टर्की, सिंगापुर र अस्ट्रेलियाका कम्पनी छनोटमा परेका छन् । ‘यी कम्पनीहरूसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरेका छौं,’ आयोजना प्रमुख नवीनकुमार सिंहले भने, ‘यसका लागि आगामी जेठ २ सम्मको समयसीमा दिएका छौं ।’

उनका अनुसार अहिले सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भइरहेको छ । एनईए इन्जिनियरिङ कम्पनीले सुरुङको डीपीआर पुनरावलोकनसमेत गरिरहेको छ । ईआईए र डीपीआर पुनरावलोकन रिपोर्ट वैशाख अन्तिम सातासम्म आइसक्नेछ । आगामी भदौसम्ममा सुरुङ निर्माणका लागि टेन्डर आह्वान गर्ने दाबी आयोजनाको छ ।

प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको यो सुरुङमार्ग निर्माणमा सहकार्य गर्न संघीय सरकारले ६ महिनाअघि नै कार्यदल गठन गरेको थियो । संघीय सरकारले सह–लगानी गर्न प्राविधिक, आर्थिक र कानुनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त कार्यदल गठन गरेको हो । कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनी सहसचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशका सचिव, नेपाली सेनाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको पूर्वाधार विज्ञ सदस्य छन् ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न भनिए पनि हालसम्म भएको छैन । जसका कारण सुरुङमार्ग निर्माणको अन्य प्रक्रियाले समेत गति लिन सकेको छैन । ‘संघीय सरकारबाट कार्यदल गठन गरेर अड्काउने काम भएको छ,’ आयोजनाका एक वरिष्ठ इन्जिनियरले भने, ‘पूर्वाधार कम्पनीको दबाब सरकारमाथि परेको छ ।’ यो आयोजना निर्माणको जिम्मेवारी पूर्वाधार कम्पनीले पाएको थियो । तर रकमको अभावले उसले अहिलेसम्म काम सुरु गर्न सकेको छैन ।

१९ अर्ब ३२ करोड ५ लाख ७६ हजार लागतमा निर्माण हुन लागेको यो आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको डिनाइनअनुसार भीमफेदी–६ बगर र इन्द्रसरोवर–२ कुलेखानीको ड्याममुनि ७.५ मिटर व्यास भएका दुईवटा सुरुङ निर्माण हुनेछन् । जसले साँघुरो, घुमाउरो र जोखिमयुक्त १६ किलोमिटर सडकलाई ३ किमिमा छोट्याइदिनेछ ।

आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका दुईवटा सुरुङ एकआपसमा ४० मिटरको फरकमा समानान्तर रूपमा निर्माण गरिने आयोजना प्रमुख सिंहले बताए । उनका अनुसार सुरुङका दुवैतिर गरी साढे २ किमि लामो एप्रोच सडक, ७५ मिटर र ३५ मिटर लम्बाइ भएका दुईवटा पुल निर्माण हुनेछन् । आयोजना पूरा भएसँगै हेटौंडाबाट राजधानी प्रवेश गर्ने यो वैकल्पिक मार्ग ६८ किलोमिटरमा झर्नेछ  ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि यो आयोजनालाई बर्सेनि नीति तथा कार्यक्रममा राख्दै आएको छ । बहुवर्षीय योजनाका रूपमा रहेको आयोजनालाई चालु आव २०७७/७८ मा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ  । संघीय सरकारले पनि आर्थिक साझेदारी गर्ने चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेको छ । सुरुङमार्गसँगै सिस्नेरीतर्फको मोटरबाटोलाई फराकिलो र स्तरोन्नति गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भैंसेदेखि भीमफेदीसम्मको मोटरबाटो दुई लेनको बनाउने कार्य सुरु भइसकेको छ ।

प्रकाशित : वैशाख २, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?