कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक वर्षमा ५० चार्जिङ स्टेसन

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले एक वर्षभित्र देशभरका विभिन्न ५० स्थानमा चार्जिङ स्टेसन निर्माणको लागि ठेक्का सम्झौता गरेको छ । प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र चिनियाँ कम्पनी वाङवाङ डिजिटल इनर्जी कर्पोरेसनबीच मंगलबार ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।

एक वर्षमा ५० चार्जिङ स्टेसन

करिब ३७ करोड ८० लाख रुपैयाँको परियोजनाअन्तर्गत ठेकेदार कम्पनीले चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चार र मर्मतसम्भारको जिम्मेवारी पाएको छ । चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ । सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने गरी सम्झौता भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि २०० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान हुनेछ ।

छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन् । एउटा चार्जिङ स्टेसनमा ठूला बससहित तीन वटा सवारी एक साथ चार्ज गर्न सकिनेछ । जसअनुसार ५० वटा स्टेसनमा तत्काललाई १५० वटा चार्जर उपलब्ध हुनेछन् । तर भविष्यमा चार्जरको संख्या दोब्बर (तीन सय) पुर्‍याउन सकिने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने भएको छ । सबै स्टेसनको नियन्त्रण (कन्ट्रोल) काठमाडौंबाटै हुने प्राधिकरणले जनाएको छ । सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौं उपत्यकामा सात वटा चार्जिङ स्टेसन राखिने प्राधिकरणले जनाएको छ । यस्तै प्रदेश १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् । प्रदेश २ अन्तर्गत पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, धनुषाको ढल्केवर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात वटा चार्जिङ स्टेसन स्थापना गरिनेछ ।

वाग्मती प्रदेशमा धादिङको मलेखु, सिन्धुलीको बीपी राजमार्ग, मकवानपुरको हेटौंडामा दुई/दुई वटा चार्जिङ स्टेसन रहनेछन् । मुग्लिङ र कुरिनटारमा चारसहित चितवनमा ६ वटा र काभ्रेको बनेपामा एउटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशमा पूर्वी नवलपरासी, तनहुँको दमौली र स्याङ्जामा एक–एक र कास्कीको पोखरामा तीन वटा गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।

लुम्बिनी प्रदेशमा आठ वटा चार्जिङ स्टेसन स्थापना हुने प्रधिकरणले जनाएको छ । जसअनुसार बाँकेको नेपालगन्जमा एक, रूपन्देहीको बुटवलमा तीन, दाङमा दुई, पश्चिम नवलपरासीको बर्दघाट र सुनवलमा दुई गरी आठ वटा चार्जिङ स्टेसन रहनेछन् ।कर्णाली प्रदेशमा सुर्खेतमा मात्रै र सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा चार्जिङ स्टेसन बन्नेछन् ।

प्राधिकरणले यसअघि नै चार्जिङ स्टेसन सञ्चालन कार्यविधि तयार पारिसकेको छ । उक्त कार्यविधिमा चार्जिङ स्टेसनको गुणस्तर र शुल्क निर्धारण गरिएको छ । कार्यविधिअनुसार प्राधिकरणबाहेक अन्य व्यक्ति वा संस्थाले पनि विद्युतीय चार्जिङ स्टेसन सञ्चालन गर्न पाउनेछन् । चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले २०७६ माघमा टेन्डर प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित : वैशाख २, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?