१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लगन नजिकिँदै गर्दा बढ्यो सुनको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दिनको ४०/४५ किलो सुनको माग
नुमा थाम्सुहाङ

काठमाडौँ — सुस्ताएको सुन बजारमा बिहेका लगन नजिकिएसँगै फेरि चहलपहल सुरु भएको छ । कोभिडको जोखिम कायमै रहे पनि सुन पसलमा यति बेला ग्राहकको भीड लाग्ने गरेको छ । वैशाखमा बिहेका लगन भएकाले अलिहेबाटै सुनको जोहो गर्न ग्राहक सक्रिय रहेको व्यवसायी बताउँछन् ।

लगन नजिकिँदै गर्दा बढ्यो सुनको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको माग दैनिक ४०/४५ किलो छ । ‘एक वर्षको कोभिड–१९ पछि गएको माघदेखि सुनको माग बढेको हो,’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘सरकारले सुन आयात गर्ने परिमाणलाई १० किलोदेखि बढाएर २० किलो बनाएको छ । यसले गर्दा पसलमा सुनका गहना अर्डर गर्ने र रेडिमेड गहना किन्ने धेरै देखिएका छन् ।’ माग बढ्नु व्यवसायीको लागि खुसीको विषय भएको उनले सुनाए ।

‘सरकारले ल्याएको निर्णयले बजारमा पक्कै सहज परिस्थिति आउँछ,’ बज्राचार्यले भने, ‘१० किलो मात्र आयात भइरहँदा देशभरको सुन बजारमै अपुग भइरहेको थियो ।’ सिजनको समयमा बजारमा ३० देखि ४० किलोसम्मको सुन चाहिन्छ । अफ सिजनमा भने १० देखि २० किलो सुन आवश्यक पर्ने उनको भनाइ छ । अहिलेको मागअनुसार वैशाखमा समेत माग धान्न केही गाह्रो पर्न सक्ने उनी सुनाउँछन् ।

गत साउनमा छापावाल सुन १ लाख रुपैयाँभन्दा माथि पुगेको थियो । तर गत माघ र फागुनतिर घटेर ८० हजार रुपैयाँसम्ममा आयो । त्यो समयमा सुनको माग बढेको थियो । तर व्यवसायीले त्यस बेला पनि माग पूरा गर्न नसकेको बज्राचार्यको भनाइ छ । ‘त्यही १० किलो सुन आयात गर्ने प्रावधान वैशाखमा कायमै रहन्थ्यो भने हामी बजार बन्द गर्ने अवस्थामा पुग्न सक्थ्यौं,’ उनले सुनाए, ‘सरकारले समयमै गरेको निर्णयको स्वागत गर्नुपर्छ ।’

राष्ट्र बैंकले बैंकहरूलाई दिनमा २० किलोका दरले सुन आयात गर्न पाउने निर्देशन दिएसँगै बजार सहज हुने व्यवसायीको भनाइ छ । राष्ट्र बैंकले चैत २० मा उक्त निर्देशन दिएको हो । एक वर्षअघिसम्म बैंकले दिनको २० र लगनका समयमा २५ किलो सुन आयात गर्न पाउँथे । विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ मा सरकारले दैनिक २० किलोबाट सुन आयातको कोटा १० किलो बनाएको थियो ।

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पनि सुन आयात परिमाण बढाउने सरकारको निर्णयले आफूहरूलाई सहज भएको बताए । ‘पहिला भाउ बढेको थियो । अहिले माग बढेको छ,’ उनले भने, ‘लगन नजिकिँदै छ । भाउ पनि सस्तो नै छ । १ लाखभन्दा बढी पुगेको सुनको भाउ १०/१२ हजार रुपैयाँ घट्दा उपभोक्ताको आकर्षण बढ्न थालेको छ ।’ वैशाखको दोस्रो सातादेखि लगन भएकाले सर्वसाधारणले यसको जोहो गर्न थालेको शाक्यको भनाइ छ ।

कोभिड–१९ को महामारी र करिब तीन महिना लामो लकडाउनका कारण बजार सुस्त थियो । लगानी सुरक्षित गर्न लगानीकर्ताहरूले सुनमा लगानी गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको भाउ अस्वाभाविक रूपमा बढेको थियो । नेपाली बजारमा तोलाकै १ लाख रुपैयाँ नाघेको थियो । मूल्यमा भइरहेको उत्तारचढावका कारण कारोबार दसैंतिहारका बेला पनि सन्तोषजनक हुन सकेको थिएन । यसअघि नेपालमा सुनको मूल्य साउन २३ गते अहिलेसम्मकै उच्च छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ थियो ।

महासंघले २०७६ को चैत १० मा सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ तोकेको थियो । त्यति बेला सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेपछि मूल्य निर्धारण रोकियो । २०७७ जेठ २५ मा भाउ निर्धारण गर्दा एक्कासि बढेर तोलाको ८७ हजार ३ सय रुपैयाँ पुग्यो । २०७७ सालको अन्तिम चैत ३१ मा छापावाल सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : वैशाख १, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?