१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘लकडाउन होइन, स्वास्थ्य मापदण्डमा कडाइ गरियोस्’

व्यवसाय पुरानै लयमा फर्किंदै गरेकामा फेरि संक्रमण बढ्दा लकडाउन हुने त्रासले व्यवसायी चिन्तित

नुमा थाम्सुहाङ — १० लाख रुपैयाँ लगानीमा पाटन मंगलबजारमा उनले ज्वेलरी सञ्चालन गरेको एक महिना पुग्यो । जसका लागि व्यवसाय सञ्चालन गर्न भन्दै जम्मा गरेको ३ लाख र बैंकमार्फत ७ लाख रुपैयाँ ऋण लिएकी थिइन् । तर व्यवसाय ‘बामे नसर्दै’ लकडाउन हुने हल्लाले काठमाडौंकी तिमिला वज्रचार्य चिन्तित छिन् ।

‘लकडाउन होइन, स्वास्थ्य मापदण्डमा कडाइ गरियोस्’

तिमिला यसअघि घरमै ऊनीको कपडा बुनाइको काम गर्थिन् । ‘हातले बुनाइको धेरै काम गर्न नसक्ने भएँ,’ उनले भनिन्, ‘कोरोनाको जोखिम पनि केही कम भएकाले ज्वेलरीमा लगानी गरें, तर पहिलाजस्तै लकडाउन भयो भने लगानी डुब्ने चिन्ताले सताएको छ ।’

लडकाउन खुलेसँगै नयाँ व्यापार, व्यवसायमा लगानी गर्ने तिमिलाजस्ता धेरै जना कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि चिन्तित छन् । मंगलबजारमा १५ वर्षदेखि जुत्ति हाउस सञ्चालन गर्दै आएकी उर्मिला कपालीलाई पनि फेरि लकडाउन नभइदिए हुन्थ्यो भन्ने लागेको छ । ‘कोरोना संक्रमण घटेपछि नयाँ ठाउँमा ७ लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेको महिना दिन मात्रै भयो,’ उनले भनिन् । अहिले सबैभन्दा बढी तनाव साना व्यवसायीलाई छ ।

‘हामीले पहिल्यै धेरै घाटा बेहोरिसकेका छौं,’ न्युरोडमा दुई वर्षदेखि एआर शृंगार कलेक्सन सञ्चालन गर्दै आएकी रमा रेग्मीले भनिन्, ‘बल्लबल्ल काम गरेर खाने वातावरण बन्दै थियो, फेरि लकडाउन गरेर भोकभोकै बस्नुपर्ने अवस्था नआओस् ।’ करिब चार महिना लामो लकडाउन झेलेका व्यापारीहरू फेरि लकडाउनको पक्षमा छैनन् । सरकारले २०७६ चैत ११ देखि गत साउन ७ सम्म लकडाउन गरेको थियो । जसले गर्दा व्यापार, व्यवसाय ठप्प बन्न पुग्यो । मुलुकको अर्थतन्त्र तहसनहस बन्यो । लकडाउन खुलेपछि तग्रिँदै गरेको यो क्षेत्र फेरि ठप्प हुने त्रासले व्यवसायी निराश छन् ।

लकडाउनपछि व्यवसायी रविकृष्ण श्रेष्ठले साउन अन्तिम साताबाट बन्द पसल खोलेका थिए । ५० वर्षदेखि मखनमा सारीको सोरुम सञ्चालन गर्दै आएका उनले यस पटक पसल खुले पनि व्यापार घटेको गुनासो गरे । ‘लकडाउनअघि दिनको २५ हजार रुपैयाँसम्म व्यापार हुन्थ्यो । अहिले १०–१२ हजार रुपैयाँसम्म मात्र व्यापार हुन्छ,’ उनले सुनाए ।

अर्का व्यवसायी सन्दीप गुरुङले पनि अहिले दिनमा १५ हजार रुपैयाँसम्म मात्र व्यापार भइरहेको बताए । १२ वर्षदेखि मखनमै शृंगार पसल सञ्चालन गर्दै आएका उनको कोरोना महामारीअघि व्यापार राम्रो थियो । ‘असन, इन्द्रचोक, मखन, न्युरोड सर्वसाधारणको सधैं भीड हुने ठाउँ हुन्,’ उनले भने, ‘तर सामान किन्न आउने ग्राहक भने कमै हुन्छन् । भीड धेरै भए पनि बजार सुस्त छ ।’ बिस्तारै बजार लयमा फर्कंदै गएकाले फेरि लकडाउन गरेर गरिखाने वर्गलाई रोक्न नहुने उनको सुझाव छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले फेरि लकडाउन गर्ने हो कि भन्ने त्रास आमसर्वसाधारणमा समेत छ । तर अधिकांशको सुझाव स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउन गर्न नहुने भन्ने छ । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार सकेसम्म लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । सरकारले लकडाउन गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म लकडाउनको पक्षमा आफूहरू नरहेको बताए । कतिपय राष्ट्रहरूले कोरोना महामारी बढी फैलिएको हुनाले लकडाउन गर्न बाध्य भएको जनाउँदै ओलीले जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको विश्वास दिलाए ।

उद्योगी, व्यवसायी पनि लकडाउनको पक्षमा छैनन् । उनीहरूले लकडाउन समस्याको समाधान नभएको बताए । कुनै पनि हालतमा लकडाउन गर्न नहुने र फेरि लकडाउन गरिए मुलुकको अर्थतन्त्र तहसनहस हुनेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड पालना गर्दै अघि बढ्नुपर्ने तर लकडाउन गर्नु नहुने बताउँछन् । ‘सरकारले कोरोनाविरुद्धको थप भ्याक्सिन ल्याउने काम चाँडो गरोस्, स्वास्थ्य सावधानी अनिवार्य रूपमा सबैले अपनाऔं,’ उनले भने, ‘तर लकडाउन कुनै समस्याको समाधान होइन ।’

उनका अनुसार यसअघि गरिएको लकडाउनमा झन्डै ९० प्रतिशतभन्दा बढी उद्योगधन्दा बन्द भएका थिए । लाखौं व्यक्ति बेरोजगार बनेका थिए । ‘साना र मझौला उद्योगी, व्यवसायीलाई त धेरै गाह्रो भएको थियो,’ उनले भने, ‘त्यो स्थितिबाट हामी तंग्रिएका छौं । होटल, पर्यटन, मनोरञ्जनबाहेकका अन्य क्षेत्रहरू त राम्रै तरिकाले माथि उठेका छन् ।’

फेरि लकडाउनको अवधारणा ल्याए आर्थिक गतिविधिमा एकदमै समस्या पर्ने उनको भनाइ छ । विभिन्न आर्थिक गतिविधिसँग संलग्न अन्य संघसंस्थाका प्रतिनिधिहरूको समेत लकडाउन गर्न नहुने भनाइ छ । नेपाल उद्योग परिसंघ (सीएनआई) अध्यक्ष सतिश मोर लकडाउन नगरी स्वास्थ्य मापदण्ड पालना गर्ने कुरामा सरकारले कडाइ गर्नुपर्ने सुझाव दिन्छन् । ‘अब फेरि पनि लकडाउन गरिए आर्थिक क्षेत्र तहसनहस हुने निश्चित छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्ने कुरामा कडाइ गरौं, पालना नगर्नेलाई बरु कारबाही र जरिवाना गरौं । तर लकडाउन गर्ने पक्षमा सरकार जानु भएन ।’ यसअघिको लकडाउनले धेरै पाठ सिकाएको भन्दै उनले सीमानाकामा कडाइ गर्नुपर्ने सुझाए ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलाल लकडाउनको विकल्प खोज्नुपर्ने बताउँछन् । ‘लकडाउन समस्याको समाधान होइन, यसको हामीले पहिला पनि विरोध गरेका थियौं, अहिले पनि विरोध गर्छौं,’ उनले भने, ‘सबैभन्दा राम्रो उपाय स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिनुपर्छ ।’ कोरोनाविरुद्धको खोप ल्याएर सबैलाई लगाउने वातावरण बनाउनेतर्फ सरकार लाग्नुपर्ने उनको भनाइ छ । ‘यसअघिको लकडाउनले व्यवसायलाई मात्र होइन, सर्वसाधारणको मनस्थितिमा समेत असर गर्‍यो, सबैलाई मानसिक रोगीजस्तै बनायो,’ उनले भने, ‘तर काम गर्ने वातावरण बन्यो भने त्यस्तो मनस्थितिमा परिवर्तन आउने थियो ।’

नयाँ उद्योग खोल्न मात्रै होइन, माग गरिएका सामग्रीसमेत आउन नसकेको बताउँदै उनले भने, ‘अहिले अटोमोबाइल्स क्षेत्र बिस्तारै सुधार हुँदै गएको छ, तर फेरि लकडाउन भए पहिलेकै अवस्थामा नआउला भन्न सकिन्न ।’ उनले सरकारले लकडाउन गर्ने मनस्थिति नै बनाउन नहुनेतर्फ सचेत गराए । ‘कोभिडपछि अर्को यस्तै रोग देखा पर्ला, फेरि लकडाउनका कुरा उठ्लान्, त्यसैले स्वास्थ्य सावधानी अपनाएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ८ खर्ब बराबरका देशभर साढे ६ हजार आयोजना चालु छन् । जसमा १५ लाखभन्दा बढी व्यक्ति रोजगार छन् । लकडाउन भए यी सबैजसो बेरोजगार बन्नेछन् । कोरोना महामारीअघि २० लाखसम्म रोजगारीमा थिए । लकडाउनपछि यो संख्या घट्यो । भारतबाट आउने कामदारको संख्यासमेत न्यून छ । ‘महामारीपछि अधिकांश आयोजना ठप्प हुँदा काम नपाइने समस्या भयो,’ निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले भने, ‘फेरि लकडाउन गरिए निर्माण व्यवसाय पनि ठप्प हुने निश्चित छ ।’ स्वास्थ्य मापदण्ड बनाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले लकडाउन गरेर बल्लतल्ल सुरु भएका विभिन्न आयोजनाको काम रोक्न नहुने बताए ।

स्वास्थ्य मापदण्ड अपनाउँदा थपिने लागत सरकारले नै बेहोर्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ । ‘अब कोरोना सँगसँगै कसरी बाँच्ने भन्ने कुरालाई लिएर स्वास्थ्य मापदण्ड बनाउनुपर्छ,’ उनले भने, ‘किनकि अब कोरोनाको जोखिमसँगै बाँच्नुपर्ने भइसकेको छ, कोरोना छ भनेर दुई/तीन वर्षसम्म काम नगरी बस्न सक्ने अवस्था छैन ।’

प्रकाशित : वैशाख २, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?